१२ श्रावण २०८१, शनिबार

शान्तिपूर्ण आन्दोलनमा दमन गरे युवाहरुले राइफल बोक्छन् : शितल

0

तुलसीपुर: नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य शितल सीले शान्तिपुर्ण आन्दोलनमा राज्यले दमन गरे युवाहरुले राइफल बोक्ने चेतावनी दिएका छन् ।
शनिबार तुलसीपुरमा युवा संगठन नेपाल पश्चिम दाङको छैठौं सम्मेलनलाई सम्बोधन गर्दै नेता शितल सीले उक्त चेतावनी दिएका हुन् ।

सम्मेलनको प्रमुख अतिथि समेत रहनुभएका नेता शितलले भने- ‘हामी शान्तिपुर्ण ढंगले संकटग्रस्त संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवाद भनेर आन्दोलन गरिरहेका छौँ । हामी अहिलेको संकटको निकासका लागि प्रयत्नशील हुँदै विभिन्न छलफल , सभा ,सम्मेलनमार्फत राज्यलाई अपिल गरिरहेका छौँ तर राज्यले शान्तिपुर्ण ढंगको आन्दोलनलाई पत्याएन वा दमन गर्छु भन्ने सोच्यो भने युवा संगठनमा आवद्ध हाम्रा युवाहरुले राइफल बोक्छन् र यो सत्ता ढाल्छन् ।’

सम्मेलनलाई सम्बोधन गर्दै नेता शितलले रवीहरु अमेरिकी साम्राज्यवादको प्रतिनिधि भएको ठोकुवा गरे । उनले भने – ‘रवीहरुदेखि सबै सचेत रहनुपर्छ । रवीहरु अमेरिकी साम्राज्यवादका प्रतिनिधि हुन् । रवीहरु हावी हुनु भनेको नेपालमा अमेरिकी साम्राज्यवाद हावी हुनु हो । रवीको न कुनै आदर्श छ न कुनै राजनीतिक सिद्धान्त , कार्यक्रम , कार्यदिशा केही छैन । उनीहरु केवल दलाल संसदीय व्यवस्थामा रहेका पुराना पार्टीहरुबाट निराश भएका जनताको सेन्टिमेन्ट पकड्न चाहन्छन् अन्ततः व्यवस्था होइन अवस्था फेर्ने भनेर उदाएका छन् तर यहीँ व्यवस्थामा जो कोही आएपनि हुनेवाला केही होइन । यो कुरा हामीले जनतालाई बुझाउन आवश्यक छ। सत्ताधारी कम्युनिस्टहरुलाई बदनाम गरेर अमेरिकी साम्राज्यवाद रवीलाई हावी बनाउन चाहन्छ ।’

क्रान्ति झनपछि झन् सम्भव देखिएको छ , उनले थपे ‘देशमा बिद्रोहका संकेतहरु देखिएका छन् त्यसलाई संगठित गर्नुपर्छ । अमेरिकी साम्राज्यवाद हाम्रा विरुद्ध केन्द्रित हुँदैछ । लडाइ जारी रहेको छ । हामी यो देशको दलाल पुजीवादी संसदीय व्यवस्था र अमेरिकी साम्राज्यवादका विरुद्ध निर्मम भएर लड्नुपर्ने बेला आएको छ ।’

एक अर्को प्रसंगमा बोल्दै नेता शितलले भ्रष्टाचारका ठुलाठुला काण्डहरुले गर्दा सत्ताधारीहरु नाङ्गेझार भएको बताए । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा राज्यसत्ताका हाइ प्रोफाइलहरु धमाधम पक्राउ पर्नुले यो व्यवस्था नै भ्रष्टहरुको व्यवस्था भएको भनेर बुझ्न जनतालाई सहज भएको टिप्पणी गरे ।

युवाहरु लाल निपुर्ण भए निकट भविस्यमै देशमा उथलपुथल हुने नेता शितलको भनाइ थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।