१७ बैशाख २०८१, सोमबार

राज्य जनतातिर फर्किएको छैन,जनतातिर फर्किएको समाजवादी व्यवस्था चाहिन्छः विप्लव सी

0

जुम्ला । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव यतिवेला जुम्लाको हिमा गाउँपालिको वडा नम्वर ७ हाडुल्लेमा छन । उनी पार्टीको आत्मनिर्भर अर्थतन्त्रको नीतिलाई अख्तियार गर्दै स्याउ रोप्ने कार्यमा व्यस्त छन । संसदीय व्यवस्थामा संसद भित्र भएका राजनीतिक पार्टीका नेताहरु कुर्सीको लागि हानथापमा छन । सरकार परिवर्तन गरिरहेका छन । गठबन्धन बनाउने र भत्काउने कार्यमा व्यस्त छन । तर विप्लव भने देश र जनतालाई नयाँ अर्थदृष्टिकोण दिदै उत्पादन र श्रमसंग नजोडिएको नेता र राजनीतिक पार्टीले समग्र देशको नेतृत्व गर्न नसक्ने विचार राखिरहेका छन । विप्लवले यदि आत्मनिर्भर देश भएन भने विदेशीहरुको अधिनस्थ देश बन्ने खतरा औल्याएका छन । समाजवादी मोर्चा नेपालको संयोजक समेत रहेका विप्लव राष्ट्रिय राजनीतिको एउटा आसा लाग्दो नेता हुन । उनी अनटेस्ट छन । सरकारका कुनै पनि लाभका पदमा उनी अहिले सम्म जोडिएका छैनन् । उनले एकपटक देशको नेतृत्व गर्ने र देशलाई आत्मनिर्भर बनाउने चाहान भने राखेका छन । जनताले उनीबाट ठुलो आसा र अपेक्षापनि गरेको छ । निकै दुख गरेर हिँउसंग पौठेजोरी खेल्दै जुम्लाको २९९० मिटर लग्गो ठाँउमा स्याउ लगाउन पुगेका विप्लवसंग स्याउ लगाउदै गरेको अवस्थामा हाडुल्ले पुगर जनपत्रिका डट्कमका सह–सम्पादक बसन्त विक र संवाददाता कर्ण विश्वकर्माले केही कुराकानी गरेका छन । सोही कुराकानीको सम्पादीत अंश यहाँ प्रस्तुत गरेका छौ ।

तपाई नेकपाको महासचिव हुनुहुन्छ, समाजवादी मोर्चा नेपालको संयोजक पनि हुनुहुन्छ,अहिले जुम्लाको यो विकट ठाउँमा स्याउ लगाउने अभियानमा हुनुहुन्छ,खासगरी के उद्देश्य राख्नु भएको छ ?

खासगरी, तीन वटा उद्देश्यमा जोड्न सकिन्छ,पहिलो कुरा हाम्रो पार्टीको नीति,दोस्रो देशको आवश्यकता र तेस्रो राजनीतिक आन्दोलनसंग यसलाई जोड्ने कुरा हो । पहिला,े कुरा त हाम्रो पार्टीले के नीति अगाडि सारेको छ भने आत्मनिर्भर पार्टी,आत्मनिर्भर नेता कार्यकर्ता र विस्तारै देश र जनतालाई पनि आत्मनिर्भर बनाउने हाम्रो उद्देश्य छ । त्यस हिसावले यो रोपन मात्र होइन, हामीले तराईमा चाहि बालि (धान,तोरी,गँहु ) रोपन गरेका छौ । पहाडमा चाहि फलफुलहरु (सुन्तला,कागती) इत्यादि रोपिरहेका छौ । हिमाली जिल्लाहरुमा स्याउ रोप्ने र जडिबुटी उत्पादन गर्ने काम गरिहेका छौ । दोस्रो,यो देशसंग सम्वन्धि कुरा पनि हो । हाम्रो देशमा चाहि अहिले आर्थिक एउटा संकट छ । मान्छेहरुले यसको समाधान यहि भित्रबाट खोज्ने भन्दा पनि बाहिर तिरबाट खोज्ने एउटा गलत बाटो अपनाएका छन । त्यो गलत छ ।
नेपाल आर्थिक ढंगले सम्पन्न हुन सक्ने श्रोत साधन भएको देश हो । त्यसलाई सम्पूर्ण क्षेत्रबाट जोड्यो भने यो सम्भव छ । चाहे फलफुल भन्नुहोस,चाहे खेतिपाति भन्नु होस्, विजनेश भन्नुहोस, उद्योग भन्नुहोस त्यो सम्भव छ । तेस्रो कुरा राजनीति हो । राजनीतिक आन्दोलन भनेको केबल तर्क गर्ने,गफ चुट्ने,कुरामात्र होईन,यो राजनीतिले जनता र राष्ट्रलाई माथि ल्याउने गरी भूमिका पुरा गर्नु पर्छ । तर राजनीतिलाई जनताको जीवन र श्रमसंग जोड्नुपर्छ भन्ने हाम्रो दृष्टिकोण छ । त्यो अनुसार हाम्रो काम भइरहेको छ ।

