१५ चैत्र २०८०, बिहीबार

जनगायक जेवी टुहुरेको स्मृतिमा ‘संगीत श्रद्धा–सुमन’ कार्यक्रम सम्पन्न

0

काठमाडौं: आफ्नो सम्पूर्ण जीवन देश र जनताको मुक्तिका लागि जनसंगीतको क्षेत्रमा बिताएका अग्रज जनगायक जेवी टुहुरेको स्मृतिमा “संगीत श्रद्धा–सुमन” कार्यक्रम सम्पन्न गरिएको छ । भाद्र १० गते जनगायक जेवी टुहुरेको स्मृति दिवस थियो । २०७८ भाद्र १० गते जनगायक टुहुरेको निधन भएको थियो । जनसंगीतकर्मीहरुको साझा संस्था संगीत अभियात्राको आयोजनामा २०७९ भाद्र १० गते काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरको सभाहलमा जनगायक जेवी टुहुरेको प्रथम स्मृति दिवस सम्पन्न गरिएको हो ।

जनगायक जेवी टुहुरेको फोटोमा पुष्पगुच्छा अर्पण गर्नु अघि कार्यक्रममा जनकलाकारहरु माधव प्रधान, मणि थापा, विरप्रसाद भन्सारी, उदय श्रेष्ठ, माइला लामा, निलिमा पुन र प्रगति महराले सामूहिक स्वरमा अन्तर्राष्ट्रिय गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा अग्रज जनकलाकार तथा पाज्ञ रायन श्रेष्ठले मन्तव्य राख्दै नेपालको प्रगतिशील सांस्कृतिक आन्दोलनमा जनगायक जेवी टुहुरेले पुर्याउनु भएको योगदानको चर्चा गर्दै निरन्तर जनसंगीतको पथमा अगाडि बढ्नु नै जेवी टुहुरेप्रति सच्चा श्रद्धाञ्जली हुने बताएका थिए । अग्रज जनगायक रायन श्रेष्ठको मन्तव्यपछि जनकलाकारहरुले आफ्नो सांगीतिक प्रस्तुति प्रस्तुत गरेका थिए ।

सांगीतिक प्रस्तुतिको शुरुमा जनगायक जेवी टुहुरेकै गीतहरु पुराना तथा नयाँ जनकलाकारहरुले प्रस्तुत गरेका थिए । कार्यक्रममा जनगायक जेवी टुहुरेको चर्चित गीत “आमा दिदी बहिनी हो” जनगायिकाहरु निलिमा पुन, प्रगति महरा र केशरी घर्ती ‘एलिना’ ले संयुक्त रुपमा गाएका थिए । जगायक जेबि टुहुरेका चर्चित गीतहरु “बसाई हिड्नेको तातीले” सुशिल सिंह ठकुरीले, “जनता सबै देशलाई” विरप्रसाद भन्सारीले , “बसन्त आयो”, माधव प्रधानले, “कोशीमा पानी सलल”, चिरन पुन, प्रगति महरा र एलिनाले गाएका थिए । जनसंगीतकर्मी उदय श्रेष्ठले कार्यक्रममा वरिष्ठ प्रगतिवादी गीतकार श्याम तमोटका शब्द र आफ्नो संगीतमा एल्वममा जेवी टुहुरेले गाउनु भएको गीत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा अग्रज जनगायक जेवी टुहुरेले निकै मन पार्नु हुने जनगायक जीवन शर्माको “झरनाको चिसो पानी” बोलको गित जनगायिका निलिमा पुन, लक्ष्मी रिजाल ‘उदय’ र अनु शर्माले प्रस्तुत गरेका थिए । जीवन शर्मासँगै मञ्चहरुमा कार्यक्रम गर्दा जेवी टुहुरे उक्त गीतमा नाँच्ने गरेको स्मरण गर्दा जनगायिका निलिमा पुन स्वयं निकै भावुक बनेकी थिइन् । गीत गाउँनु अघि जनगायिका पुनको आँखाभरी छचल्किएको आँसु र भक्कानिएको स्वरबाट दर्शक दिर्घा समेत भावुक बन्न पुगेको थियो ।

यस्तै कार्यक्रममा जनगायक लक्ष्मी रिजाल उदयले चिनियाँ साहित्यकार लुसुनको कवितालाई जनगायक जीवन शर्माद्वारा संगीतबद्ध गरिएको “यो संसारमा जन्मिएर मैले” बोलको गीत, जनगायिकाहरु प्रगति महरा र केशरी घर्ती एलिनाले “कहिले हिमचुली” बोलको गीत र जनगायिका कुस्मिता दर्लामीले क्रान्तिकारी उर्जा दिने गीत प्रस्तुत गरेका थिए । वरिष्ठ प्रगतिवादी गीतकार श्याम टमोटले संक्षिप्त गहन मन्तव्य राख्दै “संगीत श्रद्धा–सुमन” कार्यक्रमको समापन गरेका थिए ।

स्मरण रहोस् जनसंगीतकर्मीहरुको साझा मञ्चका रुपमा अघि बढिरहेको संगीत अभियात्राले यस अघि नेकपाका संस्थापक महासचिव पुष्पलाल स्मृति दिवसका दिन ‘संगीत समर्पण’ कार्यक्रम सम्पन्न गरेको थियो । त्यस अघि संगीत दिवसका दिन पनि जनकलाकारहरुले एउटै मञ्चबाट संयुक्त प्रस्तुति दिएका थिए । संगीत–श्रद्धासुमन संगीत अभियात्राको तेस्रो कार्यक्रम हो । आगामी दिनमा पनि यस्तै विशेष दिनहरु पारेर जनकलाकारहरुको संयुक्त प्रस्तुतिलाई निरन्तरता दिइने संगीत अभियात्राका अभियात्री चिरन पुनले बताए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।