१७ बैशाख २०८१, सोमबार

क्यासिनाेमार्फत संचालनमा आएका अवैध धन्दा तत्काल रोक्न चेतावनी

0

झापामा सञ्चालित ठूला होटल तथा क्यासिनो नयाँ आवरणमा यौन अखडा बन्दासमेत प्रशासन मुकदर्शक भएको भन्दै नेपाल कम्युनिष्ट पार्टीले आपत्ति जनाएको छ ।

जनताबाट चौतर्फी गुनासो र उजुरी आएपछी पार्टी ब्युरो कार्यलयबाटै सचेत गराउनु पर्ने अवस्था आएको पार्टीका मेची ब्यूरो इञ्चार्ज सुमन सिंह सीले बताए । उनले एक विज्ञप्ति जारी गर्दै झापामा खोलिएका तारे होटल तथा क्यासिनोमा नयाँ आवरणमा वेश्यालय सञ्चालन गरेको भन्दै यस्तो कार्य रोक्न आग्रह गरेका छन् ।

मुलुक गम्भीर मोडमा पुगेको र राष्ट्रिय स्वाधिनता तथा जनजीवनमाथि भयानक षडयन्त्र भइरहेका बेला झापामा क्यासिनोको नाममा नेपालीलाई प्रवेश गराई खुलेआम रुपमा जुवाजन्य खेल खेलाई रहेको र गरीव तथा अवोध नेपाली चेलीहरुलाई मनोरञ्जनका लागि प्रयोग गर्ने गरेको भन्दै यस्तो कार्य रोक्न उनले आग्रह गरेका छन् ।

कालो धनलाई वैध बनाउन खुलेका तारे होटलमा नेपालका व्यवसायीहरुको पुँजी दिनहुँ लुट्दा समेत प्रहरी मुकदर्शक बनेको भन्दै सीले क्यासिनोको नाममा हुने अवैध गतिविधि रोक्न चेतावनीपूर्ण विज्ञप्ति जारी गरेका छन् ।

साना, ठूला होटलसहित तारे होटलमा हुँदै आएका कुकृत्य नरोके संघर्षका कार्यक्रमहरु रोज्न समेत आफू पछि नहट्ने विज्ञप्तिमा उल्लेख गरिएको छ । तारे होटल र क्यासिनोबाट ठगीमा परेका स्थानीय व्यापारीहरुले दिनानुदिन गुनासो गर्दै आएको र नेपाली चेलीबेटीको मोलमोलाइ र व्यापारपछि झापाका स्थानीय बजारमा भइरहेका छलफल, वित्तीय क्षेत्रमा क्यासिनोका कारण भयानक असर परेको विज्ञप्तिमा उल्लेख छ ।

क्यासिनोमार्फत नेपाली पुँजी पलायन भइरहेको भन्दै त्यसलाई रोक्न सरकार गम्भीर हुनु पर्ने विज्ञप्तिमा उल्लेख छ । चेलीबेटीको मोलमोलाई र यौनजन्य गतिविधिमा सम्लग्न गराई सिंगो झापा र झापाली लज्जित हुनबाट जोगाउन विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।

झापामा खुलेका तारे होटल र अन्य साना ठूला होटलमा हुने गरेका अवैध गतिविधि आफैंमा निन्दनीय भएको र यसलाई रोक्न झापाका राजनीतिक दल, नागरिक समाज, प्रहरी प्रशासन, सरोकारवाला निकाय सबै लाग्नु पर्ने सीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपाली चेलीबेटीलाई खेलौनाको रुपमा प्रयोग गर्दै आएको कार्य पार्टीका लागि स्वीकार्य नहुने उल्लेख गर्दै यस्तो कुकृत्य तत्काल बन्द गर्न समेत होटल सञ्चालकलाई चेतावनी दिइएको छ ।
झापामा दुईवटा पाँचतारे होटल सञ्चालनमा छन् । योसँगै अन्य दुईवटा होटलसमेत निर्माणाधीन रहेका छन् । झापा पछिल्लो चरण अन्तरास्ट्रिय स्तरका माफियाहरुको चलखेल हुने अखडा बन्दै गएको छ ।

हाल बिर्तामोड र मेचीनगरमा सञ्चालनमा रहेका दुबै तारे होटलमा खुलेआम रुपमा नेपालीले क्यासिनोमा प्रवेश गर्ने गरेको बताइएको छ । क्यासिनोमा नेपाली व्यवसायी लुटिँदा समेत स्थानीय प्रशासन मौन रहेको भन्दै पार्टीको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ । दर्जनौं ब्यापारीको उठिबास लागेको अवस्थामा नेकपाले यसरी पहल लिएपछी झापाका ब्यापारीहरुले नेकपालाई धन्यवाद दिएका छन ।

विदेशी जुवाडेलाई क्यासिनो ठेक्कामा दिने र नेपालीलाई जुवाजन्य खेल खेलाएर टाट पल्टाएपछि व्यवसायीहरु सडकमा रुँदै हिँडेको स्थितिमा समेत प्रशासन मुकदर्शक बन्नु आफैंमा दुःखद हो भन्दै विज्ञप्तिमा यस्तो हुन नदिन सबैलाई आग्रह गरिएको छ ।

तारे होटलमा हुने जुवाजन्य खेल लामो समयदेखि निर्वाधरुपमा खेलाइँदा समेत प्रशासन मुकदर्शक बन्नुले उनीहरुको समेत संलग्नता रहन सक्ने आशंका गरिएको छ । स्रोतका अनुसार दलका ठूला नेता र पहुँचवाला व्यक्तिलाई होटलले नजराना बुझाउने गरेको बताइएको छ । कतिपयलाई होटलले खाने र बस्नेको प्रवन्ध मिलाई दिएकाले तारे होटलमा हुने गरेका कुकृत्य बाहिर आउन नसकेको स्रोतको भनाइ छ । राजनीतिक दलका शिर्ष नेताहरु समेत मनोरञ्जनको निम्ति झापासम्म आउने गरेको खुलेको छ ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।