१६ चैत्र २०८०, शुक्रबार

खोज, अनुसन्धान र वैज्ञानिक प्रयोगले मात्रै क्रान्ति सम्भव छ : विप्लव

शिक्षा र स्वास्थ्यलाई जनताको मामिला नबनाएर बजारको मामिला बनाइयो

0

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नयाँ खोज, अनुसन्धान र वैज्ञानिक प्रयोगले मात्र क्रान्ति सम्भव भएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी पूवी ताम्सालिङ व्युरोले आयोजना गरेको ‘पुँजीवादी संसदीय व्यवस्थाको असफलता, राष्ट्रिय संकट र अग्रगामी निकास – वैज्ञानिक समाजवाद’ विषय अन्तक्रिया कार्यक्रममा बोल्दै विप्लवले यस्तो बताएका हुन् ।

शनिबार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको सभाहलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै विप्लवले क्रान्ति भनेजस्तो सजिलो भने नभएको बताए । ‘सामाजवाद सजिलै आउँदैन । यो थालमा भात थापेको जस्तो सजिलो छैन ।’, कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका विप्लवले भने, ‘यसका लागि ठूलो संघर्ष आवश्यक छ । हामीले धेरै ठूलो मिहिनेत गर्नुपर्ने छ । हाम्रो कुराहरु जनतालाई, युवालाई, विद्यार्थीलाई, बुद्धिजीविलाई भन्नुपर्ने छ । बुझाउनु पर्नेछ । अवको क्रान्ति जनयुद्धबाट सम्भव छैन् । अवको क्रान्ति बुद्धिजीविहरुले गर्नुपर्नेछ, युवा र विद्यार्थीले गर्नुपर्ने छ । कसैले गरिदिएर क्रान्ति हुँदैन् ।’

क्रान्ति पुरा गर्न धेरै समय नलाग्ने विप्लवको भनाई थियो । ‘क्रान्ति कहिले पुरा हुन्छ, वैज्ञानिक समाजवाद कहिले आउँछ भनेर धेरैले प्रश्न गर्ने गरेका छन् ।’, उनले भने, ‘मिति तोकेर क्रान्ति पुरा हुँदैन, मिति तोकेर वैज्ञानिक समाजवाद आउँदैन । दुई बर्ष, ५ बर्ष, ५० बर्ष पनि लाग्न सक्छ । हाम्रो पालामा क्रान्ति पुरा हुन्छ । हामीले नसके हाम्रो छोराहरुको पालामा क्रान्ति हुन्छ, हाम्रो छोराहरुले पनि नसके नातिहरुको पालामा हुन्छ । जसले गर्नसक्छ, उसैले क्रान्ति गर्छ ।’

शिक्षा क्षेत्रमा राज्यले व्यापारिकण गरेर जनतामाथि शोषण गरेको उनको जिकिर थियो । ‘जनताका छोराछोरीलाई पढ्ने वातारण छैन । शिक्षा व्यापारिकरण भएको छ । एउटा विद्यार्थीले राम्रो विषय पढ्नका लागि लाखौं खर्च गर्नपर्छ । मलाई धेरै विद्यार्थी र उनका अभिभावकले भन्ने गर्नुभएको छ । पैसा नभएर इन्जिनियर पढ्न पाइन, मेडिकल पढ्न पाइन भनेर गुनासो आउँछ । धेरै स्कुल कलेजमा भनिदिन पर्यो भनेर फोन आउँछ ।’, उनले भने, ‘दलालहरुको व्यवस्थामा हुनेभनेकै यस्तै हो । जनताको छोरा छोरीले चाहेको विषय पढ्न पाउँदैन । विद्यार्थीको पढ्नसक्ने क्षमता छ तर पैसा नभएकै कारण उसले पढ्न पाउँदैन । यो भनेको व्यवस्थाको समस्या हो । यस्ताखालका समस्याहरुको समाधान वैज्ञानिक समाजवादमा मात्र छ ।’

स्वास्थ्यको विषयमा संविधानले नै मौलिक अधिकार भनेर श्रमिक जनतामाथि विभेद गरेको उनको भनाई छ । ‘एक जना विरामी उपचार नपाएर अस्पतालको शैयामा छटपटाइरहेको छ । पैसा नभएका कारण अकालमै ज्यान गुमाउनु परिरहेको छ ।’, उनले भने, ‘कसैले उपचारपछि आफ्नो उपचार खर्च तिर्न नसक्दा अस्पतालको छतबाट हामफालेर आत्महत्या गर्नु परिरहेको छ । स्वास्थ्य पनि व्यापारीको हातमा पुगेको छ । व्यापारिकरण भएको छ ।’
‘यो संसदिय व्यवस्थाको प्रयोग जसरी भैरहेको छ यसले देशलाई निकास दिन सक्दैन । शिक्षा र स्वास्थ्यमा पञ्चायती व्यवस्थामा भन्दा बढि व्यापारिकरण भएको छ ।’, विप्लवले भने, ‘यो व्यवस्थाले शिक्षा र स्वास्थ्यलाई जनताको मामिला नबनाएर बजारको मामिला बनायो । आम बिध्यार्थीहरुलाई बिदेश पलाएन हुन बाध्य बनायो । हामीले देउवा÷ओली÷प्रचण्ड÷रबि कसैलाई आरोप लगाएको होइन । यो व्यवस्थाको असफलता हो । उनीहरु यसका प्रयोगकर्ता मात्र हुन् ।’

