८ बैशाख २०८१, शनिबार

चार कम्युनिस्ट पार्टीद्वारा समाजवादी देशभक्त मोर्चाको घोषणा

0

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सहित ४ कम्युनिष्ट पार्टीले संयुक्त मोर्चाको घोषणा गरेका छन् । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममार्फत  नेपाल कम्युनिस्ट पार्टी , विश्वभक्त दुलाल आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी नेपाल, ऋषिराम कट्टेल नेतृत्वको नेकपा र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीले संयुक्त मोर्चाको घोषणा गरेका हुन् ।

उनीहरुले संयुक्त मोर्चालाई ‘समाजवादी देशभक्त मोर्चा’ को नाम दिएका छन् । चार क्रान्तिकारी कम्युनिष्ट पार्टीको संयुक्त मोर्चालाई साम्राज्यवादी हस्तक्षेप र अतिक्रमणबाट देशलाई मुक्त पार्ने र नेपालमा दलाल पुंजीवादी सत्ता एवम् दलाल संसदीय व्यवस्थाको समुल नष्ट गरी नेपाली शोषित वर्ग र उत्पीडित समुदायको राज्यव्यवस्था स्थापना गर्ने जनक्रान्तिको हतियार बनाउने उल्लेख गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले मोर्चाले साम्राज्यवादी अतिक्रमण र हस्तक्षेपको विरुद्धमा स्वाधिनताको नेतृत्व गर्ने बताए । उनले देश गोलचक्करमा फसिरहेको भन्दै देशलाई अग्रमनको मार्गमा लाने प्रयत्न गरिने बताए।

उनले भने, ‘हामीले आँट गरेका छौँ । हामी सहमत भएका छौँ। एकरुपतामा गएका छौँ कि, यो संयुक्त मोर्चामा समाजवादी, देशभक्त संयुक्त मोर्चा जुन बनेको छ हाम्रो यो मोर्चाले देशको विकेन्द्रित स्थितिलाई एकतावद्ध गर्ने पहल गर्नेछ। संकटलाई निकासमा लैजाने नेतृत्व गर्नेछ। यथास्थितिलाई क्रान्तिमा बदल्ने नेतृत्व लिनेछ।’

‘जनताको अधिकारहरुलाई स्थापित गर्नलाई यसले नेतृत्व लिनेछ। यसले साम्राज्यवादी अतिक्रमण र हस्तक्षेपको बिरुद्धमा स्वाधिनताको नेतृत्व गर्नेछ। यसले आज गोलचक्करमा फसिरहेको नेपालमा सु–स्पष्ट मार्गमा एउटा क्रान्ति, परिवर्तन र अग्रगमनको मार्गमा लिएर जानेछ। हाम्रो प्रयत्न त्यो दिशामा रहनेछ। त्यसैले एकमुष्टमा संयुक्त मोर्चा के हो भन्नुभयो भने एकता, अग्रगमन, क्रान्ति, निकास, स्वाधिनताको एउटा केन्द्रिकृत अभिव्यक्तिको रुपमा संयुक्त मोर्चा अगाडि आएको छ।’ पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै विप्लवले भने ।

मोर्चाले केन्द्रीय समिति बनाउने र केन्द्रीय समितिमा अध्यक्ष मण्डल रहने जनाइएको छ। अध्यक्ष मण्डलले अध्यक्ष तोक्ने र अध्यक्षको कार्यकाल एक वर्षको हुने नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए। उनका अनुसार मोर्चाको केन्द्रीय, प्रदेश र जिल्ला संगठन हुनेछ। केन्द्रीय समितिमा १५देखि २१ जनासम्म र जिल्लामा ११ देखि १५ जनासम्म रहने उनले बताए।

मोर्चाले राष्ट्रिय स्वाधिनता सम्बन्धी, वैज्ञानिक समाजवाद तथा जनवाद सम्बन्धी, जनजीविका सम्बन्धी र विभिन्न संघर्षका कार्यक्रम गर्ने उनले बताए। पत्रकार सम्मेलनलाई नेकपाका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव विश्वभक्त दुलाल (आहुती) र नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी सुसिलले सम्बोधन गरेका थिए ।

यस्तो छ विज्ञप्तीको पुर्णपाठ:




प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।