
कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तु जिल्ला समितिले आज वाणगंगा नगरपालिकालाई एक ज्ञापनपत्र बुझाएको छ । पार्टीले बुटवल-गोरुसिंगे-चन्द्रौटा सडक निर्माणका क्रममा भइरहेको अवैध नदीजन्य पदार्थ उत्खनन तत्काल रोक्न माग गरेको छ ।
नेकपाले नगरपालिकालाई बुझाएको ज्ञापनपत्रमा निर्माण कम्पनीले सम्झौताभन्दा बढी उत्खनन गरी राज्यको सम्पत्ति दोहन गरेको आरोप लगाएको छ । पार्टीले स्थानीय ऐन नियम र वातावरणीय सन्तुलनको समेत उल्लङ्घन भएको दाबी गरेको छ ।
ज्ञापनपत्रमार्फत नेकपाले अवैध उत्खननमा संलग्नहरूको हिसाबकिताब सार्वजनिक गर्न, दोहोरो डम्पिङ बन्द गर्न, ड्युटी समय बाहिर हुने प्राविधिक कार्य रोक्न र कार्यस्थलमा मापदण्ड मिच्ने काम बन्द गर्नुपर्ने माग राखेको छ ।
आफ्ना मागहरू पूरा नभएमा त्यसको जिम्मेवार वाणगंगा नगरपालिका स्वयं हुने चेतावनी नेकपाले दिएको छ । पार्टीले यस विषयमा सञ्चार जगत, नागरिक समाज र आम जनसमुदायलाई पनि ध्यानाकर्षण गराएको छ ।
ज्ञापनपत्रमा उल्लेखित प्रमुख मागहरू निम्न अनुसार छन् :
१. अवैध उत्खननमा संलग्नहरूको हिसाबकिताब सार्वजनिक गरिनुपर्ने ।
२. दोहोरो डम्पिङ तत्काल बन्द गरिनुपर्ने ।
३. ड्युटी समय बाहिर हुने प्राविधिक कार्य रोकिनुपर्ने ।
४. कार्यस्थलमा मापदण्ड विपरीतका कार्यहरू बन्द गरिनुपर्ने ।
५. मापदण्ड भन्दा गहिरो खन्न नदिने गरी प्राविधिक खटाइनुपर्ने ।
६. डम्पिङ्ग साइडको सतह भत्कने गरी उत्खनन कार्य बन्द गर्नुपर्ने ।
७. दोहन कार्यलाई सहायता पुऱ्याउने गरी कानुनी र प्राविधिक सहयोग भइरहेको जस्तो भान भइरहँदा नगरपालिका जिम्मेवार बन्नुपर्ने ।