१३ बैशाख २०८१, बिहीबार

जनयुद्धलाई अपराधिकरण गर्न खोज्नेहरुको ढाड भाँचिन्छ:विप्लव

0

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले सामन्तवादका चाटुकारहरुले जनयुद्धलाई अपराधिकरण गर्न खोजिएको बताएका छन् । सहिद तथा बेपत्ता योद्धा सन्तती फाउण्डेशनले आयोजना गरेको ‘जनयुद्ध, नेतृत्व र सहिद तथा बेपत्ता योद्धाको योगदान’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै विप्लवले जनयुद्धलाई अपराधिकरण गर्न खोजिएको बताएका हुन् ।

‘जनयुद्धको विरोध गर्नेहरु, जनयुद्धलाई अपराधिकरण गर्नेहरु सामन्तवादका रक्षकहरु हुन् । सामान्तिहरुको जुठो खान नपाएहरुले अहिले जनयुद्धलाई अपराधिकरण गर्न खोज्दैछन् ।’, अन्तरक्रिया कार्यक्रममा विप्लवले भने, ‘जसले जनयुद्धलाई अपराधिकरण गर्न खोज्छ, त्यसको ढाड भाँचिन्छ ।’

उनले दुई–ढाई सय वर्ष नेपाली जनतालाई टाउकादेखि खुट्टासम्म लुटेर, चुसेर अर्बौं सम्पत्ति थुपार्ने नेपालका सामन्त र फटाहहरु अपराधी र हत्यारा भएको भन्दै आफ्नो अधिकारका निम्ति विद्रोह गर्ने जनता महान र बहादुर भएको बताए ।

‘यो लोक्तन्त्रमा माओवादीलाई अपराधी बनाउन खोजियो। इतिहास दोहोरिन्छ। हेक्का राखे हुन्छ फेरि माओवादी फर्किन्छ,’ विप्लवले भने, ‘माओवादीलाई अपराधी भन्नेहरु जनयुद्धमा भेटिएको भए त्यही सिद्धिन्थे। माओवादीलाई अपराधी भन्नेहरुलाई ठेगान लगाउने तागत हामीसँग छ।’

यो व्यवस्था अन्तर्गत सहिदहरुको सम्मान नहुने विप्लवको भनाई थियो । ‘दलालहरुको चकचकी भएको सत्तामा सहिदहरुलाई सम्मान भेटिदैँन,’ उनले भने, ‘जसले सम्मान खानुपर्ने उनीहरु अपराधीजस्तो। कठघरामा उभिनु नपर्ने चै सम्मान खाँदै हिँडेको ।’

विप्लवले सहिद परिवारलाई दुःख दिनेलाई तह लगाउन आफूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिएको बताए। सहिदलाई पक्राउ पुर्जी काटिएको प्रति आक्रोश व्यक्त गर्दै विप्लवले भने, ‘को हो त्यो सिडिओ, को हो त्यो डिएसपी, त्यसलाई एक साइनमा सिध्याउनुपर्दैन ?’

प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सम्पूर्ण माओवादी घटकहरूलाई एकतावद्ध हुन आग्रह गरेका छन् । अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले विभाजित माओवादी पार्टीका विभिन्न घटकहरूलाई एकताबद्ध हुन आग्रह गरेका हुन् । सबै माओवादीहरू एक ठाउँमा केन्द्रित हुने समय आएको उनको भनाइ छ ।

उनले विगतमा विभाजित भएर सबैले आ–आफ्नो अनुभवहरू समेटेको भन्दै एकअर्काको अनुभवहरूलाई आफ्नै अनुभवको रूपमा लिएर एकतावद्ध हुनुपर्ने बताए । प्रधानमन्त्री दाहालले आफूले एकताका लागि सबैसँग कुरा गरिरहेको र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईसँग भने निकै अघि बढिसकेको बताए ।

