८ बैशाख २०८१, शनिबार

नेपाल कम्युनिस्ट पार्टी दोलखाको दोस्रो पूर्ण बैठक सम्पन्न, महाधिवेशनबाट निर्वाचित नेताहरूलाई सम्मान

0

दोलखा: नेपाल कम्युनिस्ट पार्टी, जिल्ला समिति दोलखाको दोस्रो पूर्ण बैठक २०७९ साल मंसिर २९ र पुस १ मा सम्पन्न भएको छ । दोलखाको सदरमुकाम चरिकोटमा अवस्थित पार्टीको सम्पर्क कार्यालयमा भएको उक्त बैठक पार्टीका केन्द्रीय सदस्य एवम् दोलखा जिल्ला इन्चार्ज प्रेम सीको प्रमुख आतिथ्यतामा, केन्द्रीय सल्लाहकार यादव सीको आतिथ्यता र पार्टीका वैकल्पिक केन्द्रीय सदस्य एवम् दोलखा जिल्ला सेक्रेटरी अर्जुन सीको अध्यक्षतामा भएको थियो । बैठकमा केन्द्रीय प्रतिनिधि सदस्यद्वय राजकुमार सी र जय बहादुर सी लगायत जिल्ला समिति सदस्यहरूको उपस्थिति रहेको थियो ।

उक्त बैठकमा रिपोर्टको सश्लेषण एवम् भाव सम्प्रेषण गर्दै  प्रेम सीले विचार, लक्ष्य, त्याग, बलिदान र समर्पण र निष्ठावान इमान्दार नेता-कार्यकर्ताको दृष्टिले दोलखा जिल्लामा सबैभन्दा श्रेष्ठ पार्टी नेपाल कम्युनिस्ट पार्टी रहेको बताए । वैज्ञानिक समाजवाद स्थापनाको महान् सपना पूरा गर्न संचालित एकीकृत एकीकृत जनक्रान्तिले नै दोलखाली न्यायप्रेमी एवं श्रमिक जनताको मुक्ति र प्रगति सुनिश्चित गर्ने र त्यसको निम्ति आवश्यक परेमा बलिदानको कोटा चुक्ता गर्ने पार्टी नेपाल कम्युनिस्ट पार्टी रहेको बताए । संसद्वादी पार्टीहरू जनघाती एवं भ्रष्ट तत्वमा पतित भैसकेको र तिनकै कारण देश र जनताले कहालीलाग्दो दुःख बेहोर्नु परेको बताए । त्यसैगरी भदौको च्याउसरी उम्रिएका नयाँ संसद्वादी पार्टीहरू पनि दलाल व्यवस्थाका नयाँ जोगी मात्रै भएकोले कोहीपनि भ्रममा पर्नु नहुने बताए । संसदवादी राष्ट्रघाती दलालहरूकाका विरुद्धमा सशक्त ढङ्गले लड्नका निमित्त जिल्ला पार्टीलाई निर्देशन दिए ।

उनले साम्राज्यवादीहरुले राज्य मेसिनरीलाई कब्जा गरेर उसको रणनैतिक स्वार्थ पूरा गर्ने दलालहरु छान्न चुनावको आयोजना गरेको भएतापनि बहुमत देशभक्त क्रान्तिकारी जनता सहभागी भएनन् । नेकपाको चुनाव खारेजी नीति र जागरण अभियानले यो दलाल व्यवस्थाको अन्त्य गरेर समाजवाद स्थापना होस् भन्ने जनताको आकांक्षालाई नेतृत्व प्रदान गरेको बताए । उक्त सपनालाई ८० को दशकमै नेकपाले पूरा गर्ने गरी अघि बढिरहेको बताए । चुनावलाई पार्टीले खारेज गरेको र दोलखा जिल्लामा पार्टीको चुनाव खारेज अभियान शानदार रुपमा सफल भएको बताउदै चुनाव खारेजका लागि अहोरात्र खट्ने नेता, कार्यकर्ताहरु र जनतालाई धन्यवाद दिए । मन्तव्यका क्रममा उनले चुनाव खारेज अभियानले देशभक्त क्रान्तिकारी धारा स्थापित भएको बताए । एमसीसी/एसपीपीका दलालहरुलाई गाउँ गाउँबाट लखेट्नुपर्ने बताए ।

