९ मंसिर २०८१, आईतवार

संयुक्त मोर्चा : आवश्यकता र स्वतन्त्रताको द्वन्द्ववाद

0

             सन्तोष सी

“राष्ट्रिय संयुक्त मोर्चालाई दृढताका साथ कायम राखेर मात्रै कठिनाइहरूमाथि विजय प्राप्त गर्न, शत्रुलाई पराजित गर्न र नौलो चीनको निर्माण गर्न सकिने छ । यस कुरामा रतिभर शङ्का छैन । यसको साथसाथै संयुक्त मोर्चामा सामेल भएका प्रत्येक पार्टी र समुहले आफ्नो विचारधारात्मक, राजनीतिक र सङ्गठनात्मक स्वतन्त्रतालाई जोगाइराख्नु पर्छ, यो कुरा क्वोमिन्ताङ, कम्युनिस्ट पार्टी, अरु पार्टी र समुहहरूको निम्ति समान रूपले लागू हुन्छ । विभिन्न पार्टीहरूको आपसी सम्बन्धमा, तीन जनसिद्धान्तहरूमा जनवादको सिद्धान्त सबै पार्टी र समुहहरूलाई संयुक्त हुनाको साथसाथै आ–आफ्नो स्वतन्त्र अस्तित्व कायम राख्ने अनुमति पनि दिन्छ ।”
(माओत्सेतुङका चुनिएका रचनाहरू भाग २, पृष्ठ १७६, ‘संयृक्तमोर्चा र पार्टी स्वतन्त्रता दुवैलाई कायम राख’ उपशीर्षकबाट)
हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीको नवौं केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले विभिन्न ऐतिहासिक निर्णयहरू गर्दैगर्दा राजनीतिक क्षेत्रमा एउटा निर्णय गरेको थियो, त्यो थियो– विचार मिल्नेसँग पार्टी एकताको पहल गर्ने र मुद्दा मिल्नेसँग संयुक्त मोर्चाको पहल गर्ने । हुनलाई संयुक्त मोर्चा नेपाली कम्युनिस्ट आन्दोलनमा नयाँ होइन । नेकपाको तेस्रो महाधिवेशनमा कमरेड पुष्पलालले तत्कालीन सन्दर्भमा राजा महेन्द्रले २०१५ सालको पहिलो संसदीय निर्वाचनमा दुई तिहाई बहुमत प्राप्त नेपाली काँग्रेसको सरकारलाई विघटन गरेर निर्दलीय पञ्चयती व्यवस्था स्थापना गरेपछि नेपालमा नयाँ जनवादी व्यवस्था स्थापना गर्न तत्काल नेपाली काँग्रेससँग संयुक्त मोर्चा बनाएर संयुक्त आन्दोलनद्वारा पञ्चायतको अन्त गर्नुपर्छ र नेपालमा सामन्तवादको अन्त्य गरेर नयाँ जनवादी क्रान्ति गर्नुपर्छ भनेर कार्यनीतिक नारा पेश गर्दा वहाँलाई गद्दार भनेर आलोचना गरिएको थियो । यसपछि संयुक्त मोर्चाबारे निकै अलमल र विवादास्पद बहसहरू अगाडि बढे । संयुक्त मोर्चाका विविध रूप र अवधारणाबारे सबैले आ–आफ्नै ढङ्गले प्रयोग र व्याख्या गरिंदै आयो । अहिले यसले केही मूर्त रूप लिंदै आएको भए पनि यस्तो विरासतबाट आएको नेपालमा संयुक्त मोर्चा बनाउने बारे निकै वादविवादका बिचबाट संयुक्त मोर्चा सम्बन्धी बहस अगाडि बढेको छ । तर प्रकारान्तरले संयुक्त मोर्चा नेपालको सन्दर्भमा आन्दोलनको एउटा कडी भने बन्दै आएको छ ।
