७ बैशाख २०८१, शुक्रबार

प्रचण्डमाथिको मुद्दा व्यक्तिगत मामिला होइन, राष्ट्र र जनताको विषय हो: विप्लव

“यो गणतन्त्रलाई समेत सहन नसक्नेहरुको हमला हो”

0

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले जनयुद्धलाई अपराधिकरण गरेर उपलब्धिहरुलाई विनाश गर्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाललाई मुद्दा लगाइएको बताएका छन् । शुक्रबार चार कम्युनिष्ट पार्टीले संयुक्त मोर्चा घोषणाका लागि आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव विप्लवले प्रधामन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल विरुद्ध मुद्दा लगाएर गणतन्त्रलाई पश्चगामी र दलाल पुँजीपतिको हातमा हाल्दिने षड्यन्त्र गरिएको बताए ।

उनले प्रतिक्रान्तिकारी सन्देश दिने उद्देश्यका साथ मुद्दा हालिएको भन्दै त्यसको जवाफ दिनका लागि आफूहरु तयार रहेको बताए ।  उनले क्रान्तिको नेतृत्व गर्ने नेतालाई व्यक्तिगत रुपमा मुद्दा लगाउनु क्रान्तिलाई अस्वीकार गर्ने प्रवृत्तिसँग सम्बन्धित रहेको उल्लेख गरे । महासचिव विप्लवले सो मुद्दालाई आफुहरुले अस्वीकार गर्ने बताए ।

उनले भने– ‘यो मुद्दा भनेको गणतन्त्रलाई पनि सहन गर्न नसक्ने प्रवृत्तिको हमला हो । अथवा गणतन्त्रलाई सम्पूर्ण रुपले  पश्चगामी र दलाल पूजिँपति वर्गको हातमा हाल्दिने षड्यन्त्र र जसले विश्वमा र नेपालमा एउटा परिवर्तनकारी आन्दोलनको नेतृत्व गरेको थियो त्यो सम्भव छैन , अब कसैले पनि त्यसलाई सोच्नु हुँदैन भनेर एकदमै प्रतिक्रान्तिकारी सन्देश दिने उद्देश्यका साथ यो मुद्दा हालिएको छ ।

प्रश्न उठ्छ किन ? किनकि क्रान्ति भनेको पुरानो सत्ताले खडा गरेका अन्तरविरोधहरु, समस्याहरु, संकटहरु, दमन, उत्पीडनहरुको विरुद्धमा हुने चिज हो । त्यो जनतासँग सम्बन्धित कुरा हो । पार्टी वा नेताले त्यसको नेतृत्व गर्ने हो । त्यो कुरालाई एउटा व्यक्तिमा लगेर जोडेर जसरी हमला गर्न खोजिन्छ, त्यो चाहीँ क्रान्तिलाई नै अस्वीकार गर्ने, ध्वंस गर्ने प्रवृत्तिसँग सम्बन्धित छ ।

त्यसैले हामीले अस्वीकार गरेका छौँ । यसको जवाफ हामीले के भनेका छौँ भने प्रचण्डजीहरुले उहाँको पार्टीमा के गर्नुहुन्छ उहाँहरुको कुरा हो । तर जनयुद्धलाई अपराधिकरण गर्ने र जनयुद्धका उपलब्धिहरुलाई विनाश गर्न खोज्ने प्रवृत्तिसँग यो मोर्चा पनि लड्छ । नेपाल कम्युनिष्ट पार्टी लड्छ । र त्यसको कुनैपनि जवाफ दिन हामी तयार छौँ । यो जनयुद्ध माथिको आक्रमण हो ।’ 

महासचिव विप्लवले भने, ‘यो परिवर्तनमाथिको आक्रमण पनि हो । भएको सिमित उपलब्धि माथिको पनि आक्रमण हो । जसले क्रान्ति गरेर यि चिजहरु लिएर आयो, त्यसलाई पनि अस्वीकार गर्ने, अपराधिकरण गर्ने हमला छ त्यो प्रचण्डको व्यक्तिगत मामिला होइन । यो राज्यको मामिला हो । जनताको मामिला हो । जनताको अधिकारलाई पनि झन छिन्नभिन्न पार्ने, समाप्त पार्ने षड्यन्त्र हो । त्यसकारण यो प्रचण्डको कुरा मात्रै होइन यो ।’

महासचिव विप्लवले प्रचण्डमाथिको मुद्दा व्यक्तिगत मामिला मात्रै नभएर राज्य र जनताको मामिला भएको भन्दै आफूहरु त्यसको प्रतिरोधमा उत्रेको बताए । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।