काठमाडौँ – वरिष्ठ पत्रकार सुदर्शनराज पाण्डेको स्मृतिमा ‘सुदर्शनराज पाण्डे पत्रकारिता पुरस्कार’ स्थापना हुने भएको छ । लामो समय विरगंजमा बसेर पत्रकारिता गरेका पाण्डेको सम्झानामा आगामी स्मृति दिवसको अवसरमा सो घोषणा हुने भएको हो ।
माघ १२ गते पाण्डेको स्मृतिग्रन्थ विमोचन कार्यक्रममा पत्रकार कविता खड्काले पत्रकार महासंघले सो काम गर्न नसके मध्य नेपाल साप्ताहिकको तर्फबाट आफ्नो संस्थाले पुरस्कार घोषणा गर्ने बताएकी थिइन् । स्मृतिग्रन्थमाथि टिप्पणीकारका रूपमा बोल्ने क्रममा खड्काले उक्त घोषणा गरेकी हुन् ।
यता, नेपाल कम्युनिस्ट पार्टी मद्येश प्रदेशले पाण्डेको स्मारक निर्माण गर्ने जनाएको छ । नेकपाका मधेश प्रदेश इञ्चार्ज अनिल सीले स्मृतिग्रन्थ विमोचन कार्यक्रममा पर्सा जिल्लाले जग्गा उपलब्ध गराए स्मारक निर्माण गर्ने घोषणा गरेका थिए ।
साथै, सुदर्शनराज पाण्डेको नाममा स्थापना हुने पुरस्कारमा मद्येश विश्वविद्यालयले पनि योगदान गर्ने भएको छ । कृति विमोचन कार्यक्रममा बोल्दै विश्वविद्यालयका उपकुलपति दीपक शाक्यले पाण्डेको नाममा स्थापना हुने पुरस्कारमा विश्वविद्यालयले पनि योगदान गर्ने बताए ।
‘पुरस्कार निश्पक्ष हुनुपर्यो, नेताका छोराछोरी, पत्रकारका छोराछोरी, नजिकका मान्छे, आफ्न्तलाई पोस्ने हो भने हुँदैन । निश्पक्ष हुन्छ भने विश्वविद्यालयले पनि योगदान गर्छ ।’, उनले भने, ‘विश्वविद्यालयबाट सम्भव भएन भने म आफै पनि योगदान गर्छु ।’