
दाङ । दाङमा विप्लव सी नेतृत्वको नेकपाले जिल्लाव्यापी जनआन्दोलन दिवस मनाएको छ ।
आइतबार नेकपाले पञ्चायती व्यवस्था र राजतन्त्रको विरुद्धको चैत्र २४ गतेको ऐतिहासिक जनआन्दोलन दिवस मनाएको हो ।
नेकपाले जिल्लाका प्रमुख शहरहरुमा प्रदर्शनसहित कोणसभा गरि जनआन्दोलन दिवसको कार्यक्रम सम्पन्न गरेको नेकपा दाङका सेक्रेटरी तिलक सीले बताए ।
तुलसीपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय प्रतिनिधि सदस्य एवम तुलसीपुर उपमहानगर कमिटीका सेक्रेटरी रुद्र सीले चैत २४ को ऐतिहासिक पृष्ठभुमिलाई स्मरण गर्दै नयाँ क्रान्तिको थालनी गर्ने दिनको रुपमा बुझ्नुपर्ने बताए ।
उनले भने– ‘चैत २४ लाई सम्झिदै गर्दा नयाँ संघर्षको थालनी गर्ने, नयाँ क्रान्तिको थालनी गर्ने, नयाँ तयारी गर्नको लागि यस्ता आन्दोलनहरुलाई स्मरण गर्छौं । अहिले यो दिवसलाई मनाइरहँदा हाम्रो तयारी भनेको समाजवादी व्यवस्थाका लागि हो । हामी नेपाली विशेषताको समाजवादका लागि संघर्षरत छौँ ।’
देशमा राजावादी र गणतन्त्रवादीहरुको बिचमा टक्कर परिरहेको सन्दर्भमा बोल्दै नेता रुद्रले भने,–‘अहिले दुई शक्तिलाई लडाएर तेस्रो शक्तिले हालिमुहाली गर्ने त होइन भन्ने स्थिति छ । हामीले भनेका छौँ जनताको अभिमतबाट निर्णय गर्ने हो भने दलाल पुजीवादी व्यवस्था र समाजवादी व्यवस्थाको भनेर जनमतसंग्रह गरौं भन्ने कुरा हो । हाम्रो पार्टीको जनतालाई अपिल छ यो देशको मुख्य समस्या भनेको यो व्यवस्था को हो त्यसैले अहिलेको आर्थिक, राजनीतिक, सांस्कृतिक लगायत तमामखाले समस्याको समाधान नेपाली विशेषताको समाजवाद हो ।’
जनआन्दोलन स्मृति दिवस कार्यक्रमको सहजीकरण नेकपाका दाङ जिल्ला सचिवालय सदस्य नविन सीले गरेका हुन् ।