
नेपालगञ्ज । सामना सांस्कृतिक परिवारको केन्द्रीय अभियान टिमले समाजवादी चेतना फैलाउदै नेपालगञ्जमा भव्य सांस्कृतिक कार्यक्रम गरेको छ ।
‘हामी गाईरहन्छौँ क्रान्तिका गीत, समाजवादका लागि सामना सांस्कृतिक अभियान’ भन्ने मूल नारासहित सामनाले नेपालगंजको सिएसटी होटेलको हलमा सोमबार भव्य सांस्कृतिक कार्यक्रम गरेको हो ।
कार्यक्रम ‘हाम्रो धेरै माया छ, हाम्रो धेरै सम्मान छ, देशभक्त क्रान्तिकारी योद्धाहरुलाई’ भन्ने स्वागत गीतबाट सुरु भएको थियो ।
कार्यक्रममा बरिष्ठ जनवादी गायक मणी थापा, माइला लामा, रमण थामी, आरोह सी लगायतका कलाकारहरुले दलाल पुँजीवादी व्यवस्थाले गर्दा नेपालमा जनताले दु:ख पाएको भन्दै समाजवादी व्यवस्था अनिर्वाय भएको भावका गीत तथा नृत्यहरु प्रस्तुत गरेका थिए ।
सामना परिवारका कलाकारहरुले ‘समाजवादको आउदैछ लहर, जगाउदै गाँउ बस्ती सहर ! ए साथीहरु मुक्तिको यात्रा रोक्नु हुँदैन, हाम्रो आस्थाको शिखर झुक्नु हुँदैन ! तिम्रा लागि बन्दुक बोकेका हौं ! जुट्ने बेला भयो, उठने बेला भयो ! ’ जस्ता मार्मिक जनवादी गीत संगीत तथा नृत्यहरु प्रस्तुत गरेका थिए ।
कलाकारहरुले विभिन्न भेषभुषा अनुसार पूर्वी संस्कृति, मध्य भागमा गाइने संस्कृति, थारु संस्कृति, पश्चिमको टप्पा, अपेरा लगायतका विभिन्न रोचन प्रस्तुतिहरु राखेका थिए ।
सांस्कृतिक कार्यक्रममा सहभागीहरु कतिबेला निकै भावुक त कतिबेला निकै हर्षित हुने गरेका थिए ।
कार्यक्रममा सांस्कृतिक योद्धा मणी थापाले राजावादी तथा प्रतिगामीहरुलाई चुनौती दिदै रचना गरेको गणतन्त्र सम्वन्धिको गीत गाउँदै ‘तिम्रा लागि बन्दुक बाेकेका हौँ, तिम्रा लागि सहिद भएका हौं, तिम्रा लागि जेल बसेका हौँ, तिमीबाट न्याय खोजेका हौँ, तिमीबाट समानता खोजेका हौँ,तिमीबाट प्रगति खोजेका हौँ’ भन्ने मिठो गीत गाउँदै गर्दा हल थप हर्षित भयो ।
वरिष्ठ जनवादी गायक तथा पूर्व मन्त्री थापाले गीत गाउँदै बुढादेखि बच्चासम्मलाई निकै खुसी पारे । उनको बुढेसकालको चम्किलो उर्जाले कार्यक्रममा सहभागीहरुलाई समेत थप उर्जा प्रदान गरेको थियो । कार्यक्रममा वरिष्ठ जनवादी कलाकार माइला सीले सांस्कृतिक कार्यक्रमको उद्घोषण गर्दै जनयुद्धलाई हिंसा भन्नेहरुलाई कडा चुनौती दिए । उनले गरिब जनताको व्यवस्था अझै आइनसकेको दाबी गर्दै नेपाली विशेषताको समाजवादले मात्र गरिबहरुको व्यवस्था आउने बताए । कार्यक्रममा कोहलपुर नेपालगंज क्षेत्रका सयौ दर्शकहरुको सहभागिता रहेको थियो ।