७ बैशाख २०८१, शुक्रबार

किसानहरुले आयातीत तरकारीलाई प्रतिबन्ध लगाउने छन : विप्लव

समाजवाद आयो भने हामी हाकिम हैन किसान नै भएर जानुपर्छ

0

फागुन ११, कपुलवस्तु । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नेपाली किसानहरूका समस्या समाधान गर्न तथा दलाल पुँजीवादी व्यवस्था काे अन्त्य गर्न आयातीत तरकारी माथी प्रतिबन्ध लगाउनु पर्ने बताएका छन ।

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) काे केन्द्रीय समितिको दाेस्राे पूर्ण बैठकलाई सम्बाेधन गर्दै महासचिव विप्लवले किसानहरूको समस्या समाधान दलाल पुँजीवादले गर्न नसक्ने ठाेकुवा गरे ।

महासचिव विप्लवले दलाल पुँजीवादी व्यवस्थाका कारण नेपालमा उत्पादन भएको कृषि वस्तुले बजार नपाएको र विदेशी कृषि उत्पादनले बिचाैलिया र दलालहरूका कारण बजार पाएकाे बताए ।

उनले नेपाल कृषि प्रधान देश भनिएकाे भएपनि दलाल व्यवस्थाका कारण नेपाली जनता कृषिमा परनिर्भर हुनु परेकाेमा दुःख व्यक्त गरे । महासचिव विप्लवले भने “आज स्वदेशी कृषिजन्य वस्तु तथा सेवाहरू विस्थापित भएको छ, क्वारेन्टाइन नगरी भारतीय तरकारी भित्रीएकाे छ, मानव स्वास्थ्यमा प्रतिकुल असर परेको छ, यसलाई राेक्नकाे लागि अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) ले विषेश पहल गर्नुपर्छ ।”

उनले नेपाली किसानको उत्पादित वस्तु बजारीकरण गरि देशलाई आत्मनिर्भर बनाउन दलाल व्यवस्था र विचाैलिया विरूद्व संघर्ष गर्न किसान महासंघ (क्रान्तिकारी) लाई निर्देशन समेत दिए । उच्च कृषि प्रविधि र ठुलो पुँजीमा आधारित लगानीमा भारतीय कृषि अर्थतन्त्रको उत्पादकत्व वृद्धि भएको भन्दै नेपाली अर्थतन्त्रको विकासको लागि आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न आवश्यक रहेको बताए ।

महासचिव विप्लवले उत्पादन गर्ने जमिन नेपाली दलालहरूकाे हातमा भएकोले नेपाली कृषि उत्पादनमा गिरावट आउने गरेको बताए । उनले भने “यदि नेपालको सबै जमिनमा राज्यले कृषि अनुदानमा लगानी गरे नेपाल धनी हुन्छ, तर अहिले दलाल अर्थ प्रणाली र दलाल नीति भएका कारण देश रेमिटान्सकाे भरमा चलेको छ ।”

उनले दलाल व्यवस्था, दलाल अर्थ प्रणाली र दलाल नीति परिवर्तन गरि बैज्ञानिक समाजवादी व्यवस्था, बैज्ञानिक अर्थ प्रणाली र बैज्ञानिक नीति लागू गर्नुपर्ने बताए ।

बैठकले नेपालको दलाल पुँजीवादी व्यवस्थाका कारण नेपालको कृषि प्रणाली र अर्थ व्यवस्था ध्वस्त भएको भन्दै यस विरूद्व किसान महासंघ (क्रान्तिकारी) ले सशक्त संघर्ष गर्ने निर्णय गरेको छ ।

बैठकमा नेकपाका स्थायी समिति सदस्य भरत सी, सिलु सी, नेकपा पाेलिट ब्युरो सदस्य धुर्व सी, विजय सी र सल्लाहकार समिति सदस्य सन्ध्या सीकाे समेत सहभागिता रहेको थियाे ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।