१२ श्रावण २०८१, शनिबार

नेकपा नारायणी ब्युरोद्वारा साँढे दुई बिगाहा जमिनमा धान रोपाइँ सम्पन्न

0

मकवानपुर: नेपाल कम्युनिस्ट पार्टी नारायणी ब्युरोको धान रोपाइँ सम्पन्न भएको छ । मनहरी-५, दरदरामा भएको साँढे दुई बिगाहा जमिनमा रोपाइँ सम्पन्न भएको हो ।

नेपाल कम्युनिस्ट पार्टीको देश र जनतालाई आत्मनिर्भर बनाउने नीति अनुसार पछिल्लो समयमा पार्टीले उत्पादनमा जोड दिँदै आएको छ । उत्पादनका अन्य क्षेत्र सँगै खेतीपातीमा जोड दिँदै आएको पार्टीले माना छरेर मुरी फलाउने यो समयमा देशैभरिका विभिन्न क्षेत्रको खेतीयोग्य जमिनमा धान रोपेको छ ।

त्यस्तै नेकपा नारायणी ब्युरोले पनि ब्युरो स्तरीय धान खेती गरेको छ । यो भन्दा अगाडि काँक्रो, भन्टा, घिरौँला जस्ता तरकारी बालीमा सफलता प्राप्त गरेको पार्टीले असारमा धान रोपाइँ गरेको हो । मकवानपुर जिल्लाको मनहरी-५, दरदरा स्थित साँढे दुई बिगाहा जमिनमा पार्टीले धान रोपेको हो । असार १० गतेदेखि ३० गतेसम्म खेतीपातीका लागि पार्टीले दिएको बिदामा पार्टीका नेताकार्यकर्ताले आफ्नो व्यक्तिगत खेतीसँगै समाजवादी खेती प्रणाली झल्किने गरि सामुहिक खेतीमा पनि ध्यान दिएको छ । नारायणी व्युरोले खेती गरेको उक्त जमिनमा मकवानपुर, चितवन र विशेष जिल्लाका नेताकार्यकर्ताहरुको उपस्थितिमा धान रोपाइँ गरेको हो । रोपाइँको दिन सबै ठाउँबाट गरि लगभग १३० जना जति नेताकार्यकर्ता र जनसमुदायको उपस्थिति रहेको थियो । रोपाइँका लागि चितवनबाट नेकपाका पोलिट व्युरो सदस्य तथा उत्पादन विभागका प्रमुख सन्देश सी र केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज उत्सव सीको नेतृत्वमा, विशेष जिल्लाबाट वैकल्पिक केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज मिङमार सीको नेतृत्वमा र मकवानपुरबाट केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज राम सीको नेतृत्वमा रोपारे तथा बाउसे उपस्थिति भएको हो । रोपाइँमा पार्टीको अनुरोधलाई स्वीकार गर्दै स्थानीय जनसमुदाय र मनहरी-५ का स्थानीय सरकारले पनि महत्त्वपूर्ण सहयोग पुर्‍याएको छ ।

यसरी पार्टीले सामुहिक उत्पादन गर्दै गर्दा वरपरका जनसमुदायले पनि राम्रो प्रतिक्रिया जनाएको छ । पार्टीले सामुहिक उत्पादन कार्यलाई निरन्तरता दिइयोस् र त्यसमा हामी पनि जोडिन्छौँ भन्ने स्थानीयको भनाइ छ । यसलाई नियाल्दा पार्टीको समाजवादी खेती प्रणालीको अभ्यासले सार्थकता पाउने र कालान्तरमा समाजवाद स्थापनामा टेवा मिल्ने देखिन्छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।