काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा त्रिवि इन्जिनियरिङ जिल्ला इन्चार्ज/संयोजक प्रेम सीलाई आज बिहान किर्तिपुर नयाँबजारबाट प्रहरीले गिरफ्तार गरेको छ ।
अखिल (क्रान्तिकारी) का संयोजक प्रकाश सीले विज्ञप्ति जारी गरि प्रहरीले गैरन्यायिक रुपमा पक्राउ पुर्जी बिना गिरफ्तार गरेर सोधपुछ नै नगरी सरकारी वकिल कार्यालयमा पुर्याएर ज्यान मार्ने उद्योग तथा हातहतियार खरखजना सम्बन्धि मुद्दा दर्ता गरेको भन्दै कडा निन्दा व्यक्त गरेका छन् ।
हिजो दिउँसो ४ बजे ललितपुरको बक्खुडोलस्थित रातो पाटी अनलाइनको कार्यालय अगाडि रातो पाटीका सम्बादाता कृष्ण सिंह धामी माथी अज्ञात समुहले सामुहिक आक्रमण गरेको थियो ।
रातो पाटीका सम्पादक धामीले केही समय अगाडि त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन तर्फका कार्यक्रमहरु विभिन्न क्याम्पसहरुलाई स्वीकृत दिएकोबारे “त्रिविमा मापदण्ड नै नपुगेका कलेजलाई विषयगत स्वीकृति, अदालतको आदेशदेखि विप्लवको दबाबसम्म” शिर्षक दिएर समाचार प्रकाशन गरेका थिए । त्यसपछि अखिल (क्रान्तिकारी) ले एक विज्ञप्ति जारी गर्दै उक्त समाचारमा आएको कुरा पुष्टि गर्न चुनौती दिएको थियो । लगत्तै हिजो घटना भएपछि त्यसको आशंकामा अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य प्रेम सीलाई गिरफ्तार गरिएको अनुमान गरिएको संगठनले जनाएको छ । घटनामा आफ्नो कुनै संलग्न नभएको भन्दै दलाल तथा माफियाहरुको उक्साहतमा गरिएको गिरफ्तारी सुनियोजित र पूर्वाग्रही भएको भन्दै संगठनले सरकारको प्रशासनले उक्त हर्कत सच्याउन माग गरेको छ । अन्यथा रिहाई नगरे कानुनी र आन्दोलनको माध्यमबाट जवाफ दिने कुरा विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्