५ आश्विन २०८१, शनिबार

संसद्को प्राथमिकतामा नेपाली मिडिया पर्न सकेका छैनन् : अध्यक्ष पोख्रेल

0

घोराही: नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले  संसद्को प्राथमिकता नेपाली मिडिया पर्न नसकेको बताएका छन्  ।  बुधबार घोराहीमा सम्पन्न भएको  नेपाल पत्रकार महासंघ दाङ शाखाको ३१ औं स्थापना दिवसमा बोल्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले नेपाली मिडियाले संघीयताको अनुभव गर्न नपाएको भन्दै स्थानीय सरकारले स्थानीय मिडियालाई विज्ञापन दिन नसक्नु भनेको केन्द्रीकृत व्यवस्थाको पनि विकृत रुप भएको बताए । उनले वर्तमान अवस्थामा पनि परिचयपत्र बनाउन र  प्रेस काउन्सिलमा वर्गीकरणका लागि काठमाडौं जानुपर्ने जुन  बाध्यात्मक अभ्यासहरु छन्   यसले अहिलेपनि  नेपाली मिडियाले यो गणतन्त्रको सही ढंगले अनुभव गर्न नपाएको निष्कर्ष निकाल्नु पर्नेमा जोड दिए ।

`हामीलाई समाजले प्रोत्साहित गरेको छ´ उनले भने  -` सरकारले बाध्यताले, हाम्रो दबाबले कानूनहरु बनाइन्छ, मिडियाहरु व्यवस्थित गर्न । कतिपय प्रावधानहरु अघिल्लो संसदमा ड्राफ्ट भएका कानूनहरु अहिलेसम्म पनि बन्न सकेका छैनन् । संसदको प्राथमिकता मिडियाका कानूनहरु पर्दैनन् । यसको विषय पर्दैन । मिडिया क्षेत्रको विकास र व्यवसायका लागि संसदमा कुनै सांसदले बोलेको थाहा पाउदैनौं । श्रम मुद्दाको पत्रकार महासंघ सडकमा आउँदा पनि संसदको आवाज बन्न सकेन । अहिलेपनि बिडम्बनापूर्ण स्थिति  छ । ´

महासंघ अध्यक्ष पोख्रेल भन्छन् – ` राज्यको संसदको  प्राथमिकतामा नेपाली पत्रकारिता छैन । र, पनि हामीले  पत्रकारितामार्फत समाजलाई सुसूचित गर्ने र नागरिकलाई अभिब्यक्त गराउने काम गरिरहेका छौं  । यो हाम्रो विशिष्ट क्षमता हो । नेपाली पत्रकारिता क्षेत्रले आफ्नो यो विशिष्टता समय-समयमा  प्रदर्शन गर्दै आएको छ । ´

नेपाल पत्रकार महासंघ दाङ शाखाका सल्लाहकार सुदीप गौतमले समाज परिवर्तन गर्ने उद्देश्यले पत्रकार महासंघको  स्थापना भएको हुँदा आफ्नो दायित्व भूल्न नहुने बताए ।  यो उत्कृष्ट व्यवस्था प्राप्त गर्नका लागि पत्रकारको भूमिका अहम भएको उनको भनाइ छ ।

नेपाल पत्रकार महासंघ दाङ शाखाका सल्लाहकार  सविन प्रीयासनले कार्यक्रमको बारेमा जानकारी दिँदै दाङ बनाउने सवालमा महासंघ संस्थागत रुपमा सहभागी हुँदै आएको  बताए ।

महासंघले कार्यसमितिको सर्बाधिक  बैठकमा उपस्थित हुने कार्यसमितिका सदस्य  विवेक खड्का, उदय जिएम,  कुलदीप न्यौपाने, यमकला भुषाललाई सम्मान गरेको थियो । त्यस्तै महासंघले दुर्घटनामा परी घाइते भएका पत्रकार प्रेमबहादुर राम्जालाई उपचार खर्च स्वरुप दश  हजारको चेक हस्तान्तरण गरेको थियो ।

त्यसैगरी महासंघले महासंघको स्थापन दिवसको अवसरमा रक्तदान गर्ने सबिन प्रीयासन, विश्वराज आचार्य,  विनिता नेपाली, यमकला भूषाल, उमा भण्डारी, रोम थापा, सुनिल परियार, हेमराज परिवर्तन, निरला भण्डारी, रबिन्द्र गौतम, चन्द्रप्रकाश नेपाली, गणेश पौडेल, शैले अधिकारी, पिताम्बर लगायतलाई कदर- पत्र प्रदान गरेको थियो ।

महासंघका उपाध्यक्ष बसुन्धारा गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा  नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उदय जिएम, प्रेस काउन्सिल नेपालका केन्द्रीय सदस्य शरद अधिकारी,  जिल्ला प्रशासन कार्यालय दाङका निमित्त प्रजिअ सावित्रा केसी, जिल्ला प्रहरी दाङका एसपी रामबहादुर केसी, घोराही उपमहानगरपालिकाका प्रवक्ता राममणी पाण्डे,  दाङ जिल्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नरेश कार्की, पत्रकार महासंघमा पुरस्कार स्थापना कर्ता माया लोहनी,  जिल्ला क्रियाशील पार्टीका प्रमुख/ प्रतिनिधि,  पत्रकार संगठनका प्रमुख तथा प्रतिनिधि लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका  थिए ।

नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा सम्पन्न भएको  कार्यक्रमको सहजीकरण संघका सचिव दशरथ घिमिरेले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।