१४ मंसिर २०८१, शुक्रबार

देशको अवस्था बदल्न, व्यवस्था बदल्नुपर्छ

0
                     उमा सी ‘शिलु’
 
केन्द्रीय सत्तामा दख्खल दिनको लागि काठमाडौं उपत्यकामा प्रभावकारी भूमिका हुनुपर्छ । यहाँका युवाहरू र सबै श्रमिक तथा उत्पीडितहरूलाई गोलबन्द गर्ने नीति र कार्यक्रम आवश्यक छ । युवाहरूलाई क्रान्तिमा जोड्न सकिएन भने क्रान्ति सम्भव छैन । किनकि युवाहरू परिवर्तनका बाहक हुन् । युवा कमरेडहरूलाई सफलताको शुभकामना दिन चाहन्छु । एमसीसी पारित भएपछि एसपीपी पारित गर्न सरकारलाई अमेरिकाले दबाव दिएको चर्चा छ । अमेरिकाले नेपालका ७ वटा हिमाली जिल्लाहरूमा ब्यारेक राख्न अनुमति मागेको सूचना आएको छ । नयाँ दलालहरूलाई अघि सारेर साम्राज्यवाद नेपाल प्रवेश गरेको छ । आर्थिक, राजनीतिक, साँस्कृतिक सबै क्षेत्र कब्जा गर्दै आएको छ । इटाली कम्युनिस्ट पार्टीका महासचिव अन्टोनियो ग्राम्सीले “फासिवादले श्रमजीवी वर्ग राजनीतिक रूपमा निष्क्रिय हुन्जेल प्रतीक्षा गर्दछ र त्यसपछि एउटा त्रासदी झैं सबैतिर व्यापक हुन्छ” भनेका थिए । आज गणतन्त्र ल्याउने, संघीय शासन ल्याउने जनयुद्धको धारलाई अपराधीकरण गर्ने षड्यन्त्र भइरहेको छ । तर धेरैजसो नेताहरू बेखबर देखिन्छन् । उनीहरूले परिस्थितिको जटिलतालाई राम्रोसँग आत्मसात गर्न सकेका छैनन् । कम्बोडियाका देशभक्त राजा नरोद्धम सिंहानुकले भनेका थिए, “राजनीतिक, आर्थिक, साँस्कृतिक, सैन्य तथा गुप्तचर कारवाहीहरू यस्तो तरिकाले एक आपसमा जोडिएका थिए कि समान्यतः देशका नेताहरूले प्रत्यक्ष र खुल्ला झडपको विन्दुमा आइपुग्दासम्म पनि थाहै पाएनन् ।” आज सिंहानुकले भनेकै अवस्थामा नेपाल पुगेको छ । पुराना नेताहरूले थप भ्रम दिन नसक्ने अवस्था बनेको कारण नयाँ नेताहरूलाई अगाडि सारिएको छ । अवस्था बदल्ने नारा दिएर आएका छन् । तर व्यवस्था नबदलेसम्म अवस्था बदलिन्न । व्यवस्था नबदलिकन अवस्था बदल्ने कुरा अर्को झूठको खेती हो ।
देशमा व्यापक ध्रुविकरण भएको छ । एकातिर कट्टर दलाल र अर्कोतिर क्रान्तिकारी कम्युनिस्ट छ । साम्राज्यवादको प्रतिरोध गर्न समाजवादी मोर्चा आवश्यक छ । समाजवादी मोर्चाको विषयमा भ्रमहरू छन् । हामी स्पष्ट छौं– साझा दुश्मनको विरुद्ध सहकार्य जोसँग पनि हुनसक्छ । पार्टीको नवौं महाधिवेशनले साझा विषयमा जोसुकैसँग पनि सहकार्य गर्ने भन्ने निर्णय गरेको थियो ।
