![](https://janapatrika.com/wp-content/uploads/2023/07/Picsart_23-07-28_10-57-08-511.jpg)
झापा: नेपाल कम्युनिस्ट पार्टीले झापा जिल्ला सहकारी संघको नाममा संघका सचिव भनिने भवानी प्रसाद दंगाल र अध्यक्ष भनिने गणेश ढकालको नाममा बुधबार जारी विज्ञप्तिप्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै चेतावनी सहितको विज्ञप्ति जारी गरेको छ ।
यसअघि साउन १० गते झापा जिल्ला सहकारी संघले प्रेस विज्ञप्ति जारी गर्दै नेपाल कम्युनिष्ट पार्टीको नाम नै किटान गरेर कर्मचारीलाई धम्कि दिएको, तालाबन्दि गर्न खोजेको, कर्मचारीलाई मानसिक तनाव दिएको, अमर्यादित गतिविधी गरेको जस्ता आरोप लगाउँदै कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएको थियो ।
सहकारी संघको उक्त विज्ञप्तिको खण्डन गर्दै नेपाल कम्युनिस्ट पार्टी झापाका इन्चार्ज प्रशान्त सी र सचिव सञ्जय सीद्वारा हस्ताक्षर गरिएको प्रेस विज्ञप्ति जारी गरिएको हो । आफ्ना कर्तुतहरुलाई ढाकछोप गर्ने र जनतामाथि शोषण र दमनको वातावरण बनाउने काम झापा जिल्ला सहकारी संघ भनिने संस्थाले गर्दै आइरहेको र सोही प्रकारको कामलाई पुन: दोहोर्याएको नेकपाको आरोप छ ।
जारी विज्ञप्तिमा भनिएको छ,– “जनताको समस्या र संकटको अगाडि तुच्छ प्रतित हुने यस्ता बकवास विज्ञप्तिको कुनै अर्थ नरहेको र यस्ता विज्ञप्तिमा जनताको संकट समाधानको निम्ति अहोरात्र खटिरहेको नेपाल कम्युनिस्ट पार्टीको नाम नजोड्न विज्ञप्ति प्रस्तोताहरुलाई गम्भिर चेतावनी दिन चाहन्छौं ।”
देशमा यतिबेला वित्तिय संकट रहेको र नागरिकहरुको जीवन आक्रान्त बनेको बेला सहकारी संस्थाको नाममा आर्थिक लुटपाट गरिरहेका नयाँ अवतारका सुदखोरहरु जनताबाट पैसा उठाउदै आफ्नो स्वार्थ अनुकुल विभिन्न क्षेत्रमा लगानी गरिरहेको र जनताको बचत फिर्ता समेत नगरी उल्टो भागिरहेको विज्ञप्तिमा उल्लेख छ ।
जारी विज्ञप्तिमा भनिएको छ,- “जनताको पैसामाथि रजाइ गरिरहेका सहकारी संचालकहरु र संस्थाहरुको हर्कतउपर कुनै नियमन छैन । सहकारी सिद्धान्तको धज्जी उडाएर नवसुदखोरको रुपमा उदाएका सहकारी साहुहरुले जनताको बिचमा उठेका संकट र यसको समाधानको पाटो खोज्न जनताको संकट समाधानको निम्ति प्रयत्नशिल हाम्रो पार्टीसँग छलफल गर्नुको साटो कानुनको हवला दिंदै धम्कीपूर्ण विज्ञप्ति प्रकाशित गर्नुले सहकारी साहुहरुको बिक्षिप्ततालाई उजागर गरेको छ ।”
झापा जिल्लामा यिनै सहकारी मिटरब्याजी, लघुबित्त र बैंकहरुको चर्को शोषणबाट जनताहरुको जीवन तहसनहस बनेको र उजाडिएको नेकपाले बताएको छ । न्यायको सम्पूर्ण ढोकाहरु ढक्ढक्याउदै जनता केहि आशा र अपेक्षा लिएर पार्टीमा आइपुग्ने स्थिति बनेको र जनताका अप्ठ्याराहरुलाई सहज बनाउन भूमिका खेल्नु र जनताको रक्षा गर्दै जनसेवामा लागिरहनु पार्टीको दायित्व रहेको नेकपाले बताएको छ ।
विज्ञप्तिमा अगाडि भनिएको छ,– “हामी हाम्रो दायित्वमा स्पष्ट, दृढ र प्रतिबद्ध छौं । सहकारी संघले यसरी धम्किपूर्ण विज्ञप्ति निकालेर नवसुदखोर साहुको रुपमा आफुलाई चित्रित गरेर बदनामी कमाउनु भन्दा समस्याहरु के हुन्, कहाँबाट उठे र यसको समधान के हुन सक्छ भनेर सरोकारवाला सबैसँग छलफल गर्न सुझाव दिन चाहन्छौं । अन्तमा, कानुनको हवला दिंदै जनता र न्यायपूर्ण आन्दोलनमा खटिरहेको पार्टीलाई समेत धम्काउने अन्यायपूर्ण व्यवहारलाई कायम राख्ने हो भने यस्ता तुच्छ लुटेरा हर्कत विरुद्ध कारबाही संचालन गरिने चेतावनी दिन चाहन्छौं ।