यो व्यवस्थामा भष्ट्राचार गर्नबाट कोही पनि चोखो नबचेको भन्दै विप्लवले रविहरुको नियत पनि राम्रोसँग देखिएको बताए । ‘प्रधानन्यायधीशले न्यायालय भ्रष्टाचारको अखडा भयो भन्छ, आम जनताले न्यायको परिकल्पना कसरी गर्नसक्छ । भुइ मान्छेले कसरी न्याय पाउँछ ।’, उनले भने, ‘नयाँ भनेर आएकाहरुले पनि व्यवस्थाको संकट देखेका छैनन् । अवस्था परिवर्तन गर्छु भनेर आएका छन् । त्यहाँ पनि ढाकारामहरुले ऐना देखाइदिए । यो ढाकारामको वा रवि लामिछानेको समस्या होइन । यो व्यवस्थाको समस्या हो । यो व्यवस्थाको नेताले जनतामा फर्केर राजनीति गर्नसक्ने अवस्था छैन । शक्तिकेन्द्र धाउनु उसको बाध्यता हुन्छ ।’

भुटानी शरणार्थी काण्डमा पूर्वमाओवादीहरुलाई छानीछानी फसाएको विप्लवको तर्क छ । ‘एक लाख भुटानी शरणर्थी तेश्रो देश गएको भनिएको छ । १/२ सयको विषयमा मुद्धा चलाएर फसाएका छन् ।’, विप्लवले भने, ‘बादल वा टोपबहादुर सहि छन् भनेको होइन । उनीहरुमा खरावी होलान्, तर १ लाखलाई तेश्रो मुलुक पठाउनेमाथि अनुसन्धान गर्नुपर्दैन् ? यो काण्डमा एमाले कांग्रेसका नेताहरु चोखा होलान र ? पूर्वमाओवादीहरुलाई जोडेर जनयुद्दको नेतृत्वमाथि हमला हुदैछ । यो नियोजित छ तर यो सब हुनुको कारण यही असफल दलाल ससदीय व्यवस्था हो ।’

उनले देशलाई निकास दिन नयाँ तरिकाले सोच्नु पर्ने अवस्था आएको बताए । ‘अब नयाँ तरिकाले सोच्नुपर्छ । यो व्यवस्थाको विकल्प खोज्नु पर्छ । गाउँगाउँमा यसको वहस चलाउनुपर्छ ।’, उनले भने, ‘हामीले भनेका छौ सबै बामपन्थी कम्युनिस्टहरु, देशभक्तहरु यो व्यवस्थाको विकल्पमा समाजवादी व्यवस्थाबारे वहस गरौं । किसान, मजदुर, विद्यार्थी, बुद्धिजिवि, पत्रकार सम्पूर्ण मिलेर समाजवादी क्रान्तिको ज्वारबाटा ल्याउँ ।’

आफूहरुलाई कुर्सीको लोभ नभएको भन्दै एक थान मन्त्रीले जनताको जीवनमा केही पनि फरक पार्न नसकिने उनको भनाई थियो । उत्पादनलाई जनताहरुबाट कटाएर दलाल पुँजीवादले परनिर्भर बनाएको भन्दै अबको लडाई दलालहरुसँग हुने विप्लवको भनाई थियो । ‘हामीले दलाललाई चिनिसकेका छौं । उत्पादनमा नजोडिने, विदेशीहरुले उत्पादन गरेको सामान बेच्ने, नेपाललाई बजारमात्रै बनाइराख्न खोज्ने व्यक्तिहरु दलाल हुन ।’, विप्लवले भने, ‘हो उनीहरुका कारण जनताले उत्पादनमा जोडिन छोडे । सस्तोमा सडेगलेका बस्तु गाउँगाउँमा पुर्याउन थाले । हामी यसको अन्त्य गर्न चाहान्छौं । हामीलाई एक सय जना राष्ट्रिय पुँजीपति वर्गले साथ दिएभने दलालहरुलाई लखेट्न सक्छौं ।’

वैज्ञानिक समाजवादमा समानता, समाजिक न्याय र स्वतन्त्रता हुने भन्दै विप्लवले यसका लागि पूर्वि ताम्सालिङका जनताको साथ चाहिएको बताए । ‘धेरैले वैज्ञानिक समाजवाद के हो भन्ने गरेको सुनेको छु । वा यो व्यवस्थामा के हुन्छ भन्छन् ।’, उनले भने, ‘यो व्यवस्थामा जनता स्वतन्त्र हुन्छन् । जनताले सामाजिक न्याय पाउँछन् र समानता पाउँछन् । यसलाई अर्को अर्थमा धन्दा जनामा समानता, सामानिक न्याय र स्वतन्त्रता हुन्छ भन्दा हुन्छ । यसका लागि एकपटक पूर्वी ताम्सालिङ जुरुक्क उठ्न आवश्यक छ । काठमाडौंलाई जिन्त आवश्यक छ ।’
कार्यक्रममा व्युरो इन्चार्ज विकल्प सीको अध्यक्षता गर्दै दुईवटा कार्यपत्र प्रस्तुत गरेका थिए । विकल्पले प्रस्तुत गरेको कार्यपत्रमा डा. युवराज संग्रौला, अर्थराजनीतिक विश्लेषक हरि रोका, उद्योगीपति तथा पूर्वमन्त्री हरि पाण्डे, जनस्वास्थ्यविद डा. सरोजराज वन्त लगायतले आफ्नो धारण राखेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।