६ जेष्ठ २०८१, आईतवार

मर्यादित पत्रकारिताको अभाव भएकोमा सरोकारवालाहरुको चिन्ता

0

११ असार ,सन्धिखर्क/ नेपालमा पछिल्लो समयमा मर्यादित पत्रकारिता हुन नसकेको भन्दै विभिन्न क्षेत्रका सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन।जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेशले सोमबारदेखि अर्घाखाँचीमा आयोजना गरेको चार दिने आधारभूत पत्रकारिता तालिमको उद्घाटन शत्रमा शुभकामना मन्तव्य दिने विभिन्न क्षेत्रका व्यक्तित्वहरुले यस्तो चिन्ता व्यक्त गरेका हुन।उनीहरुले पत्रकारिताको मर्यादित पेशालाई केही मान्छेहरुको अमर्यादित गतिविधिले गर्दा पत्रकारिता क्षेत्र धुमलिएको बताएका छन।

जनपत्रकार संगठन नेपालका अध्यक्ष शेरबहादुर बिश्वकर्माले तालिम सफलताको शुभकामना दिदै केही व्यक्तिहरुका कारण पत्रकारिता क्षेत्र माथी अविश्वास पैदा हुन खोजेको बताए।उनले पत्रकारिता क्षेत्र मात्र नभई न्यायलय, प्रहरी प्रशासन ,जनप्रतिनिधि लगाएतका समाजका हरेक क्षेत्रमा हुने गरेका कमिकमजोरीहरु सुधार गर्नुपर्ने धारणा राखे।अध्यक्ष बिश्वकर्माले पत्रकारिता परिवर्तनको अगुवा मोर्चा भएको भन्दै नेपालमा अहिलेको संकटको निकास समाजवादी व्यवस्थाले दिने भएकाले पत्रकार महासंघले संस्थागत रुपमै समाजवादमा जानुपर्छ भनेर निर्णय गर्न सुझाव दिए।

सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्ण बहादुर श्रेष्ठले तालिम सफलताको शुभकामना दिदै कुनैपनी घटनाको सत्यतथ्य बुझेर समाचार लेख्ने पत्रकारिता हुनुपर्ने बताए।उनले वास्तविक र मर्यादित पत्रकारितामा कमी आएको भन्दै चिन्ता व्यक्त गरे।

नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनालले पत्रकार महासंघभित्र मर्यादित पत्रकारिताका लागि शुद्धीकरण अभियान सञ्चालन गरेको धारणा राखे।

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य प्रेम नारायण आचार्यले गाउँ खाली हुने, युवाहरू बिदेशिने अवस्थाको अन्त्य हुने पत्रकारिता गर्नुपर्ने कुरामा जोड दिए।

कार्यक्रममा शुभकामना दिदै प्रेस चौतारी नेपालका केन्द्रिय निर्वाचन समिति अध्यक्ष गणेश खनालले पत्रकारिताको मर्यादालाई केही मान्छेका कारण अमर्यादित भएको भएपनि पत्रकारिता क्षेत्र आफैमा मर्यादित र जिम्मेवार क्षेत्र भएको उल्लेख गरे।उनले राम्रो समाचार होस् वा नराम्रो बिषयको समाचार लेख्दा होस् ; पत्रकारिता क्षेत्रमा दोष मात्रै देख्ने परिपाटी स्थापित हुँदै गएको बताए।

सञ्चारिका समुहकी अर्घाखाँची जिल्ला संयोजक अम्बिका श्रेष्ठले तालिम सफलताको शुभकामना दिदै महिलाहरूलाई पनि पत्रकारिता पेशामा अग्रसर गराउन पत्रकार महिला उत्पादनमा जोड दिनुपर्ने बताइन् ।

प्रेस युनियनका अर्घाखाँची सभापति विरेन्द्र केसीले पत्रकारले सत्य , सन्तुलन र बिश्वसनियता( एविसी)का आधारमा समाचार लेख्नुपर्ने बताए।

समाजवादी प्रेस संगठनका प्रदेश अध्यक्ष हृदय कुमार भुसालले पत्रकारलाई हेर्ने दृष्टिकोण हिजो र आज बदलिएको भन्दै राज्यको चौथो -अंग पत्रकारिताको बिश्वसनियता माथी प्रश्न उठेको बताए।उनले पत्रकारिता क्षेत्रको समिक्षा गरि कमजोरी सुधार गर्दै आम नागरिकको हितमा पत्रकारितालाई बदल्नु पर्ने धारणा राखे।

प्रगतिशील पत्रकार संघका महासचिव गोपाल भट्टराईले पत्रकारिता भित्रका बिकृतिहरु सुधार गर्नुपर्नेमा जोड दिदै आम नागरिकसम्म पनि आधारभूत पत्रकारिताको ज्ञान हुनु अनिवार्य रहेको विचार व्यक्त गरे।

अर्घाखाँची उद्योग बार्णिज्य संघका महासचिव तुलसीराम खनालले देश, जनता र रास्ट्रको हितमा आधारभूत पत्रकारिता तालिमले काम गर्न महत्त्वपूर्ण भुमिका हुने बताए।

कार्यक्रममा चेम्बर अफ कमर्शका अध्यक्ष अशोक कुमार श्रेष्ठले पत्रकारिता क्षेत्र मुख्य खम्बा वा मेरुदण्ड भएकोले यसलाई कमजोर पार्न केही फेक समाचारहरुले समाजमा सूचना र सन्देश दिने भन्दा पनि अन्यौलता सिर्जना गर्ने गरेको भन्दै चिन्ता व्यक्त गरे।

कार्यक्रममा नेकपा पोलिटब्यूरो सदस्य सञ्जीव सी, केन्द्रिय सदस्य जागृत सी,नेकपा अर्घाखाँची इन्चार्ज खेम घर्ती,सेक्रेटरी मिशन, प्युठान सेक्रेटरी परिवर्तन,कपिलवस्तु सेक्रेटरी पावेल, देउखुरी सेक्रेटरी भिम सी, जनपत्रकार संगठन नेपालका सचीव वसन्त बिश्वकर्मा लगाएतका अतिथिहरुको सहभागिता रहेको थियो।

जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेश संयोजक राजेन्द्र रावत क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन शत्रको सञ्चालन पत्रकार अनिल नेपालीले गरेका थिए भने बिहानी मगरले मन्तव्यद्वारा सहभागीहरुलाई स्वागत गरेकी थिईन।आधारभूत पत्रकारिता तालिम असार १४ गतेसम्म सञ्चालन हुनेछ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।