कात्तिक १९, काठमाडौं- शुक्रबार राति ठूलो भूकम्प गएपछि त्यसको पराकम्प गइरहेको जाजरकोटमा फेरि सोही ठाउँ केन्द्रबिन्दु भएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार जाजरकोटको बारेकोट गाउँपालिका-१ रामीडाँडा केन्द्रबिन्दु भएर आज बिहान २ पटक भूकम्प गएको हो।
आज बिहान १:२२ बजे ४ म्याग्नेच्युड र बिहान ४:५३ बजे ३.८ म्याग्नेच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ।
भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सोही राति १२:०८ बजे ४.५ म्याग्नेच्युडको, १२:२९ बजे ४.२ म्याग्नेच्युडको, १२:३५ बजे ४.३ म्याग्नेच्युडको, शनिबार बिहान ४:१६ बजे ४.६ म्याग्नेच्युडको, शनिबार दिउँसो ३:४० बजे ४.२ म्याग्नेच्युडको, आइतबार बिहान १:२२ बजे ४ म्याग्नेच्युडको र आजै बिहान ४:५३ बजे ३.८ म्याग्नेच्युडको भूकम्प गएको हो।
शुक्रबारको भूकम्पले जाजरकोट र रूकुप पश्चिममा जनधनको क्षति पुर्याएको छ। शनिबार रातिसम्मको विवरण अनुसार भूकम्पमा परी जाजरकोटमा १०५ र रूकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ।
भूकम्पले २०० भन्दा बढी घाइते र हजारौं घरहरूमा क्षति पुगेको छ।
शुक्रबार राति ११:४७ बजे रामीडाँडा केन्द्रबिन्दु बनाएर ६.४ म्याग्नेच्युडको भूकम्प गएयता सोही स्थानलाई केन्द्रबिन्दु बनाई आधा दर्जन बढी पराकम्पनहरू गइरहेका छन्।