२ कार्तिक २०८१, शुक्रबार

अनुसन्धानमूलक लेखको संरचना

0

            प्रा. डा. ताराकान्त पाण्डेय

 

 

आलेखसार

प्रस्तुत आलेख अनुसन्धानमूलक लेखन अर्थात् प्राज्ञिक लेखनका संरचनागत विशेषताबारेको विमर्शसँग सम्बन्धित छ । यसमा शोधशास्त्रलाई आधार बनाएर प्राज्ञिक लेखनका विशेषता र अभिलक्षणमाथि प्रकाश पार्दै यसका संरचनागत पक्षलाई उद्घाटित गर्ने काम गरिएको छ । त्यस क्रममा प्राज्ञिक लेखन सिर्जनात्मक लेखनका व्यतिरेकमा त्यस्तो औपचारिक वस्तुपरक लेखन जसमा विशिष्ट तर्क (आर्गुमेन्ट) पद्धतिको उपयोग गर्दै खास प्राज्ञिक जिज्ञासाको उत्तर या समाधान खोज्ने काम गरिन्छ भन्ने निष्कर्ष निकालिएको छ । साथै, यसको प्राज्ञिकता र वस्तुपरकताको निर्माण र निर्वाहका निम्ति व्यवस्थित आङ्गिक विन्याससँगै संसक्तियुक्त संकथन योजना तथा उपयुक्त तर्क र साक्ष्यका माध्यमबाट दाबीको पुस्ट्याइँ गर्दै निष्कर्षणका विधिको उपयोगका साथै सन्दर्भका प्रचलित र मान्य पद्धतिको सम्यक् प्रयोग आवश्यक हुन्छ भन्ने निचोड पनि निकालिएको छ । यसबाट कुनै लेखमा प्राज्ञिकताको निर्माणका लागि नवीन ज्ञानको खोजीप्रयाससँगै त्यसका लागि अँगालिने विशिष्ट भाषिक र प्रविधिगत तत्वको व्यवस्थित प्रयोग पनि उत्तिकै आवश्यक र महत्वपूर्ण हुन्छ भन्ने कुरा पनि स्पष्ट भएको छ ।
मुख्य पदपदावलीः अर्थापन, आर्गुमेन्टेसन÷तर्क, कार्य–कारण सम्बन्ध, दाबी, प्राज्ञिकता, प्याराफ्रेज, भावहरण, संसक्ति, सन्दर्भन ।
१. लेखनका विविध रूप र प्राज्ञिक लेखन
लेखनको तात्पर्य कुनै विषय/घटना/सन्दर्भप्रति लेखकका विचार, धारणा, अनुभूति र प्रतिक्रियाको लेख्य भाषिक अभिव्यक्ति गर्नु हो । यसको उद्देश्य उक्त धारणा, प्रतिक्रिया, अनुभूतिलाई अर्का/पाठक सामु पु¥याउनु या सम्प्रेषित गर्नु हुन्छ । यसमा सिर्जनात्मकतालाई अनि लेखकको निजी अनुभव र धारणालाई स्थान र महत्व दिइन्छ र तीप्रति विश्वास गरिन्छ । प्राज्ञिक लेखन पनि एक प्रकारको लेखन नै हो, त्यसैले त्यसमा लेखकको निजता कुनै न कुनै रूपले उपस्थित त रहन्छ तर त्यो प्राज्ञिक लेखन भएकाले प्राज्ञिकताका तत्वहरूलाई त्यसले संवहन गर्दछ, गर्न पर्छ । प्राज्ञिक हुनुको तात्पर्य कुनै पनि विषयप्रति सन्देही हुनु, प्रश्नवाची हुनु र आलोचनात्मक हुनु हो । यसरी लेखक हुनु र प्राज्ञिक हुनुभित्र एक प्रकारको अन्तर्विरोध पनि निहित देखिन्छ तर प्राज्ञिक लेखनमा भने यी दुवै कुराको संयोजन हुन्छ ।
लेखनका विविध रूप, प्राज्ञिक लेखन या अनुसन्धानात्मक लेखन
लेखनका रूपहरू विविध हुन्छन्, जस्तै पत्र, इमेल, सूचना, समाचार टिप्पणी, सम्भाषण, विज्ञापन, पाठ्यपुस्तक, साहित्य प्रतिवेदन (रिपोर्ट), पुस्तक समीक्षा र शोधमूलक लेखन अर्थात् प्राज्ञिक लेखन ।
लेखनका यी विविध रूपलाई हामी क) औपचारिक र अनौपचारिक अथवा ख) सिर्जनात्मक र प्राज्ञिक (वस्तुपरक आलोचनात्मक) गरी स्थूल रूपमा दुई वर्गमा वर्गीकरण गर्न पनि सक्छौं ।
