१५ बैशाख २०८१, शनिबार

युवाहरु अब देश बचाउने अभियानमा लाग्नुपर्छ : विप्लव

0

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले युवाहरु अब देश बचाउने अभियानमा लाग्नुपर्ने बताएका छन् ।

काठमाडौंमा पार्टी निकट युवा संगठनको भेलामा विभिन्न पार्टी परित्याग गर्दै आउनेहरुलाई स्वागत गर्दै उनलेे यस्तो बताएका हुन् ।

नेपालमाथि अहिले चौतर्फी विदेशीहरुको हमला सुरु भएको भन्दै देश बचाउने अभियानको नेतृत्व अब आफ्नो पार्टीले गर्ने बताए ।

विप्लवले भने-‘देश बेच्नु हुँदैन/ देश बेच्न दिइदैन । जुनसुकै मन्चमा गएर अब जनतालाई सोध्नुपर्छ । हामी टायर बालेर लडौं की, चक्काजाम गरेर लडौं की बन्दुक बोकेर?’
काठमाडौंमै नेपालको ठूलो जनसंख्या रहेको भन्दै अब हरेक घरघरमा गएर कस्तो तरिकाले दलालहरुका विरुद्ध लड्ने भन्नेबारे जनतासँग अनुमति माग्नुपर्ने विप्लवको भनाई छ । आफ्नो पार्टी जनमत अनुसार अगाडि बढ्न तयार रहेको भन्दै विप्लवले जनताले हरेक मुद्धामा साथ दिनुपर्ने बताए । नेपालबाट दलाल पुजीवाद सत्तालाई ढाल्नु नै आफूहरुको अन्तिम लक्ष्य रहेको विप्लवको भनाई छ ।

फरक प्रसंगमा उनले जनतालाई आन्दोलनमा होमेर जानेहरुको कुनै मूल्य नभएको समेत बताए । आफूहरु अन्तिमसम्म पनि क्रान्तिको पक्षमा रहेर लड्ने उनको प्रतिबद्धता छ ।

महासचिव विप्लवले असन या सिंहदरबारबाट दलाल पुँजीवादको साँढे आएर एकछत्र राज गरिरहेको बताए ।
नेपालमा अहिले दलाल पुँजीवादको साँढे जनताको ढाड ढाडमा टेकेर कुदिरहेको छ’, विप्लवको भनाइ छ । उनले त्यो साँढे नेपाली जनताले चिनेको पनि बताएका छन् । विप्लवले भने, ‘यो साँढेलाई तपाई हामीले चिनेका पनि हौँ, देखेका पनि हौँ र खबरदारी गरेका पनि हौँ । यो आइराखेको अराजक साँढे छ यसले नेपाली जनतालाई लुट्नेछ ।’
उनले दलाल पुँजीवादको साँढेले नेपाली जनतालाई निल्ने र नेपाललाई बेच्नेछ भनेर आफुहरुले पहिल्यै भन्दै आएकोमा अहिले आएर पुष्टि भएको बताए । उनले दलाल पुँजीवादको साँढेलाई नत्थी लाएर रत्नपार्कमा पल्टाउने काम अबको पुस्ताको जिम्मेवारी रहेको भन्दै अहिले चलिरहेको लडाईमा नहिच्किचाईं मेहनत गर्नुपर्ने बताए । नेता विप्लवले आफ्नो पार्टीले रोल्पालाई काठमाडौंसँग जोड्ने एकीकृत जनक्रान्तिको कार्यदिशा बनाएको पनि बताए ।
उनले काठमाडौ र रोल्पामा मात्रै लड्ने कुरा नगरेर आफुले देशका सबै क्षेत्र र वर्गलाई एकीकृत गरेर जनक्रान्ति सफल हुने भएकाले ३ करोड नेपालीका लागि आवश्यक रहेको बताए । त्यसो गरे मात्रै नेपाललाई परिवर्तन गर्न सकिने बताए । त्यसका लागि युवाहरुको विशेष योगदान हुनुपर्ने बताए ।
उनले समाजवादीहरुले देश बेचेर खान लाग्दा पनि कसैलाई चिन्ता नरहेको भन्दै वीआइसीसीको हलबाट नेपाल बेच्ने कागजमा सही गरेको आरोप लगाए । उनले एमसीसी प्रकरणबारे अमेरिकालाई समेत आफुले चिठी लेखेको भन्दै उनले देश बेचुवाका विरुद्ध जनताले अनुमति दिए जुनसुकै लडाईं लड्न तयार रहेको बताए ।
‘देश बेच्न पाइँदैन, नेपाली जनतालाई थिच्न पाइँदैन । हामी कसैका गुलाम बन्न जन्मेका होइनौँ, यो कुरा हामीले चोक चोकमा भन्नुपर्छ’ विप्लवको भनाइ छ । उनले कतिपयले आफुहरुलाई संसदवादी भन्ने गरेको भन्दै त्यसो भन्नेहरु कायर, डर छेरुवा रहेको बताए ।
विप्लवले चार महिनापछि हुने नवौं महाधिवेशनबाट हतियार बोकेर दलाल पूँजीवादीलाई फाँड्नुपर्ने बताए । विप्लवले अबको चार महिना महाधिवेशनमा केन्द्रीत भएर जनताको घरघर गएर जनतासँग सहयोग र सुझाव माग्न कार्यकर्ताहरूलाई निर्देशन दिए ।
‘अब हाम्रो संगठनको पुरै ध्यान महाधिवेशनमा केन्द्रीत हुँदैछ । हामी देशभरी तल तलसम्म जाने हो । टोलटोलमा पुग्ने हो । जनतालाई अपिल गर्ने हो, नमस्कार गर्ने हो, सलाम गर्ने हो, घरघरमा जाने हो र सुझाव दिनुस् भन्ने हो’, विप्लवले भने, ‘देशको पक्षमा लड्ने कुरामा सुझाव माग्ने कुरा हो । हामीले ठूलो चन्दा माग्नुहुँदैन तर जनतालाई हाम्रो आन्दोलनमा सहभागी गराउनुपर्छ ।’ उनले क्रिश्चियन पर्चा बोकेर घरघरमा जाने गरेको भन्दै आफूहरु पनि एकीकृत जनक्रान्तिको पक्षमा लड्न कोठा-कोठामा जानुपर्ने र सात दिनसम्म चल्ने उक्त महाधिवेशनमार्फत नीति बनाएर नयाँ हतियारका साथ अघि बढ्नुपर्ने बताए ।
चार महिनापछि हामी खुल्ला मञ्चमा जानुपर्छ । ऐतिहासिक नवौं ऐतिहासिक महाधिवेशन उद्घाटन गर्नुपर्छ, सात दिनसम्म चलाउनुपर्छ नयाँ नीति बनाउनुपर्छ, विचार बनाउनुपर्छ र नवौं महाधिवेशनबाट नयाँ हतियारहरु बोकेर दलाल पूँजिवादीहरुलाई फाँड्दै हिँड्नेगरी लाग्नुपर्छ’, विप्लवको भनाइ छ । उनले भोकैनाङ्गै पनि हिँड्न सक्नुपर्ने भन्दै त्यसैका लागि आफूले २ बिगाहा जमिनमा धान रोपेर फर्केको बताए । उनले एमसीसी र एसपीपीमा कतै पनि सम्झौता गर्न नसकिने बताए ।
महासचिव विप्लवले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई मुग्लिन कटाउनुपर्ने टिप्पणी गरे ।