हामीले इतिहासतिर फर्केर हे¥यौं भने नेपालमा सफल वा असफल आन्दोलन वा सशस्त्र विद्रोहहरू भएका छन् । तिनको रूप वा आधार एकल सङ्घर्ष छैन । संयुक्त आन्दोलन वा संयुक्त मोर्चाको पहलमा नै यी विद्रोहहरू एक कदम अगाडि बढ्न सफल भएका छन् । राणा विरोधी सशस्त्र विद्रोहदेखि माओवादी विद्रोह– जनयुद्धसम्मका परिवर्तनकारी विद्रोहहरू र २०३६ सालदेखि २०४६, २०६२÷६३ सम्मका संयुक्त जनआन्दोलनहरू एक खालका संयुक्त मोर्चाकै रूप थिए । यसको वस्तुगत धरातल नेपालको सामाजिक, साँस्कृतिक, जातीय, आर्थिक, राजनीतिक विविधता र भू–राजनीतिक स्थिति हो । यो सबैले बुझ्नै पर्ने विषय छ । जसले हामीलाई एक्लाएक्लै जाने अनुमति दिंदैनन् । नेपालको आन्दोलन होस् वा विकास र समृद्धि एकतामा, मोर्चामा र सहकार्यमा छ भन्ने कुरा यी ऐतिहासिक घटनाक्रम र हाम्रो सामाजिक राजनीतिक संरचना र उत्पादन सम्बन्धले दिंदै आएको छ । त्यसैले संयुक्त मोर्चा वा संयुक्त आन्दोलनको आधार वा मुख्य कडी नेपालको विविधतामा छ भन्ने कुरा आत्मसात ग¥यौं भने मात्र संयुक्त मोर्चाको वास्तविक अर्थ, यसको अन्तर्य, आवश्यकता र सारलाई बुझ्नेछौं । जसले यसलाई बुझ्न सक्दैन, ऊ नेपालमा राजनीति गर्न असफल हुन्छ ।
हामीले लडेको १० वर्षको जनयुद्ध स्वयं एउटा वैचारिक मोर्चा थियो भन्ने कुरा शान्ति प्रक्रियापछिका घटनाक्रमहरूले देखायो । कोही राजा फाल्ने हदसम्म र कोही लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने विन्दुसम्मको गन्तव्य तय गरेर आएका रहेछौं । कोही नयाँ जनवादी क्रान्तिसम्म र कोही समाजवादी क्रान्तिको लामो यात्रा तय गरेर राजतन्त्र फाल्ने विन्दुसम्म एउटा मोर्चामा आएका रहेछौं भन्ने कुरा अहिले आएर स्पष्ट भएको छ । अब यो विन्दुबाट अगाडि बढ्दा पनि फेरी एक कदम अगाडि बढ्ने मोर्चा आवश्यक भयो । अहिलेको स्थितिले यो माग गरेको छ । किनकि नेपालमा अर्को क्रान्ति जरुरी भयो । यदि हामीले क्रान्ति गर्नु छ भने यसमा व्यापक जनताको सहभागी जरुरी छ । क्रान्ति दुईचार जनाले वा एक्लाएक्लै गरेर संभव छैन, कम्तीमा परिवर्तन चाहने शक्तिहरू एक ठाउँमा आउनै पर्छ । यसको लागि तत्काल पार्टी एकता हुन नसक्ने वा नसकिराखेको अवस्थामा संयुक्त मोर्चा नै साझा दुश्मन विरुद्ध वा साझा गन्तव्यका लागि सहकार्यको सबैभन्दा उपयुक्त विकल्प हो । क्रान्ति एउटा समूहले गर्छ सहि हो तर जित्ने क्रान्ति र टिक्ने क्रान्ति गर्नु सबैभन्दा