मकवानपुर: नेकपा मकवानपुर र डि 1 ले संयुक्त रुपमा स्मृति सभा मनाएको छ । पछिल्लो समयमा नेपाल कम्युनिस्ट पार्टीले स्थापना गरेको सी जातीको संस्कृति अनुसार असोज २५ गतेको दिनलाई सी स्मृति दिवसको रुपमा मनाउने निर्णयसँगै आज नेकपाले सी स्मृति सभा कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रम पार्टी कार्यलयमा भएको हो ।
स्मृति सभा कार्यक्रममा महान जनयुद्धका महान शहिद, एकीकृत जनक्रान्तिका शहिद, भर्खरै इजरायल माथी हमासले गरेको आक्रमण परि ज्यान गुमाएका नेपालीका साथै अन्य मृतकजनको सम्झना गरिएको छ । स्मृति सभामा बोल्दै नेकपाका केन्द्रिय सदस्य तथा दक्षिण-पूर्व मकवानपुरका इन्चार्ज राम सीले महान शहिद तथा मृतकजनप्रती श्रद्धाञ्जली अर्पण गरेका छन् । मानिसको जन्म पछि मृत्यु अनिवार्य छ । आफ्नो परिवारका सदस्य गुमाउँदाको पीडा असह्य हुन्छ ।
शोकलाई शक्तिमा बदलेर आफ्नो जीवन व्यवहारलाई सहज बनाउनुपर्छ । यसमा समाजका सबै सदस्यहरुले साथ दिनुपर्छ-राम सीले भने । साथै समाजमा चलनचल्तीमा रहेका जातीय एवम धार्मिक संस्कृतिका विकृत पक्षले मानव जीवनलाई दुखदायी, अव्यहारिक र कपोकल्पित बनाएकोले सी संस्कृतिको स्थापना भएको बताए । मानव जातिको जीवन व्यवहारलाई सरल, सहज, व्यवहारिक, मर्यादित र लौकिक बनाउने उद्देश्य सी संस्कृतिले लिएको बताए ।
त्यस्तै कार्यक्रममा नेकपाका वैकल्पिक केन्द्रिय सदस्य तथा १ नम्बर जिल्ला इन्चार्ज मिङ्मार सीले स्मृतिमा मन्तव्य राख्दै रुढीबादी तथा पुरातनवादी संस्कृतिको विकल्पमा व्यवहारिक तथा प्रगतिशील सी संस्कृतिलाई अङ्गाल्नुपर्ने बताए । नेकपाका केन्द्रिय प्रतिनिधि समिती सदस्य तथा उत्तर-पश्चिम मकवानपुरका इन्चार्ज सुर्य सीको सभाध्यक्षतामा भएको कार्यक्रमको सन्चालन नेकपा दक्षिण-पूर्व मकवानपुरका सेक्रेटरी विवेक सीले गरेका हुन् ।