५ जेष्ठ २०८१, शनिबार

अ.ने.म. संघ क्रान्तिकारीले विभिन्न मागहरूसहित प्रधानमन्त्री प्रचण्डलाई बुझायो ज्ञापनपत्र

0

काठमाडौं: अखिल नेपाल महिला संघ क्रान्तिकारीले महिलाहरुमाथि हुने गरेका र भैरहेका विविध खाले समस्याहरुलाई बेलैमा सम्वोधन गरी महिलाहरुको सुरक्षा, आत्मसम्मान, स्वाभिमान र अधिकारको रक्षा गर्न राज्य र सरकार समक्ष जोडदार माग गर्दै प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ ।

अ.ने.म. संघ क्रान्तिकारीका अध्यक्ष बन्धु सीकाे नेतृत्वमा महिला संगठनले प्रधानमन्त्री प्रचण्डलाई महिला हिंसा, मीटरव्याज लघुवित्त, युवा पलायन र ठगीबारे तथा राष्ट्रियता सम्बन्धी विषयमा गम्भीर ध्यानाकर्षण गराएको छ ।

समाजमा दिनप्रतिदिन घट्ने महिला हिंसाका घटना, पारिवारिक विघटन र दिनहुँजसो हुने आत्महत्याका घटना जस्ता समस्याहरुको गहिरो खोज अनुसन्धान र विश्लेषण गरी समयमै समस्या समाधान पहल गर्नु राज्यको दायित्व भएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

ज्ञापनपत्रकाे पूरा पाठ यसप्रकार छ-

श्री सम्माननीय प्रधानमन्त्री ज्यू,
प्रधानमन्त्रीको कार्यालय, सिंहदरबार, काठमाडौ

विषय : ज्ञापन पत्र

विश्वमा प्रभुत्व जमाइरहेको एकाधिकारवादी पूँजीवादी अर्थप्रणालीको विश्वव्यापी प्रभावले नेपाली अर्थप्रणालीमा पारेको संकट र त्यसबाट पैदा भएको राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिक समस्याहरुले नेपाली जनताको दैनिक जनजीवन दिनप्रतिदिन कष्टकरका बन्दै गइरहेको छ । त्यसमा पनि आधाभन्दा बढी जनसंख्या रहेको महिला समुदाय बढी समस्याग्रस्त र संकटमा छ । विगतदेखि भोग्दै आएको विविधखाले शोषण, दमन, उत्पीडन र अन्यायमा वर्तमान समयको बदलिदो अर्थसम्बन्ध र उपभोक्तावादी संस्कृतिले महिलाहरुको जीवनलाई थप पीडादायी मात्र बनाएको छैन अनिश्चित भविष्य र असुरक्षित जीवनको कहालीलाग्दो अन्धकारमा धकेलिरहेको छ । समाजमा दिनप्रतिदिन घट्ने महिला हिंसाका घटना, पारिवारिक विघटन र दिनहुँजसो हुने आत्महत्याका घटनाहरु यसका ज्वलन्त उदाहरण हुन् ।
यी यावत् समस्याहरुको गहिरो खोज अनुसन्धान र विश्लेषण गरी समयमै समस्या समाधान पहल गर्नु राज्यको दायित्व हो ।
अतः हाम्रो संगठन महिलाहरु माथि हुने गरेका र भैरहेका विविध खाले समस्याहरुलाई बेलैमा सम्वोधन गरी महिलाहरुको सुरक्षा, आत्मसम्मान, स्वभिमान र अधिकारको रक्षा गर्न राज्य र सरकार समक्ष जोडदार माग गर्दै निम्न बुँदाहरुमा गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौँ ।
१. महिला हिंसा बारे :
 परिवारमा व्याप्त गरिबी, वेरोजगारी, मादकपदार्थ सेवन आदिजस्ता कारणले महिलाहरु बढी भन्दा बढी पुरुषहरुबाट घरेलु हिंसाका सिकार हुने गरेका छन् ।
 दाइजो, छाउपडी, बोक्सी जस्ता सामाजिक कुरीति र कुसंस्कारको कारणले पनि महिलामाथि हिंसा र दुव्र्यवहार मात्र होइन, ज्यान समेत लिने काम भै रहेको छ ।
 सार्वजनिक स्थल, कार्यस्थल र एक्लो अवस्थामा महिलामाथि हुने यौनजन्य हिंसा कहलीलाग्दो ढंगले बढेको छ । जसका कारण साधारण महिला हिंसा मात्र होइन, जबर्जस्त हातपात, करणी, बलात्कार र हत्या समेत हुने गरेको छ ।
 पछिल्ला दिनहरुमा नेपाली समाजमा फैलदो धार्मिक अन्धविश्वासको विस्तार र पितृसत्तात्मक सोचको  प्रभावका कारण त्यसबाटै पैदा हुने नकारात्मक पक्षको सिकार महिलाहरु नै हुने गरेका छन् ।
माथिका जुनसुकै कारणले होस् महिलामाथि हुने हिंसाले समाजको विकृत र विघटित चित्र मात्र प्रस्तुत गर्दैन देशको आधा जनसंख्या कुनै न कुनै रुपमा प्रताडित हुने स्थितिले देशको भयावह चित्र प्रस्तुत गर्दछ । त्यसकारण यो मामिलाको न्यूनिकरण र समाधानकोलागि राज्य र सरकारले यथाशिघ्र आवश्यक पहल लिन जरुरी छ ।