बुद्धिमता हो । यसमा सकेसम्म धेरैलाई सँगसँगै लिएर जानसक्नु क्रान्तिको सुनिश्चिततालाई नजिक ल्याउनु हो भन्ने हाम्रो ठहर छ । एकीकृत जनक्रान्ति भन्ने बित्तिकै आफै संयुक्त मोर्चाको ‘झझल्को’ दिन्छ । यसो भनिरहँदा यो बुझ्ने गल्ती गर्नु हुँदैन कि यो कार्यदिशा विनाविचार, सिद्धान्त र सुझबुझ ल्याइएको सारसँग्रहवादी कार्यदिशा हो । यसरी बुझ्नु गम्भीर विचलन हुनजान्छ । यो त नेपालको विविधतालाई ध्यानमा राखेर नेपाली क्रान्तिका समस्याहरूलाई हल गर्नेगरी ल्याइएको नयाँ सिद्धान्त हो । नेपाली क्रान्ति एकीकृत सिद्धान्तबाट मात्र संभव छ भनेर त्यतिकै भनिएको होइन । नेपालमा क्रान्ति गर्नु छ भने नेपालको विविधतालाई ध्यान दिनैपर्छ र त्यस अनुरूपको कार्यदिशा तय गर्नैपर्छ । नेपालको क्रान्ति विविधताहरूको एकतामा संभव छ । विविधताहरूको एकताको सैद्धान्तिक अवधारणा नै एकीकृत सिद्धान्त हो । एकीकृत सिद्धान्तको तत्कालीक कार्यनीतिक प्रश्न नै संयुक्त मोर्चा हो ।
संयुक्त मोर्चाका रणनीतिक रूप र कार्यनीतिक रूप दुई स्वरूप छन् । अलि परसम्म, निश्चित विन्दुसम्म जान सकिने मित्र शक्तिहरूको सहकार्य रणनीतिक संयुक्त मोर्चा हो । तर नितान्त तात्कालीक विषय वा मुद्दामा केन्द्रित रहेर गरिने सहकार्य वा कार्यगत एकता कार्यनीतिक संयुक्त मोर्चा हो । नेपाल आफै विविधता नै विविधताको देश भएकोले यहाँ यी दुई बाहेक पनि विभिन्न रूप र स्वरूपका मोर्चाहरू बन्न सक्छन् । यस्तो देशमा केवल कम्युनिस्टहरू वा क्रान्तिकारी, आन्दोलनकारीहरू मात्र मोर्चा बनाउँदैनन्, सत्ताधारीहरूले समेत मोर्चा बनाउन बाध्य छन् । उनीहरूको संयुक्त मोर्चाको रूप गठबन्धनमा हुन्छ । यो केवल नेपालमा मात्र नभएर विश्वभरिका देशहरूकै सन्दर्भमा पनि सत्य हो । अहिले गठबन्धन नगरिकन कसैले पनि सरकार बनाउन सक्ने औकात राख्दैनन् । गठबन्धन आफै एउटा मोर्चा हो । नेपालको दलाल पुँजीवादी राज्यसत्ताको स्वरूप पनि सामन्तवाद, नोकरशीही पुँजीवाद, दलाल पुँजीवाद र साम्राज्यवादको गठबन्धनमा बनेको छ । यी सबैको प्रतिनिधित्व निर्देशक तहमा साम्राज्यवाद रहे पनि यसको नेतृत्व दलाल पुँजीवादले गरिरहेको छ । त्यसैले दलाल पुँजीवादी राज्यसत्ता भनिएको हो । त्यसका विरुद्ध आन्दोलनकारी पक्षले पनि विनामोर्चा यो गठबन्धनका विरुद्ध लड्न संभव छैन । यो हो, संयुक्त मोर्चाको आधार र औचित्यको प्रसङ्ग ।
