१५ चैत्र २०८०, बिहीबार

संगठन विना संघर्ष सम्भव छैन : राप्ती ब्युरो इञ्चार्ज सविन सी

0

घोराही: नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा राप्ती ब्यूरो इन्चार्ज सविन सीले संगठन विना संघर्षको सम्भव नहुने बताए छन् । घोराहीमा सम्पन्न नेपाल कम्युनिस्ट पार्टी पूर्वी दाङ अन्तर्गत जनवर्गीय तथा मोर्चाहरुको संयुक्त भेलामा उनले यस्तो बताएका हुन् ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहेका इन्चार्ज सविन सीले दलाल संसदीय व्यवस्थाको विरुद्ध कडा संघर्ष गर्नुपर्ने र संघर्ष गर्नका लागि संगठन बनाउन जोड दिनुपर्ने बताए । ‘संगठन बिना संघर्ष सम्भव छैन’ उनले भने ‘त्यसैले यो भेलाको उद्देश्य भनेको तपाईहरुलाई संगठित गर्ने हो । संगठित गरेर हाम्रो विचारलाई भौतिक हिसाबले जनताको बीचमा लिने हो ।’

‘हाम्रो विचार त बलियो छ । कम्युनिस्टहरुको विचार निकै बलियो छ, तर जनताको बीचमा भौतिक स्थिति विचारको निकै कम्जोर भएको छ’ नेता सविनले भने ‘त्यसकारण हामीले विभिन्न जनसंगठनहरुको माध्यमले हामीले हाम्रो कम्युनिस्टहरुको विचारलाई भौतिक हिसाबले बलियो उपस्थिति बनाउन चाहन्छौं । त्यसकारणले हामी यी भेलाहरु गरिरहेका छौं ।’

यो संसदीय व्यवस्थाले मानिसलाई काम नगरेर खाने परजीवि जस्तो बनाएको र देशमा रोजगारी, उत्पादनशील र उद्यमशीलताको स्थिति नभएको भन्दै नेता सविनले राज्य र सरकारको योजनावद्द ढंगले युवाहरूलाई विदेश पलायन गरारहेको बताए । उनले यो संसदीय व्यवस्थाको आजको चरित्र भएको भन्दै यसलाई आफूहरूले बदल्न चाहेको र यो स्थितिलाई नबदल्ने हो भने भोलि छोरी/नातीका पुस्ताले समेत दुःख पाउने हुँदा संसदीय व्यवस्थालाई बदलेर वैज्ञानिक समाजवादी व्यवस्था स्थापित गर्नुपर्ने कुरामा जोड दिए । तसर्थ यो व्यवस्था बदल्नका लागि संघर्ष गर्नुपर्ने र संघर्ष नगरेर नेपालको यस्तो प्रकारको अन्तरबिरोधको हल नहुने हुँदा एक पटक किसान, महिला, मजदुर, श्रमिक समुदाय सबैले संघर्षमा भाग लिनुपर्ने उनको उनको भनाइ छ ।

वैज्ञानिक व्यवस्थामा शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका आधारभूत आवश्यकताका वस्तुहरु राज्यको दायित्वमा हुने र मान्छेले आफ्नो क्षमता अनुसार काम राज्यमा गर्न पाउने भन्दै उनले नेपालमा एकमात्र विकल्प भनेको वैज्ञानिक समाजवादी व्यवस्था भएको उद्घोष गरे ।

पार्टीका केन्द्रीय सदस्य तथा पूर्वी दाङका इन्चार्ज सम्झना सीले नेकपा कम्युनिस्ट पार्टी क्रान्तिकारी शक्ति र जनताको नेतृत्व गर्ने एउटा स्थापित पार्टीको रुपमा अगाडि बढिरहेको बताइन् । उनले यो देशमा दलाल संसदीय व्यवस्था जो भ्रष्टाचारीहरुले देशलाई कंगाल बनारहेको भन्दै देश बेचेर खाने लाइसेन्स प्राप्त गरेका अपराधिहरुको जमघटको विरुद्ध संघर्ष गर्न सम्पूर्ण उत्पीडित वर्गहरु एकजुट भएर नेकपामा गोलबद्ध हुनुपर्ने कुरामा जोड दिइन् । नेकपा एकमात्र जनताको रक्षा गर्ने पार्टीको रुपमा स्थापित भएको भन्दै देश र जनताको रक्षाका लागि कम्युनिस्ट, क्रान्तिकारीहरु, मजदुरहरु, इमानदार स्वाभिमानीहरु एकताद्ध हुनुपर्ने बाध्यता सिर्जना भएको नेता सम्झनाको भनाइ थियो ।

त्यस्तै पार्टीका केन्द्रीय सदस्य तथा युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष पाटन सीले नेपालमा संसदीय व्यवस्थाको अन्त्य नगरेसम्म देशको विकास नहुने बताए । उनले संसदीय व्यवस्था अन्त्य नहुँदासम्म समाजको विकास नहुने र उत्पीडित समुदाय, सर्वहारा वर्ग, महिला लगायतको सम्पूर्ण समुदायको मुक्ति नहुने उद्घोष गरे । नेपालमा विभिन्न चरण गरी झण्डै ४०/४५ वर्ष संसदीय व्यवस्थ संचालन भएको भन्दै नेता पाटनले यो दलालहरुको व्यवस्था भएको हुनाले मालिकहरुलाई खुसी बनाउने भएको हुँदा आज नेपाल कंगाल भएकोमा जोड दिए । नेपाल आज श्रमिकहरु, मजदुरहरु जन्माउने, विदेशका मालिकहरुको मजदुर जन्माउने भएको हुँदा संसदीय व्यवस्थाको अन्त्य अनिवार्य भएको उनको भनाइ छ । यो व्यवस्थाले विभिन्न भ्रष्टाचार, वेथिति निम्त्याउने र देशलाई परनिर्भर बनाउने हुँदा यसको विरुद्धको निर्णायक संगठन आफूहरुलाई चाहिएको र त्यो संगठन बनाउनुपर्नेमा नेता पाटनको जोड थियो ।

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) केन्द्रीय सदस्य पन्चाराम सीको अध्यक्षता एवं नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सदस्य तथा राप्तीब्यूरो इन्चार्ज सविन सीको प्रमुख आतिथ्यता भएको कार्यक्रममा पार्टीका केन्द्रीय सल्लाहकार सुन्दर सी, पार्टीका केन्द्रीय सदस्य तथा पूर्वी दाङका इन्चार्ज सम्झना सी, पार्टीका केन्द्रीय सदस्य तथा युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष पाटन सी, पार्टी पूर्वी दाङका सेक्रेटरी जनक सी लगायत पार्टीका जनवर्गीय संगठनका अध्यक्ष तथा प्रतिनिधिको उपस्थिति रहेको थियो ।

अखिल नेपाल क्रान्तिकारी ट्रेड महासंघ पूर्वी दाङको संयोजक दिनेश सीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण श्रमिक समुदाय पूर्वी दाङका संयोजक विष्णु सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।