१५ चैत्र २०८०, बिहीबार

बहिनी बस चलाउने, दिदी भाडा उठाउने: छोराछोरी गाडी नचलाउनु भन्छन दिदी बहिनी मान्दैनन्

‘गाडीका ‘स्टाफ’ हुन् भन्ने थाहा नपाएर होला कहाँ जाने हो भनेर सोध्दा यात्रुले किन भनेर समेत भन्छन्,’ गाडी चालक निमा भन्छिन्, ‘सुरुसुरुमा कोही त महिला चालक र सहचालक देखेपछि सिटमा बसिसकेका यात्रु पनि झर्ने गरे तर अहिले चिनेका मानिस खोजिखोजी हाम्रै गाडीमा आउँछन् ।’

0

 

रुपन्देही । त्यति ठूलो गाडी कसरी चलाउँदा हुन् ? कसरी रोक्न सकिन्छ होला ? सानो छँदा यस्तै कौतूहल राख्थिन् कपिलवस्तुकी निमा सारु । उनको सपना थियो–साँच्चै ठूलो भएपछि गाडी कुदाउने । सीप भए जुनसुकै पेसाबाट सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरण उनले प्रस्तुत गरेकी छन् ।

अनि उनलाई सहचालक बनेर सघाइरहेकी छन् सहोदर दिदी शान्ता मल्लले । बुटवल–कृष्णनगर रुटमा सार्वजनिक बस चलाउने निमा आफू सबैका लागि उदाहरण बनेको बताउँछिन् । हरेक दिन बुटवलको अस्पताल लाइन र पुरानो बसपार्कमा लु१ज २८१२ नम्बरको सारू ट्राभल्स गाडी रोकेर निमा र शान्ता यात्रु खोजिरहेका भेटिन्छन् ।

निमा गाडीको चालक सिटबाट यात्रुतर्फ आँखा डुलाउँछिन् भने शान्ताले यात्रुहरू”लाई आग्रह र अनुरोध गर्दै आफ्नो बसतिर तान्ने प्रयास गरिरहेकी हुन्छिन् । वरिपरि हेर्ने मान्छेहरू भने अचम्म मानिरहेका हुन्छन् । निमा र शान्ता सहोदर दिदीबहिनी हुन् । कपिलवस्तु वाणंगगा नगरपालिका–८ का यी दिदीबहिनीले यात्रुलाई सेवा दिन थालेको आठ वर्ष बित्यो ।

‘गाडीका ‘स्टाफ’ हुन् भन्ने थाहा नपाएर होला कहाँ जाने हो भनेर सोध्दा यात्रुले किन भनेर समेत भन्छन्,’ निमा भन्छिन्, ‘सुरुसुरुमा कोही त महिला चालक र सहचालक देखेपछि सिटमा बसिसकेका यात्रु पनि झर्ने गरे तर अहिले चिनेका मानिस खोजिखोजी हाम्रै गाडीमा आउँछन् ।’

प्रायः पुरुषले गर्ने काम चालक र सहचालकमा महिलालाई देख्दा मानिसहरू छक्क पर्नु स्वाभाविक नै मान्छिन् निमा । निमाले बसको ‘स्टेरिङ’ घुमाएको यात्रु हेरिरहन्छन् । २०५३ सालमा तत्कालीन प्रवेशिका परीक्षा (एसएलसी) उत्तीर्ण भएपछि घर परिवारले वाणगंगाका धनबहादुर सारूसँग निमाको विवाह गरिदिए ।

१६ वर्षको उमेरमै बिहेपछि केही वर्ष बालबच्चा हुर्काउँदैमा उनको समय बित्यो । त्यसपछि उनले गाउँको एउटा सहकारीमा कार्यालयको ‘क्यासियर’ का रूपमा काम गर्न थालिन् । त्यसका लागि उनले स्कुटर चढेर जानुपर्ने भयो ।स्कुटर लाइसेन्स अनिवार्य भयो उनलाई । २०७० सालमा लाइसेन्स निकालिन् । गाडी चलाउने सपना त मनमा छँदै थियो ।

२०७१ सालमा बुटवलको एक इन्स्टिच्युटबाट गाडीको लाइसेन्सका लागि आवेदन फाराम खुलेको थाहा पाइन् । सवारीचालक अनुमति पत्र (लाइसेन्स) को आवेदन दिएपछि गाडी चलाउन सिक्न थालिन् । लाइसेन्स ट्रायल परीक्षा पास गरेपछि पहिलो पटकमै गाडीको लाइसेन्स निस्कियो । त्यसपछि गाडी हाँक्ने उनको हौसला बढ्दै गयो ।

उनले पति धनबहादुरलाई भनिन्, ‘अब मैले गाडी चलाउन गाडी किन्नुपर्‍यो ।’ पतिले सहजै स्वीकार गरे । २०७२ वैशाखमा गाडी (विङ्गर) किनियो । सुरुमा घरबाट राजमार्गसम्म गाडी लगिन् उनले । तर राजमार्गमा चलाउन डराइन् । चालक जागृत श्रेष्ठलाई राखेर आफू सहचालक भइन् ।