जहाँसम्म पार्टी एकता र संयुक्त मोर्चाको प्रश्न छ– पार्टी र मोर्चा एउटै होइनन् । यो सबैले राम्ररी बुझ्न आवश्यक छ । माथि पार्टी नीति र निर्णयको कुरा पनि गरियो । संयुक्त मोर्चा पार्टी एकता होइन । यहाँ धेरैले हामीले घोषणा गरेको समाजवादी मोर्चालाई पार्टी एकताको रूपमा अथ्र्याइरहेका छन् जुन सत्य होइन । यो पहिलो, बुझाइको गरिबी (दरिद्रता) हो । दोस्रो, खराव नियतको अभिव्यक्ति हो । तेस्रो, अबुझपना वा न्यूनज्ञान क्षमता भएका सामान्य जनताले उठाउने कुरा स्वभाविक छ । यसलाई अन्यथा मान्नु हुँदैन किनकि जनताले सिद्धान्त धेरै बुझेका हुँदैनन् । रणनीति र कार्यनीति, विज्ञान र कला के हो ? जनतालाई थाहा हुँदैन । जनताले सबै कुरा सिधासिधा मात्र बुझ्दछन् । मिलेको र फुटेको मात्र देख्छन्; कुन पार्टी, कुन मोर्चा छुट्याउन सक्दैनन् । त्यसैले जनताको कुरालाई स्वभाविक मान्नुपर्छ र स्पष्ट पार्नुपर्छ, बुझाउनु पर्छ । तर कतिपय सामान्य जनता बाहेकका कथित बुझक्डहरूको हकमा भने यसलाई बुझाइको दरिद्रता नै भन्नुपर्छ जो बुझेको जस्तो स्वाङ पारेर नबुझेको तर्क पेश गर्छन् । अर्कोथरि खराब नियतका मान्छेहरू जानी–जानी भ्रम सिर्जना गर्न यस्ता खालका भ्रामक तर्कहरू पेश गर्दछन् जो विल्कुल खराब नियतबाट आउने गर्दछ । कतिपय यस्ता तर्कहरू साम्राज्यवाद निर्देशित र नियोजित हुन्छन् । यस्ता भ्रमबाट सतर्क रहनु पर्दछ ।
पार्टी र मोर्चाको बारेमा बुझ्न आवश्यकता र स्वतन्त्रताको द्वन्द्ववादलाई राम्रोसँग बुझ्नु पर्दछ । यसलाई बुझ्न हामी स्वयं मानिस र समाजबिचको अन्तरसम्बन्धबारे बुझ्न आवश्यक छ । मानिस यो समाजको एउटा अभिन्न अंग हो । त्यसैले मानिसलाई सामाजिक प्राणी भनिएको हो । मानिस सामाजिक वा सामुहिक जीवनमा पनि बाँधिएको छ । यति हुँदाहुँदै पनि उसमा केही वैयक्तिक स्वतन्त्रता पनि छ । स्वतन्त्रता र आवश्यकता एउटै वस्तुका दुई पाटा हुन् । तत्कालको नितान्त निजी मामिलादेखि स्वतन्त्रताको दुनियाँसम्म जाने छुट पनि मानिसलाई छ । तर त्यहाँसम्म पुग्न उसलाई सामाजिक परिवेशले स्वच्छन्द हुन पनि दिंदैन । उसले सामाजिक वा सामुहिक जीवनमा बाँधिएर जानु पर्ने आवश्यकता पनि छ । स्वतन्त्रताको दुनियाँमा रमाउने छुट पनि छ । उसलाई तत्काल स्वतन्त्र जीवनमा रमाउने छुट पनि छ र सामाजिक जीवनसँग हेलिएर जाने आवश्यकता पनि छ । यसरी हेर्दा स्वतन्त्रता र आवश्यकता एक अर्काका पुरक र अभिन्न पनि छन् तर ती हेर्दा विपरित जस्तो देखिन्छन् । एउटा पनि होइनन् तर एउटै वस्तुका दुई अभिन्न अंग पनि हुन् । मान्छेमा, समाजमा, पार्टीमा, राजनीतिमा यी एकैचोटी लागू भइरहेको हुन्छ जसलाई सामान्य रूपले छुट्याउन मुश्किल पर्दछ । पार्टी र मोर्चा पनि ठीक यस्तै हुन् ।