१२ बुँदे ब्याख्यात्मक घोषणासहित अमेरिकी सहयोग परियोजना (एमसीसी) संसदबाट पारित गर्दा थापाले अमेरिकी सेना आए आफूलाई चारपाटा मोडेर थानकोट कटाइदिए हुन्छ भनेका थिए ।
गगन थापालाई हाम्रो लाज ढाक्दिएर आउँछ भन्ने परेको थियो । महासचिव विप्लवले भने, ‘कांग्रेसका मान्छेले बुझ्नुपर्छ मालिक निर्मम हुन्छ । मालिकसँग त लड्नेहरु मात्रै टिक्छन् ।’
अमेरिकाले गगन थापाहरुलाई त धोती न टोपी बनाइदियो भन्दै उनले अघि भने, ‘उनलाई थानकोट होइन, अहिले त मुग्लिन कटाउनुपर्थ्यो ।’ एमसीसीविरुद्ध आन्दोलनमा उत्रिँदा पक्राउ परेका विद्यार्थीहरुसँग लाखौं रुपैयाँ धरौटी मागेको भन्दै उनले न्यायाधीशमाथि समेत आक्रोश पोखे । उनले भने, ‘देश बेच्न पाइँदैन भनेर आन्दोलन गर्ने युवालाई पक्रेर ३ लाख धरौटी माग्ने हो ? यो न्यायाधीश को हो ? यीनलाई त घरघर गएर थुतेर कुट्नुपर्छ ।’ विप्लवले आफ्नो पार्टी छाडेर जानेहरुलाई क्रान्तिबाट भयभित भएको र सत्ताको प्रलोभनमा परेको आरोप लगाए । ‘क्रान्तिबाट भयभित मान्छेहरु हिजो पनि थिए र आज पनि छन्,’ विप्लवले भने, ‘आज पनि एकीकृत जनक्रान्तिबाट भयभितहरु धेरै छन् । जो मान्छेहरु एकीकृत जनक्रान्तिबाट भागिरहेका छन्, उनीहरुले आजको सत्तामा र्‍याल काडेर प्रभावित भएका छन । त्यसको कुनै मुल्य छैन ।’

युवा संगठन नेपालको उक्त भेलामा सयौँ युवाहरू नेपाल कम्युनिस्ट पार्टी प्रवेश गरेका थिए भने सामना परिवारका कलाकारहरू नृत्य र गीतहरु समेत प्रस्तुत गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।