
दाङ । नेकपा निकट समाजवादी थारु राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलन बैशाख १० गते दाङमा उद्घाटन हुने भएको छ ।
समाजवादी थारु मुक्ति मोर्चाको आइतबार दाङमा बसेको केन्द्रीय समितिको पूर्ण बैठकले राष्ट्रिय सम्मेलन नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको दिनको अवसर पारेर बैशाख १० गते दाङमा उद्घाटन गर्ने निर्णय गरेको हो ।
राष्ट्रिय सम्मेलनको बन्दसत्र बैशाख ११ र १२ गते हुनेछ । थारु समुदायको पहिचान झल्किने गरी थारु जातिको लोकसंस्कृति र झाँकीसहित भव्य तयारी गरी उद्घाटनसत्रमा सहभागी हुने निर्णय भएको छ ।
मोर्चाको बैठकले राष्ट्रिय सम्मेलन भव्य एवम सान्दार रुपमा सम्पन्न गर्न तयारीस्वरुप आवश्यक जिम्मेवारी विभाजन समेत गरेको छ ।
बैठकले नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कन्चनपुर सहित ९ जिल्लाको राष्ट्रिय सम्मेलन पूर्व जिल्ला सम्मेलनहरु गर्ने, प्रतिनिधि पर्यवेक्षक छनौट गर्ने, आर्थिक तयारी गर्ने लगायतका विभिन्न निर्णयहरु गरेको मोर्चाले जनाएको छ ।
बैठकलाई नेकपाका स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज सन्तोष सीले सम्बाेधन गर्दै नेपालमा दलाल पुँजीवादको प्रमुख समस्या भएकाले त्यसको अन्त्य विना कुनैपनि उत्पीडित जाति क्षेत्रको मुक्ति नहुने बताए ।
उनले सबै जातिको अधिकार समाजवादले दिने दाबी गर्दै नेपाली विशेषताको समाजवादी व्यवस्थाको स्थापनका लागि थारु समुदायहरु एकताबद्ध हुनुपर्ने जिकिर गरे ।
नेता सन्तोषले नेपालमा साम्राज्यवादीहरुले विभिन्न जातजातिहरुबिच विभाजन ल्याएर आफ्नो स्वार्थ पूर्ति गर्ने षड्यन्त्र गरिरहेको भन्दै त्यसप्रति थारु समुदायहरुसहित सबै सचेत हुनुपर्ने बताए ।
मोर्चाका संयोजक नाथूराम चौधरीको अध्यक्षतामा बसेको बैठकमा ९ जिल्लाबाट सहभागी केन्द्रीय समितिका सदस्यहरुको सहभागिता रहेको थियो ।