जब हामी पार्टी र मोर्चालाई हेर्छौं– क्रान्तिका लागि एउटा क्रान्तिकारी पार्टी आफैमा स्वतन्त्र छ र सदैव स्वतन्त्र रहन्छ । यो स्वतन्त्रताको दर्शन हो तथापि क्रान्तिको सुनिश्चितताका निम्ति संयुक्त मोर्चा पार्टी र क्रान्तिको लागि तत्कालीक आवश्यकता बनेर आउँछ । यो आवश्यकताको दर्शन हो । यी दुई एक अर्कामा अन्तरनिर्भर वा एक आपसमा अनुबन्धित पनि हुन्छन् । यसैलाई आवश्यकता र स्वतन्त्रताको द्वन्द्ववाद भनिएको हो । यी एक अर्कामा अभिन्न पनि छन् तर यी एउटा–एउटै पनि होइनन् । यसो भन्नुुको अर्थ हो– पार्टी र मोर्चालाई एउटै बुझ्नु पनि हुँदैन र अलगथलग रूपमा बुझ्नु पनि हुँदैन । पार्टी रणनीति हो भने संयुक्त मोर्चा यसको तत्कालीक कार्यनीति हो । पार्टी अनिश्चयको मोर्चा हो भने मोर्चा यसलाई सापेक्षिक रूपले सुनिश्चित गर्न अपनाइने कार्यनीति हो । संयुक्त मोर्चा माथि कमरेड माओले भन्नु भए जस्तै साझा मुद्दामा वा साझा दुश्मनका विरुद्ध एक भएर जाने बाटो हो । यसले अरु मित्र शक्तिहरूलाई नजिक ल्याउने र सहकार्यमा जोड दिन्छ । आपसी बेमेल विचार र व्यवहारहरूलाई पनि मित्रतापूर्ण छलफलमा ल्याउन मद्दत गर्छ र भावी पार्टी एकताको गोरेटो (त्चबअप) खोल्छ । तर यति गरिरहँदा आफ्ना पार्टीको स्वतन्त्र धारलाई पनि अगाडि बढाइरहन्छ ।
जहाँसम्म पार्टी एकता र संयुक्त मोर्चाको कुरा छ, नेपालको सन्दर्भमा पार्टी रणनीति मोर्चा हो भने मोर्चा कार्यनीति मोर्चा हो । पार्टी सिद्धान्त हो भने मोर्चा व्यवहार । पार्टी विज्ञान हो भने मोर्चा कला । यदि कुनै नेता वा राजनीतिज्ञले विज्ञान र कलाको समायोजन, सिद्धान्त र व्यवहारबिचको तालमेल मिलाउन र रणनीतिको पुरक कार्यनीतिलाई बनाउन सकेन भने उसले कहिल्यै क्रान्ति गर्न पनि सक्दैन र न क्रान्तिलाई नै बुझ्न सक्दछ । उ अन्तिममा एक्लै भएर आफ्नो अन्त्यष्टिको दिन पर्खन बाध्य हुन्छ । आज हाम्रो पार्टीको संयुक्त मोर्चासम्बन्धी अवधारणा यही सिद्धान्तमा आधारित छ । यसलाई यदि कसैले संसदवादमा गएको बुझ्दछ भने त्यो उसको बुझाइको समस्या हो । पार्टीले आज जुन पहल गरिरहेको छ, यो साम्राज्यवादका विरुद्धको मोर्चाबन्दी हो । क्रान्तिको अनिश्चयतालाई निश्चिततामा बदल्ने प्रक्रिया वा कदम हो ।