सबै क्रान्तिकारी शक्तिहरूबिचमा एकता गर्नुपर्छ । सबैलाई हाम्रो नेतृत्वमा ल्याएर मात्रै अमेरिकाको प्रतिरोध गर्न सकिन्छ हामी विभाजित भएर जित्न सकिन्न । क्रान्तिलाई केन्द्रमा राखेर एकता र ध्रुविकरण भएको छ । भ्रष्टाचार, उत्पीडन, चर्को ब्याज, सूदखोरी, पलायन, विसर्जन, आत्मसमर्पणको विरुद्ध हामी लडिरहेका छौं । यो आन्दोलनलाई सुदृढ गर्न जवसहरूलाई सुदृढ गर्नुपर्छ । जनता हाम्रो व्यवहार हेरेर आन्दोलनमा आउँछन् । नेपालमा पुँजीवाद (दलाल पुँजीवाद) र कम्युनिस्टको बिचमा प्रतिस्पर्धा छ । रूपमा संशोधनवादी कम्युनिस्ट र पुँजीवादबिच जस्तो देखिए पनि सारतत्वमा क्रान्तिकारी कम्युनिस्ट र दलाल पुँजीवादको बिचमा प्रतिस्पर्धा छ । यो प्रतिस्पर्धामा हामीले श्रेष्ठता सावित गर्नुपर्छ । सन् २००८मा आरसीपी, अमेरिकाले तत्कालीन नेकपा (माओवादी)लाई पठाएको चिठ्ठीमा “कुनै निश्चित अवस्थामा आफ्नो ढङ्गबाट एउटा सकारात्मक सामाजिक भूमिका निर्वाह गरेका शक्तिहरूलाई नै साम्राज्यवादले खोज्ने र अघिसार्ने गर्दछ” भनेको थियो । अमेरिकाले त्यसैप्रकारका दलाललाई अघि सारेर भ्रम पार्नेछ ।
बाहिर अमेरिका (अन्तर्राष्ट्रिय रूपमा) र देशभित्र गगन–रवि–सिके मण्डली प्रधान दुश्मन बनेर आएका छन् । प्रधान दश्मनमा परिवर्तन भएको छ । पुरानै चेतनाले क्रान्ति हुँदैन किनकि परिस्थित परिवर्तन भएको छ । हामी सबैखाले मोर्चामा लड्नुपर्छ । त्यसैकारणले पार्टीले समाजवादी मोर्चा बनाउन तयार भएको हो ।
चीनमा सन् १९२४मा गृहयुद्ध शुरु भयो । १९३१बाट त पूर्णस्तरको गृहयुद्ध भएको थियो । १९३७मा कम्युनिस्ट पार्टी र च्याङ काइ–शेकको बिचमा वार्ता र सम्झौता भयो । सो सम्झौतापश्चात् माओले आफूहरूलाई चार प्रकारका फाइदा भएको दावि गर्नुभएको थियो–
१) चिनियाँ कम्युनिस्ट पार्टीलाई मान्यता दिन कोमिङ्ताङ बाध्य भएको छ ।
२)चिनियाँ जनता र विश्वका जनताको चाहना सबै मिलेर लडून् भन्ने थियो । त्यो पूरा भएको छ ।
३) चीनलाई ‘शान्ति र जनवाद’ आवश्यक छ । त्यो पूरा भएको छ ।
४) चिनियाँ कम्युनिस्ट पार्टीलाई शान्ति विरोधी भनी लगाइएको आरोप खारेज गरिएको छ ।
रूसमा राष्ट्रघाती आरोप खेपेर पनि लेनिनले सम्झौता गर्नुभयो र फ्रान्ससँग जर्मनीको विरुद्ध संयुक्त मोर्चा कायम गर्नुभयो । हामीले अमेरिकी साम्राज्यवादको विरुद्ध सम्भव सबैसँग मोर्चाबन्दी गर्न आवश्यक छ । समाजवादी मोर्चाले छरिएको वामपन्थी आन्दोलनमा प्रश्नसहित सकारात्मक सन्देश प्रवाह गरेको छ ।
(२०८० असार १० गते ललितपुर जिल्ला प्रशिक्षण र युवा भेलामा व्यक्त विचारको सम्पादित अंश, शिर्षक हामीले दिएका हौं । – सम्पादक)
स्राेत: जनपत्रिका चाैथाे अङ्क

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।