९ पुष २०८१, मंगलवार

सूचना प्रबिधि पुँजीपतिको हातमा मात्रै होइन, मजदुरको हातमा पनि छः कृति सी

0

काठमाडौंं । नेपाल कम्युनिष्ट पार्टीका पोलिट ब्यूरो सदस्य तथा उपत्यका ब्यूरो इन्चार्ज कृति सीले सूचना प्रविधि पुँजीपतिहरुको हातमा मात्रै नभएर मजदुरको हातमा पनि भएको बताएका छन् ।

जनपत्रकार संगठन नेपाल, उपत्यका प्रदेश समितिले बुधबार काठमाडौंमा आयोजना गरेको मोवाईल पत्रकारिता तालिमको उद्घाटन गर्दै उनले यस्तो कुरा बताएका हुन् ।

नेता कृति सीले पुँजीवादले सूचना प्रविधिको प्रयोग गरेर सम्पूर्ण क्षेत्रमा नियन्त्रण गरेकोले जनताको पक्षमा कलम चलाउने जनपक्षीय पत्रकारहरुले प्रभावकारी ढङ्गबाट कलम चलाउन सक्छन् कि सक्दैनन् भन्ने चुनौती थपिएको भन्दै त्यसका लागि मोबाईल पत्रकारिता तालिमले महत्वपूर्ण सहयोग गर्ने विश्वास व्यक्त गरे ।

उनले भने “ मलाई लाग्छ यसलाई जनपत्रकारहरूले सही रूपमा उपयोग गर्ने हो भने सम्भव छ, सूचना प्रविधि पुँजीपतिको हातमा मात्रै होइन,मजदुरको हातमा पनि छ । त्यसलाई मध्यनजर गरेर हामीले योजना बनाउनु पर्छ ।’

उनले नेपालको कम्युनिस्ट आन्दोलन अगाडि बढ्न नसक्नुको प्रमुख कारण समय अनुसार चल्न नसक्नु भएको बताउँदै आफ्नो पार्टीले समय कटिसके पछि विश्लेषण गर्ने प्रवृतिको अन्त्य गरी समय अगावै परिस्थितिको विश्लेषण गरेर पार्टीलाई योजनामा लैजाने अभ्यास गरेको बताए ।

उनले देशमा असफल हुदै गएको दलाल पुँजीवादी संसदीय व्यवस्थाको उत्तम विकल्पको रुपमा रहेको वैज्ञानिक समाजवाद वा अहिलेको राजनीतिक परिस्थिति अनुसार समाजवाद भएको बताए ।

अर्का वक्ता जनपत्रकार संगठन नेपालका सल्लाहकार संयोजक राजेन्द्र चिमौरियाले प्रविधिको विकासले पत्रकारिता क्षेत्रमा काम गर्न सहज बनाएको भनाई राखेका थिए ।

उदघाटन समारोहका अतिथि जनपत्रकार संगठन नेपालका अध्यक्ष शेरबहादुर बिश्वकर्माले समाजमा घटेका घटनाहरु संगै समाजमा कुन मान्यतालाई स्थापित गर्ने कुन मान्यतालाई विस्थापित गर्ने भन्ने सञ्चारमाध्यमको निर्णायक भूमिका रहेको भनाई राखे । उनले पार्टीका अन्य संगठन भन्दा जनपत्रकार संगठन अग्रभागमा रहेर काम गर्ने संगठन भएको पनि बताए ।

उद्घाटन समारोहमा जनपत्रकार संगठन नेपालकी उपाध्यक्ष जानकी चौधरीको पनि सहभागिता रहेको थियो । संगठनका सचिवालय सदस्य तथा उपत्यका प्रदेश संयोजक शोभराज बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य संगठनका केन्द्रीय सदस्य कमल बिश्वकर्माले दिएका थिए भने सञ्चालन साहस भट्टले संचालन गरेका गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।