२. मीटरव्याज लघुवित्त बारे :
 मीटरव्याजको अवैध कारोवारले वर्षाको खहरेले बनजंगल सोहोरेर नदी किनारमा थुपारे झै मानिसहरुका धनसम्पति सोहोरेर दलालहरुको केन्द्रमा थुपारेको छ । यसबाट बढी भन्दा बढी महिलाहरु नै पीडित भएका छन् । महिलाहरुको आवश्यकता, इमान्दारिता, विवशता र सोझोपनको फाईदा उठाई उनीहरुको उठिवास लगाउने मात्र होइन आत्महत्या गर्न वाध्य बनाउने स्थिति सम्म पुगेको छ ।
 गाउँ–गाउँसम्म फैलिएका लघुवित्तहरुले बचत संकलन र ऋण प्रवाहको नाममा ज्यादती गरिरहेका छन् । घट्दो आयस्रोत, व्यवसायमा भएको घाटाका कारण समस्यामा परेका ऋणीहरुलाई अनावश्यक दवाब दिने र आतंकित पार्ने कामले महिलाहरु गाउँबाटै विस्तापित वन्ने गरेका छन ।
 च्याउ झै गठन भएका सहकारी संस्थाहरुले नियम विपरित अनुत्पादक क्षेत्रमा लगानी लगाउदा  बचतकर्ताहरुको बचत मात्रै जोखिममा परेको छैन सञ्चालकहरु समेत बेपत्ता हुने गरेका छन् । यस्ता सहकारीबाट महिलाहरु नै बढी पीडित छन् ।
नेपाली अर्थतन्त्रमा आएको संकटको अभिव्यक्तिको रुपमा प्रकट भएको मिटरब्याज, लघुवित्त र सहकारीको वेथितिका विरुद्ध पीडितहरु त निरन्तर आन्दोलनमा छन् नै, राज्य र सरकारले पनि समयमै उचित पहल लिइ समाधान गर्न जरुरी छ । अन्यथा यसले निकै बिकराल स्थिति पैदा गर्ने निश्चित छ ।