उक्त बैठकमा अतिथि एवं केन्द्रीय सल्लाहकार यादव सीले पार्टीले लिएका नीतिहरु शानदारढंगले सफल हुँदै आएको र चाडै नै विजयको मन्जिलमा पुगिने बताए । पूर्ण रष्ट्रिय सार्वभौमिकता रक्षाको कार्यभार र समाजवाद स्थापनाको कार्यभार दुवैलाई एकैसाथ पूरा गर्ने गरी अघि बढेको बताए ।

उक्त बैठकमा बैकल्पिक केन्द्रीय सदस्य एवं जिल्ला सेक्रेटरी अर्जुन सीले पेश गरेको राजनैतिक, सांगठनिक एवं संघर्ष लगायतको महत्त्वपूर्ण रिपोर्ट र आगामी योजनामा सबै सदस्य कमरेडहरुले अत्यन्त उत्साहकासाथ छलफल र बहसमा भाग लिएका थिए । अन्तिममा, क्रान्तिकारी योजना निर्माणमा योगदान पुर्याउनु हुने सबैलाई धन्यवाद दिँदै उक्त निर्णयहरु दोलखामा सिंगो पार्टी एकढिक्का भएर कार्यान्वयन गर्ने प्रतिबद्धतासहित सेक्रेटरी अर्जुनले बैठकलाई समापन गरे । समापनको क्रममै उनले देश र जनताको सेवामा समर्पित नेता-कार्यकर्ता, बिचार-कार्यक्रम हुनुले नेकपा दोलखाली श्रमिक जनताहरुको आशा र भरोसाको पार्टीका रूपमा स्थापित भएको बताए । उनले दोलखाली जनताहरुको व्यापक साथ लिएर दलाल, फटाहा, राष्ट्रघाती, जनघातीहरुका विरुद्धमा कडा संघर्षको सुरुवात गर्ने बताए । उनले राष्ट्रघाती एमसीसी/एसपीपी पक्षधरहरुलाई जिल्लाबाट लखेट्ने बताए ।

उक्त बैठकले स्थानीय निकाय, सरकारी निकाय, सहकारी, लघुवित्त, जलविद्युत आयोजनाहरुमा भएको भ्रष्टाचार अनियमितताहरुका विरुद्धमा कडा संघर्ष गर्ने, एमसीसी/एसपीपीका विरुद्धमा कडा संघर्ष गर्ने, मिटरब्याजीहरुका विरुद्ध कडा संघर्ष गर्ने, तीन बुँदे सहमति कार्यान्वयन गर्न ल्याइएको अध्यादेश रोक्ने दलाल पुँजीवादी र साम्राज्यवादीको षड्यन्त्रका विरुद्ध कडा संघर्ष गर्नेलगायतका महत्वपूर्ण निर्णयहरु गरेको छ ।

उक्त बैठकको अवसरमा जिल्ला समिति दोलखाले पार्टीको ऐतिहासिक नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य  प्रेम सी, पार्टीका केन्द्रीय सल्लाहकार सदस्य यादव सी, वैकल्पिक केन्द्रीय सदस्य अर्जुन सी, केन्द्रीय प्रतिनिधि सदस्यद्वय  राजकुमार सी र जयकुमार सीलाई खादा र अविर लगाएर सम्मान गरेको छ ।

त्यस्तै पार्टीको केन्द्रीय समितिद्वारा घोषित तीन बुँदे सहमति कार्यान्वयन गर्न ल्याइएको अध्यादेश रोक्ने दलाल र साम्राज्यवादको षड्यन्त्रका विरुद्धमा विरोध प्रदर्शन कार्यक्रम पुस १ गते दोलखाको सदरमुकाम चरिकोटमा सम्पन्न भएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।