नेपालको सन्दर्भमा आज भूमण्डलीकृत सम्राज्यवाद नेपाल पसेर उधुम मच्चाउन खोजेको छ । त्यसलाई बेलैमा र समयमै देख्नसक्नु नेतृत्वको दूरदर्शिता हो । जब घटना घटेपछि मात्र देख्छ र त्यसबेला बल्ल उसले कुरा बुझ्छ, त्यो नेता होइन सामान्य जनता हो । जुन बेला समय चुकिसकेको हुन्छ । यसैलाई नेकपाका महासचिव कमरेड विप्लव सीले समय र श्रमलाई भोली भन्नु हुँदैन । आजको समय आजकै निम्ति हो र आजको श्रम आजकै निम्ति हो । समय र श्रम सञ्चित हुँदैन, भनेर जोड दिइरहनु भएको छ । सायद संयुक्त मोर्चाको पहलकदमी आजकै आवश्यकता हो । यसलाई पनि भोली भनेर हुँदैन । भोली समय बितिसकेको हुन्छ । भोली के हुन्छ अनिश्चित छ । तर आजको कुरा निश्चित छ । भोली के हुन्छ, के अवस्था आउँछ र के पहल गर्ने ? भन्ने भोलीकै प्रश्न हो । आजको आवश्यकतालाई बुझ्न नसक्नु पश्चगमन वा यथास्थितिवादको शिकार हुनु हो । यसले भोली पश्चाताप बाहेक अरु केही दिंदैन । त्यसैले आजको कुरा आजै गर्नुपर्छ, आजको लागि आजै सोच्नुपर्छ, यदि कसैले गरेकोमा इष्र्या गर्छ वा सधैं नकारात्मक मात्र देख्नु, संकीर्णता हो । संकीर्णता आफै सिद्धिने चाल हो ।
यसरी पहिलो कुरा, समयको यो महत्वको बारेमा बेलैमा बुझेर, बेलैमा जनता र कार्यकर्तालाई सजग, सतर्क, मोर्चाबन्दी गर्नु, गराउनु समयको माग हो र नेतृत्वको कर्तव्य र दूरदर्शिता पनि हो ।
दोस्रो, कम्युनिस्टहरू फुटिरहने प्रवृत्ति राम्रो पनि होइन र सहि पनि होइन । यसलाई जुटाउने दिशा पकड्नु आजको समयको माग हो ।
तेस्रो, हाम्रो पार्टीको तेस्रो केन्द्रीय समितिको बैठकले आजको वस्तुगत आवश्यकतालाई ध्यानमा राखी विचार मिल्नेसँग पार्टी एकता र नमिल्नेसँग मुद्दाको आधारमा संयुक्त मोर्चा बनाएर जान सकिने भनी गरेको निर्णय वस्तुवादी र वैज्ञानिक छ । मोर्चामा मुद्दा अनुसार रणनीतिक मुद्दा मिल्नेसँग रणनीतिक संयुक्त मोर्चा मार्फत जान सकिने र कार्यनीतिक मुद्दा मिल्नेसँग कार्यगत एकता वा कार्यनीतिक संयुक्त मोर्चा बनाएर जाने हाम्रो पार्टीको आधिकारिक निर्णय हो । यसलाई सम्पूर्ण पार्टी पंक्तिले पूर्ण जिम्मेवारीका साथ लागू गरेर जानु पर्दछ ।
चौथो, हाम्रा कतिपय मित्रहरूले यो हाम्रो पार्टी र नेतृत्वको पहलकदमीलाई “विचलन”को संज्ञा पनि दिएका छन् । त्यो आरोप सहि छैन । माथि भनियो कि पार्टी र व्यक्तिमा अलग हुने वा आफ्नो अलग मत राख्ने स्वतन्त्रता पनि छ तर साझा प्रश्नमा एक भएर जाने आवश्यकता पनि छ । यदि सहमत भएन भने उ स्वतन्त्र हुने छुट छ, तर नभएको आरोप लगाएर ‘हारेको साँडे डकुर्दै भागे’ जस्तो गर्नु कम्युनिस्ट नैतिकताभित्र पर्दैन । संयुक्त मोर्चाको प्रश्नमा जुन आरोप लगाउन खोजिएको छ, त्यो आजको समय, आवश्यकता र आजको भूमण्डलीकृत साम्राज्यवादको रणनीति नबुझ्नु हुन्छ र यसले प्रत्यक्ष वा अप्रत्यक्ष साम्राज्यवादलाई टेवा पुग्न जान्छ, जुन क्रान्ति र आन्दोलनको निम्ति घातक पनि छ ।
