![](https://janapatrika.com/wp-content/uploads/2022/08/received_601994344635718.jpeg)
इलाम: नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड लगायत नेता कार्यकर्ता विरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको विरोधमा इलाम सदरमुकाममा मशाल जुलुस सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी इलामको आयोजनामा निकालिएको मशाल जुलुसमा बोल्दै पार्टीका केन्द्रीय सदस्य तथा इलाम इन्चार्ज सुमनसिंहले तीन बुँदेको मर्ममा राज्य इमानदार नहुने हो भने जनताको तर्फबाट पनि पक्राउ पुर्जी जारी गर्ने चेतावनी दिएका छन् । उनले पक्राउ पुर्जी खारेज नगरे जनताले पनि दलालहरु विरुद्ध पक्राउ पुर्जी जारी गर्ने, पक्राउ गरे दलालहरुलाई पनि पक्राउ गरि जनताको जेलमा थुन्ने, गोलि दागे त्यसको प्रतिवाद पनि त्यसरी नै गर्ने बताए ।
उनले महासचिव विरुद्धको पक्राउ पुर्जी अमेरिकी निर्देशनमा यहाँका कठपुतली दलालहरुले जारी गरेको बताए । कोणसभामा बोल्दै सिंहले युक्रेन युद्धमा रसियालाई तानेर ताइवानमा युद्ध सुरु गर्न खोजेको र सोही अनुसार एमसीसीको आर्थिक प्रलोभन र दबाबमा पारेर नेपालमा चीन विरुद्ध नेपालमा युद्धलाई स्थापित गर्न खोजेको आरोप लगाए । उनले एमसीसी विरुद्ध कडा रुपमा नेपालका क्रान्तिकारीहरु उभिएको हुनाले यहि शक्ति विरुद्ध षड्यन्त्र गर्दै युद्ध निम्त्याउन र चीनलाई युद्धमा तान्न खोजेको बताए
सुमनसिंहले सबै देशभक्त, क्रान्तिकारी र सच्चा लोकतन्त्रवादीहरुलाई राष्ट्रघात र जनघातका विरुद्ध उभिन आव्हान गरे । पानी झरीमा रुझ्दै प्रदर्शनमा उत्रिएका नेकपा कार्यकर्तालाई घेर्न कार्यक्रम स्थलमा प्रहरीको ठूलो संख्या आएको थियो ।