यहाँहरु स्याउ लगाउने अभियानमा लागिरहदा देशको राजनीतिक अवस्था फरक ठाँउमा छ ,मन्त्री र सरकार बदलिरहेको छ,यसप्रति नेकपाको बेवास्ता र उत्पादनमा मात्रै जोड् हो ?

होईन, होईन ! राजनीतिमा हामी हाम्रो प्रष्ट दृष्टिकोण अगाडि सारेका छौ । अहिलकेो व्यवस्थाका कारणले बर्षैपिछे सरकार ढल्ने र बन्ने,मन्त्रीहरु बदलिने केवल देशको अर्थतन्त्र चाहि माथितिर मात्रै फर्काउने संसदतिर सरकारतिर पर्केर बसाल्ने काम भईरहेको छ । त्यसले हल हुदैन । सरकार र मन्त्री बनेपनि फेरिएपनि केही त उनीहरुको हकमा त होला, तर सिंगै देशसंग त्यति महत्व राख्दैन । हामीले स्थिरता जरुरी छ भनेका छौ । तर त्यो स्थिरता भनेको चाहि नेपाली विशेषताको समाजवादबाट सम्भव छ । त्यो कुरा हामीले भनेर नै आएका छौ । फागुन २१ गते म काठमाडौं मै थिए । एउटा अन्तरक्रियामा वक्ताको रुपमा भाग लिए र छलफल पनि भयो र यसो छ यतिबेला चाहि समाजवादी मोर्चा पनि हाम्रो छ । त्यहाँ भित्र पनि छलफल चलिरहेको छ । प्रधामन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कमरेडसंग पनि छलफल चलिरहेको छ । एमाले अध्यक्ष केपी ओलीसंग पनि छलफल चलिरहेको कुरा भईहाल्यो । यी सबैकुराहरुसंग यो जोडिएकै छ ।

समाजवादी मोर्चामा एमाले आउन सक्ने सम्भावना के कस्तो छ ?

यो दिशा चाहि सकरात्मक ढंगले सोझिएको देखिन्छ । सरकारको गठबन्धले पनि मोर्चाको गतिमा या निर्माण र विस्तारमा प्रभाव पार्छ भन्ने लागेको छ । त्योमा मसाल लगायतका साथीहरुसंग छलफल चल्दैछ । एमालेसंग पनि यहाँबाट फर्किएपछि हाम्रो कुरा हुन्छ ।

खास गरेर यो कठिन ठाँउ तथा भूगोलमा आउनु भयो,सेताम्य हिमाल छ, कठिन यात्रा छ, तपाई जस्ता नेताहरु हेलिकप्टरमा अनुगमन गर्छन,हेर्छन । तपाई भने हिड्दै आउनु भएको छ । यसलाई कस्तो अनुभूति गर्नु भएको छ ?

हामीले सम्पूर्ण जीवन जनताकै बिचमा विताएका मान्छे हौं । ठुला–ठुला क्रान्ति गर्दा,जनयुद्ध गर्दा र राजनीति गर्दा हामी जनताकै बिचबाट गरेर आएका मान्छे हौं । त्यसैले हाम्रो यो जीवन पनि हो जनतासंग बस्ने । कार्यकर्तासंग श्रममा भाग लिने,देशलाई चाहि एउटा सन्देश दिनु यो हाम्रो जीवनसंग सम्वन्धित कुरा हो । यसमा हामीलाई आनन्द पनि आउछ । दोस्रो, कुरा राजनीतिलाई हेर्नुहोस हामीले जनताबाट अलग गरेर केबल सुविधाको साधन बन्न दिनु हुदैन । जनताको सेवा गर्ने साधनमा आन्दोलनलाई ,संगठनलाई र पार्टीलाई बदल्नु पर्छ हाम्रो दृष्टिकोण छ नि ! त्यस हिसावले एकदमै आनन्द लागि रहेको छ । धेरै पहिला जनयुद्धको समयमा हामीले यी पाखामा यही ठाउँमा वास बसेका हौं । बिच– बिचमा राजनीतिक छलफलमा पनि हामी भाग लिन आएका थियौ र अहिले श्रम गर्न आउदा खेरी उत्पादनमा भाग लिन आउदाखेरी अर्कै खालको आनन्द महसुस भएको छ ।

