११ बैशाख २०८१, मंगलवार

अधिकारकर्मी हजा सुनारको दुखेसो ‘म आफैलाई घर प्रवेश गर्न दिएन’

0

 

कालिकोट । हजा सुनार दलित महिला अधिकारकर्मी मात्र होईनन् उनी राजनैतिक अगुवा पनि हुन । उनी धेरै पढेलेखेकी छैन्न । उनको औपचारिक शिक्षा कक्षा ८ सम्म मात्र हो । तर पनि उनी साहसी र केही समाज परिवर्तनका लागि गरौं भन्ने हुटहुटी भएकी महिला हुन ।

उनको जन्म वि.स.२०३६ साल साउन २ गते कालिकोट जिल्लाको रास्कोट नगरपालिका वडा नम्वर ४ स्युनामा भएको हो । उनी वुवा संजिते टमट्टा र आमा धना टमट्टाकी माहिली सुपुत्री हुन ।

उनको परिवारको सामाजिक तथा आर्थिक अवस्था त्यति नराम्रो भने होइन । उनले दलित महिलाका क्षेत्रमा केही नयाँ काम गर्नु पर्छ भने अभियान थालिन । करिव २० वर्षको अवधिमा धेरै कठिनाईहरु सहनु पर्यो । उनी आफै महिला अधिकारकर्मी भएर पनि दलित भएकै कारण गैर दलितको घरमा प्रवेश गर्न नदिएको गहिरो पीडा छ । उनलाई यो घाउले जीवनमा भल्भल्ती अहिले पनि पोलिरहेको छ ।

तर पनि दलित महिला अधिकारकमी सुनार अझै थाकेकी छैन्न । उनले कालिकोटको दलित र महिलालाई आफ्नो अधिकारका लागि संघर्ष गर्नुपर्छ भन्ने प्रेरणा अहिले पनि दिदै हिडेकी छिन । दलित महिला अधिकारका क्षेत्रमा काम गर्ने दलित महिला संघ (फेडो नेपाल) संस्थाको कालिकोटको अध्यक्ष भएर कालिकोटका दलित महिला अधिकारका क्षेत्रका निरन्तरता दिइरहकी छिन ।

हिन्दू वर्ण व्यवस्थाका माध्यमवाट विभिन्न जात जातिको विभाजन गरी समाजमा थोपरिएको जातिय उत्पीडनका विरुद्ध उनको संघर्ष अतुलनीय छ । आफ्नो गाउँघर वरिपरि समेत छुवाछुत र भेदभावले थोपरिएको जंगली समाजलाई परिवर्तन गर्नु उनको मुख्य धोको हो ।

सुरुमा उनका वुवाको राप्रपा नेपालको राजनीति भएकाले त्यसवाट प्रेरित भएर राष्ट्रियता र समानताको अभियानमा लाग्ने वातावरण पाईन । उनी राजनैतिकर्मी समेत भएकाले २०७४ सालको स्थानीय चुनावमा राप्रपा नेपालको चुनाव चिन्हवाट उप्रमुख पदमा लडिन । चुनावी प्रचार प्रसारको अभियानका क्रममा आफ्नै नगरक्षेत्रमा घरघर पुगीन । तर उनलाई जीवनमा गहिरो दुख लाग्ने घटना आई लाग्यो ।

चुनावी प्रचार प्रसारका क्रममा आफै दलित अधिकारकर्मी भएरपनि गैरदलितको घरमा प्रवेश गर्न पाइनन् । उनको चुनावी सहकार्य कांगे्रससंग भएकाले कांग्रसकोे तर्फवाट दान वहादुर बम मेयर पदका उम्मेदवार थिए । चुनावी संयुक्त प्रचारका क्रममा रास्कोट ४ स्युनामा भोजभतेरको आयोजना गरिएको थियो । साँझको समय भएकाले नगर प्रमुखका उम्मेदवार दानबहादुर बमलाई घर भित्र बोलाईयो ।

नगर प्रमुखका उम्मेदवार वमले भित्र जाउ भन्दै आग्रह गर्दा भित्रवाट एकजनाको आवाज आयो तपाईलाई हैन दानबहादुर सरलाई मात्र हो ! उनले त्यतिवेला आफु रुखवाट भूईमा खसेको जस्तो अनुभूति भएको वताईन । संसार अध्यारो भयो, रिस र आक्रोसको सीमा रहेन । तर पनि उनले त्यो समयमा रिसलाई विवेकमा परिणत गरिन । उनले भनिन ‘आखिर दलित महिला भएकै कारण म वाहिर रोकीन वाध्य भए ।