पाँचौ, म प्रश्न गर्न चाहन्छु– के हामी सधैं फुटिरहनु पर्छ, के साम्राज्यवादलाई निर्वाध साँडे बन्न दिइरहनु पर्छ ? के मुद्दा मिल्नेहरूसँग संयुक्त मोर्चा बनाउनु विचारमा विचलन हुन्छ ? यी आजका प्रश्न हुन् जसको जवाफ हामीले दिनै पर्छ ।
माथि शुरुमै चीनको सन्दर्भमा माओ त्सेतुङको एउटा महत्वपूर्ण भनाई उद्धृत गरिएको छ । त्यसको सार के हो भने जनवादी सिद्धान्तको आधारमा राष्ट्रिय स्वाधिनताको प्रश्नमा, जनतन्त्र र जनजीविकाको कैयौं प्रश्नहरूमा “संयुक्त मोर्चामा सामेल भएका प्रत्येक पार्टी र समुहले आफ्नो विचारधारात्मक, राजनीतिक र सङ्गठनात्मक स्वतन्त्रतालाई जोगाइराख्नु पर्छ, … र पार्टीहरूको आपसी सम्बन्धमा, तीन जनसिद्धान्तहरूमा जनवादको सिद्धान्त सबै पार्टी र समुहहरूलाई संयुक्त हुनाको साथसाथै आ–आफ्नो स्वतन्त्र अस्तित्व कायम राख्ने अनुमति पनि दिन्छ” भनेर कमरेड माओले स्पष्ट रूपमा भन्नु भएको छ । यो कुरा हाम्रो सन्दर्भ र विश्वभरि संयुक्त मोर्चाको प्रश्नमा लागू हुन्छ । यसलाई बुझ्न नसक्नु या त घुमिफिरी साम्राज्यवादको सेवा हुन पुग्दछ या त क्रान्तिप्रतिको कम्युनिस्टको कर्तव्यबाट पन्छिनु वा भाग्नु हुन्छ, जो जनआकाङ्क्षा विपरित मात्र होइन एकता विरोधी पनि हुन्छ ।
जहाँसम्म पार्टी एकता र संयुक्त मोर्चाको कुरा छ संयुक्त मोर्चालाई पार्टी एकता भन्ठान्नु र पार्टी एकतालाई संयुक्त मोर्चा भन्ठान्नु यो रणनीति र कार्यनीतिलाई नबुझ्नु हो । तत्कालीक र दीर्घकालीक मामिलाहरूलाई सोलोडोलो एउटै टोकरीमा राखेर बुझ्नु हो । आवश्यकता र स्वतन्त्रताको द्वन्द्ववाद नबुझ्नु हो । विषयको गाम्भिर्यता, सार्वभौमिकता र विशिष्ट पक्षलाई बुझ्न नसक्नु हो । वस्तुलाई सधैंभरि एउटै आँखा र दृष्टिकोणले बुझ्नु अधिभूतवाद हो । यसले आन्दोलनलाई एक्ल्याउँछ, कमजोर बनाउँछ, फुटाउँछ र क्रान्तिलाई पछि धकेल्छ । पछि आइरहेको र बदलिएको परिस्थितिलाई समयमा बुझ्न नसक्ने अदूरदर्शी नेताले क्रान्तिको नेतत्व गर्न सक्दैन । त्यो जो सधैं यथास्थितिको कुरा गरिरहन्छ । सूर्य नझुल्किदै मिर्मिरे विहानमै सूर्यको आगमनलाई बुझ्न सक्ने नेतृत्व नै वास्तवमा नेता हुन्छ । त्यसैले त हरेक क्रान्ति र परिवर्तनमा दूरदर्शी नेताको आवश्यकता भएको हो । नत्र सबै माक्र्स–एङ्गेल्स, लेनिन–स्टालिन र माओ भइहाल्थे होला । नेपालमा यस्तो नेतृत्वको कमीका कारण नै आन्दोलनहरू असफल भइरहने, धोका दिइरहने, फुटिरहने भइरहेको छ, जसका कारण साम्राज्यवादले निर्वाध लुटिरहेको छ ।
