म पर्खालभित्र छु
तिमी पर्खालबाहिर छौ
म पहराभित्र छु, तिमी पहराबाहिर छौ
म यातना–गृहमा छु
तिमी खुल्ला शिविरमा छौ
सिकारीले बाँधेको छाँद होस्
अथवा त्यो उसको फाँद होस्
के फरक प¥यो छ ?
मित्र, अर्काको मुठ्ठीभित्र पराधीन जिन्दगी
जहाँ काट्नु परे पनि त्यो जेल हुन्छ ।
जहाँ जीवन बन्धनहरुभित्र कैद हुन्छ
जहाँ सुन्दर सपना सधैं अवैध हुन्छ
जहाँ मुक्त आकाङ्क्षाहरु बन्देज हुन्छन्
जहाँ हार्दिक भावनाहरु ठेस लाग्छ
अनि जहाँ बासी हावा बहने दुर्गन्धमा पनि
निर्धक्क सास फेर्न प्रतिबन्ध हुन्छ
बन्दुको पहरा होस्
अथवा त्यो कानुनको घेरा होस्
के फरक प¥यो र ?
मित्र भयभीत परिवेशमा त्रसित जिन्दगी
जहाँ बाँच्नु परे पनि त्यो जेल हुन्छ ।
जहाँ बेला–कुबेला रमन घुमिरहन्छ
जहाँ कारण–अकारण साइरन बजिरहन्छ
सडकमाथि बेलगाम घोडाको टापजस्तै
जहाँ चर्को आवाज गरी मार्च–पास चलिरहन्छ
अनि जहाँ मौसम बेमौसम बारुदहरु गर्जेर
सधैं रगतको झरी परिरहन्छ
पर्खालभित्र होस्
अथवा त्यो पर्खालबाहिर होस्
के फरक प¥यो र ?
मित्र, सधैं छातीमा चाँदमारी थापेको जिन्दगी
जहाँ गुजार्नु परे पनि त्यो जेल हुन्छ ।
उही दिन सधैं, उही रात सधैं
उही विहान र साँझ साथ छ
उही स्वप्नभङ्ग विवश जिन्दगी
उही गतिहीन समय साल छ
निकासबिनाको बन्द तालजस्तै
जहाँ गन्दा समाजसाथ अँधेरो बास छ
कुनै अनाम देश होस्
अथवा त्यो प्रिय स्वदेश होस्
के फरक प¥यो र ?
मित्र, उत्पीडित समाजमा पददलित जिन्दगी
जहाँ बिताउनु परे पनि त्यो जेल हुन्छ ।