कञ्चनपुर: नेपाल कम्युनिष्ट पार्टी कञ्चनपुरले नेकपा महसचिव विप्लव र प्रकाण्ड लगायतका नेताहरुमाथि जारी भएको पक्राउ पुर्जी खारेज नभए भिषण प्रतिरोध गर्ने चेतावनी दिएको छ । नेकपाद्धारा बिहीबार जिल्लाको महेन्द्रनगरमा आयोजित एक विरोध प्रदर्शन कार्यक्रममा नेकपा नेताहरुले सो चेतावनी दिएका हुन् ।
नेकपा केन्द्रीय सदस्य रहेका विराट सीले राष्ट्रको अग्रगामी निकासको नेतृत्व गर्दै आएको पार्टीका महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सी लगायत नेताहरुमाथि गैरन्यायिक तरिकाले अदालतले पक्राउ पुर्जी जारी गर्नु गलत रहेको बताए । उनले राज्यसँग ३ बुँदे सहमति भएर टुंगिएको विषयलाई अहिले आएर आपराधिक मुद्दाको रूपमा अगाडि ल्याउने कार्य नेकपालाई सह्य नहुने र पुर्जी तत्काल खारेज हुनु पर्ने जिकिर गरे ।
त्यसैगरी नेकपा कञ्चनपुर जिल्ला सचिव प्रकाश सीले अस्वाभाविक तरिकाले राज्यले हाम्रा नेताहरुमाथि पक्राउ पुर्जी जारी गर्नु देशलाई अशान्तितिर लैजानु भएको बताए । साथै अदालतले यो निर्णय नसच्याए सशक्त प्रतिरोध हुने उनको भनाई छ ।
केही दिन अगाडि काठमाण्डौं जिल्ला अदालतले विप्लव सी लगायतका नेताहरुको नाममा पक्राउ पुर्जीको सूचना गोरखापत्रमा प्रकाशित गरेको थियो । त्यस पश्चात नेकपा आन्दोलित बनेको छ ।