![](https://janapatrika.com/wp-content/uploads/2023/04/IMG_20230410_170031.jpg)
बेल्जियम / देशको पुर्वी भागमा चलिरहेको पहिचान पक्षधरहरुको आन्दोलनप्रति नेपाली जनजाती सरोकार मञ्च बेल्जियमले ऐक्यबद्धता जनाएको छ।मञ्चका अध्यक्ष बदन योङहाङद्वारा सोमबार एक प्रेस बिज्ञप्ती जारी गर्दै नेपाली जनजाती सरोकार मञ्च बेल्जियमले ऐक्यबद्धता जनाएको हो।
यस्तो छ बिज्ञप्तीको पुर्णपाठ:
हालै प्रदेश नं १ को नाम कोशी प्रदेश राख्ने प्रदेश सरकारको निर्णय प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । नेपालको केन्द्रीकृत सामन्तवादी राज्यसत्ताको अन्त्य संगै केन्द्रीय सत्ता र शक्तिलाई विकेन्द्रिकरण गर्ने उद्धेश्यका साथ संघीय प्रणालीको निर्माण भएको हो । तर यो संरचनाले विगतमा नेपाली जनताले संघियताको लागि गरेका संघर्षको एजेण्डाहरुलाई सम्बोधन गर्न सकेन ।
सरकारले संघीयतालाई स्थानीय जनसमुदायसंग जोडेर उनीहरुको हित, विकास र संवृद्धिको लागि त्यहांको श्रोत र साधनको परिचालन गर्दै उक्त क्षेत्रका जनतालाई राष्ट्रीय एकतामा बांध्ने, राजनीतिक, आर्थिक, प्रशासनिक लगायतका क्षेत्रमा नेतृत्वको लागि तयारी गर्नु पर्ने हो । तर त्यसको ठिक विपरित नेपाल सरकार र सत्ता उक्त क्षेत्रका जनतालाई भड्काउने, उत्तेजना पैदा गराउने र संघीयतालाई सत्ताधारी राजनीतिक दलका नेता कार्यकर्ता ब्यबस्थापन गर्ने कुन्ठित काममा नियोजित ढंगबाट लागि परेको छ ।
उक्त प्रदेशका आदिवासी किरातीहरुको भावनालाई समेट्न किरातहरुले निरन्तर माग गरिरहेको लिम्बुवान किरात प्रदेश नाम नराखेर कसैले माग नगरेको र कसैको भावना र पहिचान नसमेट्ने कोशी प्रदेश नाम राखिनु अत्यन्तै गैरजिम्मेवार र जनविरोधी काम हो भन्ने हाम्रो ठहर छ । हामी कोशी प्रदेश नामाकरणलाई तुरुन्त खारेज गरी लिम्बुवान किरात प्रदेश नामाकरण गर्न आह्वान गर्दछौं । पहिचान पक्षधरको आन्दोलनमा ऐक्यबद्धता जाहेर गर्दछौं । विश्व पूंजीवादमा देखिएको विकृति र नेपालको संसदीय दलाल पुंजीवादले जनताको माग पूरा गर्न नसक्ने हुनाले सम्पूर्ण श्रमजीवी आन्दोलनकारी जनतालाई वैज्ञानिक समाजवादी संघीय राज्य स्थापनाको मार्गमा अगाडि बढ्न हामी आग्रह गर्दछौं ।