अनि स्याउ खेतिमा सरकारले सहयोग गरेन भन्दै आउनु भएको छ,सरकारले किन सहयोग गर्न सकेन ?

हैन, सरकार जनतातिर फर्केकै छैन । राज्य जनतातिर फर्केको छैन । उनीहरु कानूनको कुरा गर्छन । एकातिर स्याउको बुट्टाहरु बुढो भईरहेको छ । अर्कोतिर जनताहरुले स्याउको विरुवाहरु पाईरहेको छैन । अरु संसारमा गर भनेर राज्यले घर –घरमा चाहि प्रेरित गरिरहेको छ । यहाँ चाहि हामीले गर्छौ भन्दा पनि सरकार भागिरहेको छ । यो चाहि राज्य जनतासंग नजोडिएको र जनतातिर फर्किन अझै पनि समस्या छ र कानूनको कुरा उहाँहरुले गरिराख्नु भएको छ । कानूनले त जनताको सेवा गर्नु पर्छ नि ! यहाँ त उल्टो भइरहेको छ । यद्यपि यो पनि संघर्षको विषय हो । त्यसलाई हामीले त्यही ढंगले बझनु पर्छ । जति सक्दो हामीले अगाडि बढाउने कुरा हो । सम्भवतः आउदा बर्षहरुमा त हाम्रो आफ्नै अगुवाहरु,प्राविधिकहरु,हुनुहुन्छ,फलफुल सम्वन्धि ज्ञान भएको विज्ञहरु,साथीहरु पनि हुनुहुन्छ । यसको समाधान पनि भईहाल्छ । अब समस्या छैन ।

जुम्ला र कालिकोट जिल्लामा यो वर्ष कति संख्यामा स्याउ रोप्ने योजना छ ?

हाम्रो अहिले सायद २ हजार वरिपरि जान्छ होला । यसमा स्याउ र ओखर सबै हुन्छ । त्यो भन्दा बढी पनि जान सक्छ । तर हाम्रो भर्खरै स्याउ रोप्न आउदा बाटोमा कुडुको जनतासंग पनि छलफल चलेको छ । उहाँहरुले आफ्नो सार्वजनिक जमिन पार्टीसंग मिलेर उत्पादन गर्न तयार छौ भनेर भन्नु भएको छ । त्यो निकै २०÷३० हजार विरुवा अटाउने ठाँउ छ । त्यो हामीले हेरेका छौ । यहि वर्ष त्यहाँ पनि सुरु गर्छौ ।

अब,राजनीतिक प्रसंग,तपाईले सरकार परिवर्तनलाई कसरी लिनु भएको छ ? पार्टीको धारणा के हो ?

होईन, यो यद्यपि संसदसंग सम्वन्धित कुरा हो । तर पनि हिजोको भन्दा यो अलिकति प्रगतिशील कुरा चाहि हो भन्नु होस न । हामी त्यसरी बुझछौ । तर हामीले त राज्यकै कुरा गरिरहेका छौ । समाजवादी व्यवस्था नेपाली विशेषताको समाजवादमा देशलाई नलगे सम्म चाहि धेरै कुराहरुको समस्या हल हुदैन । अहिले त स्थिरता नै छैन त ।

स्थिरताको लागि कृषि खेतिर गरेर स्याउको बुट्टा लगाएर सम्भव हुन्छ त ?

यसले मान्छेलाई एउटा सन्देश दिन्छ । किनकी राजनीतिक सतहमा पुर्याउने त्यो खालको प्रवृति जे छ नि त्यसलाई धर्तितिर फर्काउनको लागि सहयोगै गर्छ नि ! राजनीति भनेको केबल केही मान्छेको तर्क वहस गर्ने र सीमित क्षेत्र होईन र स्याउ लगाउने कुराले एउटा सन्देश चाहि जरुरी दिन्छ ।
समय दिएकोमा धन्यवाद । धन्यवाद पत्रकार मित्रलाई पनि ।

 

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।