५ आश्विन २०८१, शनिबार

तुलसीपुरमा विप्लव नेकपाका कार्यकर्ताहरुले एमसीसी विरुद्ध घन्काए ‘गो ब्याक अमेरिका’ को नारा

0

तुलसीपुर: विप्लव नेतृत्वको नेकपाका नेताकार्यकर्ताले तुलसीपुरमा एमसीसी विरुद्ध प्रदर्शन गरेका छन् ।
नेकपा पश्चिम दाङको आयोजनामा आयोजित विरोध प्रदर्शनमा सहभागी नेताकार्यकर्ताले तुलसीपुरका विभिन्न चोकमा ‘गो ब्याक अमेरिका’ को नारा लगाउदै बजार परिक्रमा गरेका हुन् ।

तुलसीपुरको बाहिनी चोकबाट सुरु भएको विरोध प्रदर्शन र्याली बजारका विभिन्न चोक परिक्रमा गर्दै बसपार्कको तिनकुने चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

विरोध र्यालीमा नेकपा पश्चिम दाङका नेताकार्यकर्ताका साथै पार्टी निकट अखिल (क्रान्तिकारी) तुलसीपुरका युवा विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

कोणसभालाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य तथा पार्टीका पश्चिम दाङ जिल्ला समितिका इन्चार्ज प्रदिप सीले अमेरिका नेपाललाई आर्थिक सहयोगको उद्देश्य लिएर नभई सैन्य हस्तक्षेपका लागि आएको बताए ।
उनले भने,– ‘अमेरिका आर्थिक सहयोगको आवरणमा सेना ल्याएर आउँदैछ । अमेरिका हाम्रो देशको स्वाधीनता, सार्वभौमसत्तालाई समाप्त पारी युक्रेन बनाउन चाहान्छ । हाम्रो पार्टी एमसीसी सम्झौता कार्यान्वयनका विरुद्ध जुनसुकै मूल्य चुकाएर लड्न तयार छौँ । यो देशका देशभक्त, राष्ट्रवादी, प्रगतिशील र देशलाइ माया गर्ने सबै शक्तिले एमसीसीको विरोधमा सडकमा आउन तयार रहनुपर्छ ।’

नेता प्रदिपले एमसीसी सम्झौतामा रहेका राष्ट्रघाती प्रावधानहरुका कारणले मुलुकको स्वाधीनता समाप्त पार्ने खेल रहेको बताए ।

अडिट उसैले गर्ने, नेपालले अमेरिकाको कानुन मान्नुपर्ने यो कस्तो प्रावधान हो ? भन्दै नेता प्रदिपले थप भने, ‘बौद्धिक सम्पतिमा अमेरिकी एकाधिकार, सम्झौताको कानुन बाझिएमा एमसिसीको कानुन लागू हुने , सम्झौतामा कुनै हिस्सेदार नभएको पक्ष भारतको पुर्व स्वीकृति लिनुपर्ने जस्ता प्रावधानले यो सम्झौता नेपाली जनताको हितमा छैन ।’

नेता प्रदिपले एमसीसी सम्झौतामार्फत अमेरिकाले नेपालमा रहेको कम्युनिस्ट प्रभावलाई कमजोर बनाउने, यो देशका बहुमुल्य युरेनियम लगाएतका धातु कब्जा गर्ने, रणनैतिक हिसाबले चीनलाई घेर्ने रणनीतिक योजनासहित एमसीसी परियोजना नेपालमाथि जबर्जस्त लाद्न खोजेको जिकिर गरेका थिए ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।