चालकको पूर्ण विश्वास नहुने, घर गए आउने ठेगान नहुने हुँदा उनलाई हैरानी पनि भयो । चालकलाई तलब दिनुभन्दा आफूले गाडी चलाउने र दिदीलाई सहचालक बनाएर अगाडि बढ्न थालिन् । त्यसपछि सुरु भएको हो दिदीबहिनीको गाडी यात्रा ।

पतिको साथ र समर्थनले नै आफू बस चालक बन्न सफल भएको निमा बताउँछिन् । ‘मेरो श्रीमानले प्रोत्साहन र समय दुवै दिनुभयो । गाडी किनिदिनुभयो । त्यसैले म आज सार्वजनिक गाडीको चालक हुन सफल भएँ,’ निमाले भनिन् । निमाका पति धनबहादुर बिजुलीका काम गर्छन् ।

दिदीबहिनी बिहानदेखि रातिसम्म सडकमै हुन्छन् । साँझ ८–९ बजेसम्म उनीहरू सडकमै हुन्छन् । दैनिक निश्चित रुटमा कम्तीमा तीन ट्रिप चलाउनुपर्छ तर रुट कहिले कहाँ, कहिले कहाँ ? अर्घाखाँचीबाट शान्ताको परिवार पनि निमाको नजिकै बसाइसराइ गरी आएको हो । उनीहरूको मूल घर (जन्म) अर्घाखाँचीको छत्रदेव केरुङ्गामा हो ।

शान्ताका पति रोजगारीको सिलसिलामा भारतमा छन् । बहिनीको प्रस्तावमा दिदी शान्ताले पनि साथ दिइन् । अहिले बहिनी गाडीमा लोकदोहोरी गीत घन्काउँदै गाडी कुदाउँछिन्, दिदी भाडा उठाउँछिन् । ‘के थाहा लेखेको के रहेछ, आखिर हामी दिदीबहिनी गाडी लाइनमा आउँछौं भन्ने,’ शान्ता भन्छिन् ।

बहिनी निमाको इच्छाशक्ति, कामप्रति रुचि र प्रतिबद्धताले नै पुरुष दबदबा रहेको यातायात क्षेत्रमा चुनौतीको सामना गर्दै सफल भएको शान्ताको भनाइ छ । ‘काममा लाग्नुपर्छ, अघि बढ्नुपर्छ भन्ने कुरा सधैँ भित्री मनमा बहिनीको थियो,’ शान्ता भन्छिन्, ‘अहिले आएर मलाई पनि यसैमा जोड्न सफल भइन् ।’

आफ्नो मेहनत, परिश्रमले दिदीबहिनीले फड्को मारेका छन् । निमा उमेरले ४१ वर्ष र शान्ता ४२ वर्षकी भइन् । आफ्नो पेसाप्रति दिदीबहिनी पूर्ण सन्तुष्ट छन् । ‘महिलाले पनि पुरुषसरह काम गर्न सक्छन् भनेर देखाउन पाउँदा आफूलाई गर्व लाग्छ,’ निमा भन्छिन् ।

अहिले गाडीबाट सबै खर्च कटाएर निमाको मासिक एक लाख रुपियाँभन्दा बढी कमाइ हुन्छ । ‘तेल महंगो भएको छ । खर्च धेरै छ, मर्मत सम्भारमा पनि खर्च धेरै लाग्न थाल्यो, सबै खर्च कटाएर दैनिक ४५ सयदेखि पाँच हजार रूपैयाँसम्म बचत हुन्छ,’ उनले भनिन् ।

पहिलो कोरोना महामारी आउनुभन्दा अगाडि नै निमाले गाडीको किस्ता तिरिसकेकी थिइन् । ‘धन्न कोरोना अगाडि गाडीको किस्ता तिरेर सकिएको थियो । एक वर्ष गाडी थन्किँदा के हुन्थ्यो होला हालत ?,’ निमाले विगतमा यातायात क्षेत्रले भोगेको समस्या सम्झिइन् ।

निमाका दुई छोरी र एक छोरा छन् । ठूलो छोरी २४ वर्षकी भइन् । छोरा १७ वर्षका भए । निमालाई छोराछोरीले गाडी नचलाउन सुझाव दिन्छन् तर निमा आफूले सक्ने उमेरसम्म गाडी लाइनमै काम गर्ने सोचमा छिन् ।

‘मैले गाडी चलाउँदा छोराछोरीलाई लाज भयो रे त्यहीँ भन्छन् तर मैले सक्ने उमेरसम्म गाडी चलाउने हो,’ उनले हौसलाका साथ भनिन् । महिला चालकको रूपमा बुटवल यातायात प्रालिले निमालाई सम्मान समेत गरेको छ ।

निमाले राम्रो गाडी चलाउँछिन् भन्ने सुनेपछि आजभोलि गाडीको ‘क्यू’ बाहिरको समयमा पनि उनी रिजर्भमा टाढा–टाढासम्म पुग्छिन् । ‘रिजर्भमा जाने हो भनेर फोन गर्छन् । कहिले सुपादेउराली, कहिले सौराहा त कहिले दाङ–घोराही हुँदै बर्दियासम्म पनि पुगेकी छु,’ उनले भनिन् ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।