पर्सा । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी पर्सामा रहेको मधेस विश्वविद्यालय पुगेका छन् । शनिबार विहान विश्वविद्यालयमा विद्यार्थीहरुसंग आयोजित अन्तरक्रिया सहभागी भएका हुन ।
अन्तरक्रियामा सहभागी विश्वविद्यालयका विद्यार्थीहरुले नेपाली राजनीतिको अस्थिरता, अकर्मण्यता र अराजकताबारे राखेको प्रश्नमा महासचिव विप्लवले जवाफ दिएका थिए ।
जनयुद्ध र समाजवादबारेसमेत विद्यार्थी लगायत प्रोफेसरहरुले राखेका विषयमा आफ्ना भनाइहरु राखेका छन् ।
विश्वविद्यालयका विद्यार्थीले हतियारको राजनीतिको जिज्ञासा राख्दा विप्लवले बन्धुक आफूहरु संग होइन सरकारसंग भएको जिकिर गरेका थिए । सरकारले ४ अर्बको हतियार किन किनिरहेको छ ?
संसारमा सबैभन्दा धेरै हतियारकाे खेल लोकतन्त्र र मानवअधिकारको कुरा गर्ने अमेरिकाले गरिरहेको बताएका थिए ।
विप्लवले जनयुद्धमा तत्कालीन राज्यको दमनको विरुद्ध विद्रोह र हतियार उठेको जिकिर गरेका थिए ।
जनयुद्धको मुख्य उदेश्य जनताको मुद्दा स्थापित गर्ने कुरा हो,लयसमा हामी सफल भएका छौँ ।
जनयुद्ध अदालतले नमानेको एउटा प्रश्नमा विप्लवले अदालत राजनीतिक फैसला गर्ने निकाय नभएको भन्दै व्यवस्थापिकाको काम न्यायपालिकाले गर्ने विषय नैतिक नभएको बताए ।
विप्लवले मधेसको शिक्षाको अवस्थाबारे राज्यले गम्भीरतापूर्वक लिनुपर्ने समेत बताए । सरकारी अस्थिरताले शिक्षा र आर्थिक क्षेत्र तहसनहस भएको बताउदै शासकीय स्वरुप परिवर्तन गरेर मात्रै राजनैतिक स्थिरता कायम गर्न सकिने बताए ।
शासकीय र व्यवस्थापकीय प्रणाली परिवर्तन नभएसम्म मुलुक परिवर्तनको सम्भावना नभएको बताए । कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य एवम् मधेस प्रदेश इन्चार्ज अनिल सी, मधेस विश्वविद्यालयका उपकुलपति प्रोफेसर डाक्टर दिपक शाक्य लगायतको उपस्थिति रहेको थियोे ।