त्यसपछि आफू सहन नसक्ने अवस्थामा पुगे र म त्यहाबाट हिडे, त्यो सँगै मेयर पदका उमेदार बम पनि म सँगै निस्के हामीले भोज खाएनौं उनले भनिन ”रिसले त सीमा नागेको थियो तर चुनावी अभियानमा असर पर्छ त्यसो नगर मेयर पदका उम्मेदवार बमले अनुरोध गरेपछि म सहन बाध्य भए ।”

अधिकारकर्मी सुनारले भनिन् “अधिकारका लागि माओवादी अभियानमा लाग्ने निधो गरे । अहिले दलित मुक्तिमोर्चा नेपालको केन्द्रीय सदस्य तथा मओवादी केन्द्रको प्रदेश कमिटी सदस्य पनि छु ।”

उनलाई माअ‍ेवादी कार्यकर्ता भन्दा पनि दलित महिला अधिकारकर्मीको रुपमा समाजमा धेरै चिन्नेहरुको जमात छ । उनी कुनै पार्टी विपार्टी नभनीकन समाजमा निश्पक्ष कामहरु गरिरहेकी छिन । उनले समाजमा हुने जातीय छुवाछूत र भेदभाव उन्मूलन सम्बन्धि जनचेतनामुलक कार्यक्रम देखि विभेदका मुद्दामा कानुनी साहयतामा पीडितहरुलाई सहयोग गर्ने गरिरहेकी छिन । उनले कालिकोटका दलित र विशेष गरि समाजले पछाडि पारिएका महिलाको क्षेत्रमा आफुले दिनरात नभनी काम गरिरहेको वताउछिन् ।

अधिकारकर्मी हजाले चुलो छोएको आरोपमा जुविथाका मानवीर सुनारको हत्या गरिएको घटनामा र दलित भएकै कारण लालुमा जनप्रतिनिधि मना सार्कीको हत्या भएको घटनामा निकै संघर्ष गरि पीडित पक्षलाई न्याय दिलाएको अनुभव सुनाईन ।

उनले कोटवाडामा डिल्ली कामी माथी निर्घात कुटपिट गरी दाँत छारिएको घटना र बलात्कार पछि गर्भपतन गराईएको रास्कोटको एक दलित महिलाको घटनामा पनि ठुलो संघर्ष गरेर पीडितलाई न्याय दिलाएको वताइन ।

यस्तै पानीको धारा छोएको निहुमा थ्रिपुमा दलित समुदायको गाग्री तोडफोड गरिको घटना होस् परम्परागत गैरदलित समुदायको विवाहमा डोली बोक्न दलित समुदाय नगएको नाममा भर्तामा अभद्र ब्यवहार गरिएको घटना होस् सवै क्षेत्रमा आवाज उठाएकी छिन ।

उनको पारिवारिक अवस्था राम्रै भएकाले उनी कालिकोट देखि टाढा कैलालीको टीकापुरमा वसेर कक्षा आठ सम्म अध्यान गर्ने अवसर पाइन । त्यो बेलाको छोरी मान्छेलाई घर भन्दा खासै बाहिर नपठाउने र सानै उमेरमा विहे गरिदिने चलन थियो । जसले गर्दा सानै उमेरमा आमा वुवाले उनको विहे गरिदिए । पढाईको यात्रा रोकियो । उनमा समाज सेवा गर्ने जागरण पैदा भयो । जसका कारण दलित महिला अधिकारका क्षेत्रमा समाज सेवा गरिरहेकी छिन ।

अहिले उनी ४४ वर्ष की भइन । उनको पारिवारिक अवस्था राम्रै छ । उनको श्रीमान समर सुनारले व्यापार व्यवसाय गरिरेका छन । उनले सामाजिक न्यायका क्षेत्रमा आफ्नो पाईला चालिरहेकी छन । उनले राजनीतिलाइ पर्नि निरन्तरता दिइरहेकी छन । उनको एक छोरा समिर तिरुवा र एक छोरी संगीता सुनार गरी दुई सन्तान रहेका छन ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।