२६ बैशाख २०८१, बुधबार

चर्को व्याजदर विरुद्ध पोखराका उद्योगी-व्यावसायीहरु सडकमा

0

पोखरा । बैंक तथा वित्तीय संस्थाविरुद्ध पोखराका उद्योगी व्यवसायीहरुले सडकमा उत्रेर विरोध जनाएका छन् । पोखरा तथा लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा बिहीबार उद्योगी व्यवसायीहरु सडकमा उत्रेर विरोध जनाएका हुन् ।

पोखरा उद्योगी व्यवसायीले बिहीबार विभिन्न मागसहितका प्लेकार्ड र ब्यानरसहित पोखराको चिल्लेढुंगाका चोकमा एक घण्टासम्म प्रदर्शन गरेका छन् ।

बैंकले कर्जामा गरेको ब्याजदर वृद्धिले उद्योगी व्यवसायी उठ्नै नसक्ने अवस्थामा पुगेको नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष संजिवबहादुर कोइरालाले बताए । उनले उद्योग व्यवसाय बन्द हुनु भनेको अर्थतन्त्र धरासायी हुने भएकाले समस्याप्रति राजनीतिक दलहरुको धारणा सार्वजनिक हुनुपर्ने माग गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य बाबुराम गिरीले विरोधलाई सांकेतिक अभियानको रुपमा व्याख्या गर्दै बैंकको ज्यादतीविरुद्धको आन्दोलन देशव्यापी बनाउने उद्घोष गरे । बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जामा गरिएको ब्याज वृद्धि, धरपकड एवं मानसिक आतंकले सीमा नाघेकाले बाध्य भएर सडकमा आउनु परेको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले जिकीर गरे ।

लामो समयदेखि निजी क्षेत्रले बैंकले कर्जामा बढाएको ब्याजदर घटाउन माग गरिरहे पनि नसुनिएको उनको भनाइ थियो ।अध्यक्ष प्रजापतिले शान्तिपूर्ण आवाजलाई सुनिएन भने काठमाडौं नै पुगेर आन्दोलन गर्ने चेतावनीसमेत दिए । ‘व्याजदर घटेन भने हामी बाध्य भएर व्यवसायको ताला–चाबी सरकारलाई बुझाउन बाध्य हुनेछौं,’ प्रजापतिले भने ।

पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले शान्तिपूर्ण आन्दोलनलाई कमजोरी नठान्न सरकारलाई चेतावनी दिए । निजी क्षेत्रको मागको सुनुवाइ नभएसम्म विरोधका कार्यक्रम जारी रहने र आवश्यक परे काठमाडौं नै पुगेर विरोध प्रदर्शन गरिने पनि उनले बताए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।