काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टीबीच वर्तमान राजनीतिक संकटको नयाँ राजनीतिक कोर्ष बनाएर समाधान खोज्ने सहमति भएको छ ।
नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सी र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच आज अपरान्ह भएको भेटवार्तामा यस्तो सहमति भएको हो ।
जनता समाजवादी पार्टीका अध्यक्ष यादवको निवास हात्तिवनमा भएको सो भेटवार्तामा बिगतको जनसंघर्षका उपलब्धिका बिरुद्ध देशी बिदेशी षड्यन्त्र बढेर गएको, भ्रष्टाचार, कमिशन, कालोधन्दा र महंगीले अर्थतन्त्र धराशायी भैराखेको र राजनीतिक भ्रष्टीकरण र अराजकता बढ्दै गइरहेको बिषयमा गम्भीर छलफल भएको बताइएको छ ।
भेटवार्तामा संसदीय राजनीतिले जनविश्वास गुमाउदै गएको, भ्रष्टाचारी, कमिशनखोर,चर्कोब्याजी र मुठ्ठीभर तत्वहरुको चंगुलमा अर्थतन्त्र परेको बिषयमा समेत छलफल भएको बताईएको छ ।
देशमा दलाल, प्रतिगामी र धार्मिक बितण्डा मच्याउने खेल सुरु भएको, बिदेशी शक्तिहरुको चलखेल अत्यधिक बढेको र बैदेशिक शक्ति र निगम पुँजीपतिहरुले सुनको अबैध ब्यापार गरी नेपाललाई त्यसको शिकार बनाएको र अन्तर्राष्ट्रियरुपमा बदनाम बनाएको बिषयमा समेत दुई नेता बीच छलफल भएको बताइएको छ ।
भेटवार्तामा सरकारको कामको जनपक्षीयताका बिषयमा छलफल हुनुका साथै नयाँ कार्यक्रम र योजना बनाएर देश र जनताबिरुद्ध भैरहेका षड्यन्त्र चिर्न समाजवादी मोर्चा र सरकारी गठबन्धनको बैठक तत्काल बस्नु पर्ने निष्कर्ष निकालिएको बताइएको छ ।
देशको समग्र समस्याको समाधान नयाँ राजनीतिक कोर्ष बनाएर खोज्नुपर्ने र त्यसका निम्ति दुई पार्टीबीच वार्ता र सम्बाद जारी राख्ने सहमति समेत भएको जानकारी दिएको छ ।