२८ मंसिर २०८२, आईतवार

कम्युनिष्ट आन्दोलन समाप्त पार्ने साम्राज्यवादी षड्यन्त्र छ : विप्लव सी

0

काठमाडौँ । नेकपा (माओवादी) का महासचिव विप्लव सीले नेपालमा कम्युनिष्ट आन्दोलन समाप्त पार्ने साम्राज्यवादी षड्यन्त्र चलिरहेको खुलासा गरेका छन् ।
नेकपा (माओवादी) बागमती प्रदेशको वैचारिक तथा राजनीतिक प्रशिक्षण कार्यक्रमलाई बिहीबार काठमाडौँमा सम्बाेधन गर्दै महासचिव विप्लव सीले नेपालको कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने साम्राज्यवादी षड्यन्त्र चलिरहेको खुलासा गरेका हुन् ।
महासचिव विप्लव सीले जेनजी आन्दोलनपछि नेपालका कम्युनिष्टहरुमा देखिएको सैद्धान्तिक विचलन र भागदौडको अवस्थाभित्र साम्राज्यवादी षड्यन्त्रको प्रभाव देखिएको दाबी गरे ।
‘अमेरिकी र भारतीय साम्राज्यवादको नेपालका कम्युनिष्टहरुलाई समाप्त पार्ने षड्यन्त्र छ, नेपालका कम्युनिष्टहरुलाई विचार र सिद्धान्तबाट अलग गरेर कम्युनिष्ट सक्ने नीति छ’ महासचिव विप्लवले भने, ‘जेनजी आन्दोलनपछि माओवादी पहिचान मेट्ने गरी प्रचण्डहरुले सिद्धान्त परित्याग गरि पार्टी एकता गरे, यसले साम्राज्यवादीहरु खुसी भएका छन् । अझै कम्युनिष्ट नाम र रातो झण्डा हटाउन साम्राज्यवादी शक्तिको दवाब र षड्यन्त्र छ, यसलाई रोक्ने नेकपा माओवादी बाहेक नेपालका कोही पनि कम्युनिष्ट पार्टीहरु छैनन् ।’
महासचिव विप्लवले अमेरिकी र भारतीयको हस्तक्षेप रोक्ने प्रस्ताव र योजना एकमात्र नेपालको राष्ट्रवादी र जनप्रिय पार्टी नेकपा (माओवादी) सँग रहेको दाबी गरे ।
उनले जेनजी आन्दोलनका मुद्दा सही भएपनि साम्राज्यवादी षड्यन्त्रका कारण हाईज्याक भएको टिप्पणी गरे ।
‘माओवादीसँग भएको विचार र प्रस्तावले मात्र साम्राज्यवादी षड्यन्त्र रोक्न सकिन्छ, अहिले कोही पार्टीसँग साम्राज्यवादी षड्यन्त्र रोक्ने प्रस्ताव छैन’ उनले भने, ‘जेनजी आन्दोलनमा घुसपैठ भयो, पश्चगामी र साम्राज्यवादी घुसपैठले गर्दा जेनजीको आन्दोलन निश्कर्षविहिन भयो । यसलाई हाम्रो पार्टीले निर्णायक गराउनु पर्छ ।’
उनले जेनजीहरुसँग सहकार्य गर्नुपर्ने भन्दै स्पष्ट दृष्टिकोणसहित माओवादी पार्टीले उठाउदै आएका मुद्दा र जेनजीका मुद्दा कार्यान्वयन गर्नु पर्ने विचार राखे ।
‘हामीले उठाएका कतिपय प्रस्तावहरु जेनजीहरुले पनि उठाउन थालेका छन्, नेपालमा ५०० र १००० का नोटहरु बन्द गर्ने कुरा, सर्वपक्षिय सरकारको कुरा, संविधान संशोधन र पूर्नसंरचनाको कुरा, उच्चस्तरिय छानविन आयोगको कुरा यो हाम्रो पार्टीको प्रस्ताव हो’ महासचिव विप्लवले भने ।
महासचिव विप्लवले नेकपा माओवादी आउने चुनावमा भाग लिन तयार भएको र नेपाली जनताले आफ्नो पार्टीलाई जिताउने पनि विश्वास व्यक्त गरे ।
नेताकार्यकर्तालाई आ-आफ्नो कर्तव्य पूरा गर्न निर्देशन दिदै महासचिव विप्लवले नेपालमा स्पष्ट विचार, सिद्धान्त र कार्यक्रम विना कुनैपनि पार्टीसँग एकता हुन नसक्ने जिकिर गरे ।
महासचिव विप्लवले एकताको लागि नयाँ कम्युनिष्ट केन्द्र बनाउने र वैज्ञानिक समाजवादमा जाने सर्तमा सिद्धान्त परित्याग नगरी एकता गर्न आफुहरु सधैँ खुल्ला भएको पनि बताए ।
उनले आर्थिक व्यवस्थापनका हिसाबले अन्तीमसम्म टिक्ने नेपालका राजनैतिक पार्टीहरुमा एउटा एनजीओबाट चल्ने पार्टी, अर्को सरकारको पैसा र पावरबाट चल्ने पार्टी र अर्को आफ्नै उत्पादनबाट चल्ने पार्टी गरी तीनवटा पार्टीमात्र रहने दाबी गरे ।
महासचिव विप्लवले श्रम र उत्पादनबाट आत्मनिर्भर भएर चल्ने पार्टी मात्र नेपाली जनताको पक्षमा लड्ने पार्टी हुने ठोकुवा गर्दै त्यस्तो पार्टी नेकपा (माओवादी) मात्र हुने बताए ।
प्रशिक्षण कार्यक्रम पार्टी प्रवक्ता तथा बागमती प्रदेशका इन्चार्ज प्रकाण्ड सीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रम सुरु हुनुअघि महासचिव विप्लवलाई पार्टी प्रवक्ता प्रकाण्ड सी लगायतका केन्द्रीय नेताहरुले भव्य स्वागत गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।