अन्तमा आवश्यकता र स्वतन्त्रताको सिद्धान्तलाई दह्रोसँग पक्डेर, आफ्नो विचारधारात्मक, राजनीतिक र सङ्गठनात्मक स्वतन्त्रतालाई जोगाउँदै, विभिन्न पार्टीहरूको आपसी सम्बन्धहरूलाई पनि जोगाउँदै एउटा मोर्चा– समाजवादी मोर्चा जुन गठन भएको छ यसलाई आम सबै समाजवादी धार पक्डेका सबैको साझा मोर्चा बनाउन प्रयत्न गरौं । साम्राज्यवाद र पश्चगमनकारीहरू यसको विरोध गरिरहेको सन्दर्भमा सबै परिवर्तनकारीहरू सकारात्मक सोचका साथ कम्युनिस्टहरूलाई एकतावद्ध बनाउने प्रयत्न गरौं । यसले नै नेपाल र नेपाली जनतालाई सहि र अग्रगामी राजनीतिक निकास दिनेछ । आपसी मनमुटावहरू त्यागौं । एउटा कम्युनिस्ट संस्कारको विकास गरौं । आ–आफ्नो स्वतन्त्र अस्तित्व कायम राख्दै मुख्य दुश्मनका विरुद्ध तत्कालीक र दीर्घकालीक मोर्चा कस्दै मुलुक र जनतालाई साम्राज्यवादी हस्तक्षेप र नवऔपनिवेशिक अवस्थाबाट मुक्त गर्नु र देश र जनतालाई स्वाधीन र स्वतन्त्र बनाउनु, देशलाई समृद्ध मुलुक र जनतालाई सुखी जनतामा बदल्नु नै क्रान्तिकारीहरूको राजनीतिक र नैतिक कर्तव्य हो । यसको निम्ति कम्तीमा कम्युनिस्टहरूको बिचमा बलियो मोर्चा निर्माणमा जोड दिऔं । सके वैज्ञानिक समाजवाद, नसके कम्तिमा राष्ट्रिय स्वाधीनता र साम्राज्यवादको हस्तक्षेपका विरुद्ध मित्रशक्तिहरूबिच संंयुक्त मोर्चा आजको आवश्यकता बन्न पुगेको छ । यही सैद्धान्तिक मान्यताभित्र रहेर कम्युनिस्ट एकतामा जोड र राष्ट्रिय स्वाधीनताको प्रश्नमा देशभक्त मोर्चामा जोड आजको राष्ट्रिय आवश्यकता बनको छ । समाजवादी मोर्चा यसैको एउटा पहलु हो । यसमा कोही तर्सिनु पर्ने, आतङ्कित र आशङ्कित हुनु जरुरी छैन । बरु हरेक देशभक्त र समाजवादका पक्षधरहरू मोर्चाले अघि सारेको अवाधारणालाई गाउँगाउँसम्म विस्तार गरेर देशभक्त शक्तिहरूको एकतालाई बलियो बनाउन आ–आफ्नो ठाउँबाट सहयोग गरौं र दृढताका साथ लागू गरौं । यही नै अहिलेको लागि देश र जनताको हितमा छ, परिवर्तन र रूपान्तरणको हितमा छ, समस्त देशवासीको हितमा छ ।

२०८० असार १३

स्राेत : जनक्रान्ति अङ्क ७


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।