३. युवा पलायन र ठगीबारे :
 बढ्दो महंगी, आधारभूत आवश्यकताको बढोत्तरी र रोजगारीको अभावका कारण युवापुस्ता (महिला पुरुष) दिनप्रतिदिन विदेश पलायन भइरहेको छ । गाउँबस्तीहरु युवा विहिन हुदैछन् । देशको दक्ष जनशक्ति युवापंति पलायन हुनु देशकै लागि ठुलो घाटा हो ।
 समाजको अर्को विकराल समस्या भनेको युवा वा किशोरकिशोरीहरु लागुऔषध सेवन र कारोवारमा संलग्न हुनु हो । यसले स्वयं व्यक्ति, घरपरिवार, समाज र देशलाई समेत बर्वाद पारिरहेको छ ।
 युवापंतीको बिवशताको फाईदा उठाउदै लागूऔषध कारोवारीहरु, मानवतस्करहरु, रोजगारीको नाममा विभिन्न प्रलोभन देखाई ठगी गर्ने ठगहरु, त्यसमा पनि महिलाहरुलाई विदेशमा अलपत्र पार्ने, यौन हिंसाको सिकार बनाउने, काम गरेको पैसा नदिने ठगी गर्ने आदि जस्ता घटना दिनहँु घट्ने गरेका छन् ।
अतः यी समस्या समाधानकालागि राज्य र सरकारले युवा पलायन रोक्न ठोस कार्ययोजना निर्माण, लागुऔषध सेवन र कारोवारीमाथि कडा कार्वाही र त्यसको रोकथामको लागि मनोवैज्ञानिक उपचार प्रणाली, सीमाक्षेत्रको कडा नियमन र जुनसुकै खालका अपराधहरुलाई कडा भन्दा कडा कार्वाही गर्न जरुरी छ ।
४. महिला सुरक्षा र रोजगारीबारे ः
 हिजो राज्यव्यवस्था परिवर्तन गर्न चुलोचौको छोडेर हिडेका महिलाहरु आज बेरोजगार भएर सडकमा अलपत्र छन् । तिनको श्रम र समयलाई सदुपयोग गरी रोजगार सिर्जना गर्न सके देशलाई नै ठुलो फाईदा हुने स्थिति छ ।
 महिलामाथि हुने शोषण, उत्पीडन र हिंसाका बाह्य कारणहरु जे–जस्ता भए पनि त्यसको आन्तरिक र चुरो कारण भनेको महिला आत्मनिर्भर नहुनु वा हुन नसक्नु हो । महिलाहरु श्रमजीवी वर्ग हुन् तर तिनीहरुको श्रम अनुत्पादक वा आयमुलक क्षेत्रको रुपमा गणना हुदैन । जसका कारण श्रमिक भएर पनि महिलाहरु शोषित र पीडित छन् । त्यसकोलागि राज्यले मुख्य गरी ३ कुरामा जोड दिई समस्या समाधान गर्न जरुरी छ ।
* पहिलो, सरकारी, गैरसरकारी वा नीजि क्षेत्रमा समेत महिलाहरुकोलागि पुरुष बराबर रोजगारी दिने नीति बनाई लागू गर्ने ।
* दोश्रो, कृषि तथा लद्युउद्यम गर्ने र गर्न चाहने महिलाहरुलाई सहुलियत ऋण तथा अनुदानको व्यवस्था गरी उनीहरुबाट उत्पादित वस्तुहरुको बजारव्यवस्थापन राज्य वा सरकारले ग्यारेन्टी गरिदिने ।
* तेश्रो, घरेलु तथा सेवाको श्रमलाई राष्ट्रिय आयमुलक क्षेत्रका रुपमा गणना गरी उत्पादनमुलक काम सरह मान्यता दिने नीति बनाउने ।
राज्य वा सरकारले यही मात्र काम गर्न सक्ने हो भने नेपालको कुल ग्राहण उत्पादनमा वृद्धि हुन गई देशलाई ठुलो आर्थिक टेवा र श्रमिक सेवा उपलब्ध हुन सक्छ । यसले महिलाहरुको स्वाभिमान, आत्मसम्मान, अधिकार र सुरक्षाको समेत प्रत्याभूति दिलाउन सक्छ । जसले समाजवाद निर्माणको लागि आधारभूत जगको काम गर्नेछ ।
 ५. राष्ट्रियता सम्बन्धी :
 छिमेकी देशहरुबाट बारम्बार हुने सीमा अतिक्रमण, विविध बहानामा नेपालको भुगोल समेटिएको नक्सा प्रदर्शन, विवादित सीमामा एकलौटी हस्तक्षेप जस्ता कुराहरुले नेपाली जनताको सार्वभौमसत्ता र स्वाभिमानमा बारम्बर प्रश्न उठ्ने गरेको छ । यसको दिर्घकालिन समाधानको लागि नेपाल सरकारले कुटनैतिक पहल सहित राज्यको अभिभावकत्वको प्रत्याभूति जनतालाई दिनुपर्दछ ।
 राष्ट्रहित विपरित संसदबाट पास गरिएको ःऋऋ सम्झौता र त्यसको कार्यान्वयनको शुरुवातले नेपाली जनतामा आक्रोश पैदा भएको छ । यसले नेपाली जनताको आक्रोश मात्र व्यक्त गरेको छैन, छिमेकी देशहरुसंगको शक्ति सन्तुलनमा पनि असर पार्ने देखिन्छ । अतः सरकारले यस्ता राष्ट्रहित विपरितका सन्धी सम्झौता खारेज गर्दै देशको पक्षमा दह्रोसँग उभिन सक्नुपर्दछ ।
अन्तमा, हाम्रो संगठनले देखेका भोगेका र अनुभूत गरेका नेपाली समाजको वर्तमान यर्थाथता त्यसमा पनि जनसंख्याको आधा हिस्सामा रहेका महिलाहरुको जीवनको वास्तविकतालाई सिमित रुपमा मात्र उल्लेख गरेका छौँ । महिलाहरुको जीवनमा आईपरेका समस्याहरु अहिलेको देशको अवस्थाका ऐना हुन् । त्यसैले यी कुराहरुलाई समयमै ध्यान दिई समस्याको समाधानकालागि कार्यान्वयनमा पहल लिन हामी राज्य र सरकारसंग जोडदार माग गर्दछौँ ।

        बन्धु सी
         अध्यक्ष
    अनेम संघ क्रान्तिकारी
  केन्द्रीय समिति


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।