‘समय आएको छ । फेरि हामी माओवादीहरू सबै एक ठाउँमा केन्द्रित हुन जरुरी छ । मैले त्यो अपिल गर्दै आएको छु, उनले भने, ‘शान्ति प्रक्रियापछि माओवादी आन्दोफलन विभिन्न भंगालाहरूतिर विभाजित जस्तो भयो । समय फेरि बग्दै जाँदा ती सबै भंगालाहरू एक ठाउँमा मिसिएर एउटा विशाल सागरतिर जाने समय आयो । बाबुरामजीले हासिल गरेका अनुभवहरू, विप्लवजीले हासिल गरेका अनुभवहरू, धर्मेन्द्रजीले हासिल गर्दै हुनुहुन्छ । किरणजीले हासिल गरेका अनुभवहरू यी सबैलाई हाम्रा अनुभव भनौँ । त्यसमा भएका तीतामीठा, राम्रा, नराम्रा सबै हाम्रै हुन् भनेर हामीले आत्मसात् गर्न सकेको दिन हामी यति बलियो हुन्छौँ ,यति शक्तिशालि हुन्छौँ कि हामीलाई कसैले पनि कमजोर साबित गर्नसक्ने छैन ।’

प्रधानमन्त्री प्रचण्डलेआफूहरू एक हुनु नै सहिद र बेपत्ता योद्धाहरूप्रति इमान्दार भएको ठहरिनु हुने उनको भनाइ छ । ‘मैले जनयुद्धको कमाण्डरको हैसियतले अहिले पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा विभिन्न खाले दबाब र घेराबन्दीविरुद्ध म लडिराखेको छु भन्ने छ मलाई । र, मैले के ठान्छु भने विप्लव, बाबुराम, धर्मेन्द्र, किरणजीहरू पनि लडिराख्नु भएकै देख्छु,’ उनले भने ‘सबै आ–आफ्नै ढंगले हामी लडिराखेकै छौँ । हामी सबै लडाईं लडिराखेका शक्तिहरू एक ठाउँमा केन्द्रित भएर लड्यो भने यो अमर हुनसक्छ । अनि मात्र हामीले शहीद, बेपत्ता योद्धाका सपनाहरूप्रति इमान्दार भएको ठहरिन्छ ।’

त्यस्तै, पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाएर निहुँ खोजिएको बताएका छन् । ‘बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाउने हो ? यो निहुँ खोज्या होइन ?,’ प्रश्न गर्दै भट्टराईले भने, ‘तीन वर्ष अघि सामान्य भनेको अभिव्यक्तिलाई लिएर बहालवाला प्रधानमन्त्रीलाई गिरफ्तार गर्ने मुद्दा लगाऊ भन्न मिल्छ ?’

उनले सबै माओवादी घटकहरूबिच सहकार्य हुन आवश्यक रहेकोसमेत बताए । उनले सबै पूर्व माओवादीहरू एक हुनुपर्ने भट्टराईले बताए । अब सबै माओवादी एक भएर जानुको विकल्प नरहेको उनको भनाई छ ।यसअघि प्रधानमन्त्री प्रचण्डविरुद्ध रिट दर्ता गर्न भनी सर्वोच्च अदालतले आदेश दिएको थियो । प्रचण्डले जनयुद्धमा मारिएका १७ हजारमध्ये १२ हजार राज्य पक्षबाट मारिएको दाबी गर्दै ५ हजारको जिम्मा आफूले लिने अभिव्यक्ति दिएका थिए ।

नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोलाले नेपालमा राजतन्त्र पुनःस्थापना हुने असम्भव भएको बताए । अब नेपालमा जसले जति नारा लगाए पनि राजतन्त्र नफर्किने उनको भनाई थियो । उनले पनि देशमा अधुरा रहेका क्रान्तिहरु सम्पन्न गर्नका लागि सबै कम्युनिष्ट शक्तिहरु मिल्नुपर्नेमा जोड दिए । उनले वैज्ञानिक समाजवाद स्थापनाका लागि कम्युनिष्ट पार्टीहरु एकजुट हुनुको विकल्प नभएको जिकिर गरेका थिए ।

कार्यक्रममा बरिष्ठ अधिवक्ता एकराज भण्डारीले कार्यपत्र प्रस्तुत गरेका थिए भने नेकपाकी पोलिटब्युरो सदस्य खुमा सुवेदीले उपस्थित सबैलाई स्वागत गरेकी थिइन् । कार्यक्रमको अध्यक्ष सहिद हेमन्त, विपिन र निर्जलाकी आमा धनकुमारी रिमालले गरेकी थिइन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।