सिर्जनात्मक लेखन अनौपचारिक लेखन हो । यो स्वतन्त्र, वैयक्तिक र आत्मअभिव्यञ्जक (सेल्फ एक्सप्रेसिभ) ज्यादा हुन्छ । प्राज्ञिक लेखन ज्यादै औपचारिक लेखन हो । यो बौद्धिकता, आलोचनात्मकता तथा तार्किकताले सुसम्बद्ध र प्राविधिक रूपले सुसङ्गठित एवं सुव्यवस्थित हुन्छ । अब प्राज्ञिक लेखन र अनुसन्धानात्मक लेखनको सम्बन्धको कुरा गरौं । अनुसन्धानात्मक लेखनको कुरा गर्दा शैक्षिक–प्राज्ञिक अनुसन्धानपश्चात् लेखिने शोधप्रतिवेदन पनि बुझिन्छ र अनुसन्धानात्मक पद्धतिमा आधारित लेखन पनि बुझिन्छ । अनुसन्धानपश्चात् लेखिने प्रतवेदन पनि निस्सन्देह प्राज्ञिक लेखन नै हो । यसका अतिरिक्त प्राज्ञिक जिज्ञासाको सानो आयाममा आधारित शोधमुखी आलेखन पनि हुन्छ जसलाई हामी शोधलेख, अनुसन्धानात्मक लेख, रिसर्च आर्टिकल भन्छौं । अर्को ढङ्गले भन्दा अनुसन्धान प्रतिवेदन ज्ञानार्जनको ज्यादै व्यवस्थित र वैज्ञानिक अध्ययन–प्रक्रियाका प्राप्तिको औपचारिक एवं पूर्ण आङ्गिक प्रस्तुति हो भने अनुसन्धानमूलक लेख कुनै विषयक्षेत्रको सानो आयामलाई ओगट्ने अपेक्षाकृत छोटो जिज्ञासाको अनुसन्धानका पद्धति एवं प्रक्रियामै आधारित रहेर या त्यसकै अनुशरण गरेर समाधान खोज्ने प्रयास र त्यसका प्राप्तिको लेख्य प्रस्तुति हो (पाण्डेय, १५) ।
यसरी हेर्दा सानो आयामको बौद्धिक लेखन र अपेक्षाकृत लामो आयामको शोधप्रतिवेदन लेखन दुवै प्राज्ञिक लेखन नै हुन् । निचोडमा यसो भन्न सकिन्छ, प्राज्ञिक लेखन सााझ र छातातुल्य पदावली तथा लेखनसन्दर्भ हो जसभित्र सानो आकारको शोधाधारित आलेख पनि आउँछ, वृहत् शोध प्रतिवेदन पनि आउँछ । यसको अर्को निष्कर्ष के पनि हो भने प्राज्ञिक लेखनका केही त्यस्ता आधारभूत विशेषता र अभिलक्षण छन् जो वृहत् आयामको शोधप्रतिवेदनमा पनि हुन्छन् र अपेक्षाकृत सानो आयामको आलेखमा पनि हुन्छन् । प्राज्ञिक लेखनका ती मूलभूत अभिलक्षणका बारेमा पहिला छलफल गरिसकेपछि लेखस्तरीय प्राज्ञिक लेखनका खास विशेषता र संरचनाबारे स्पष्ट पार्न सहज हुनेछ ।
२. प्राज्ञिक लेखनको मूलभूत पक्षः ज्ञानार्जनको प्रक्रियामा दाबी र तर्कको उपयोग
हामी (खास गरी शैक्षिक प्राज्ञिक संस्था, विश्वविद्यालयमा संलग्न मानिस) कुनै न कुनै प्रकारले ज्ञानार्जनको प्रक्रियामा संलग्न छाैँ । अनुसन्धानलगायतका हाम्रा कर्महरू यही ज्ञानार्जनकै प्रक्रियासँग सम्बन्धित छन् । अनुसन्धान विशिष्ट ज्ञानप्राप्तिको खोजीप्रयास र त्यस प्रयासलाई मूर्त रुप दिने विशिष्ट ढांचा/विधि समेत हो । अर्को प्रकारले भन्दा यो वैज्ञानिक किसिमले गरिने खोजीको कला पनि हो (कोठारी १) । त्रिपाठीका शब्दमा शोध वा अनुसन्धान भनेको मुख्य रुपमा मानवचेतनाको बौद्धिक प्राज्ञिक सन्दर्भसँग सम्बद्ध ज्ञानोन्मुख नवप्रयासका खोजधर्मी क्रियाकलाप हुनुका साथै त्यस कार्यका परिणाम र प्राप्तिको बौद्धिक प्रतिवेदनात्मक आलेखन र प्रस्तुतिसमेत श्रृङ्खलामा आधारित हो (१) । ज्ञानार्जनको कुरा गर्दा बोध चयन, विश्लेषण, मूल्याङ्कन, निष्कर्षण र प्रतिवेदन जस्ता कार्य यससँग सम्बद्ध भएर आउँछन् । तर यी सबका केन्द्रमा तार्किकता (आर्गुमेन्टेसन) रहन्छ । तार्किकता र कारणता (आर्गुमेन्ट र रिजनिङ) वैज्ञानिक तथा वस्तुपरक ज्ञानको आधारशिला/मेरुदण्ड हो । त्यसैले खास गरी मानविकी तथा सामाजिक शास्त्रका क्षेत्रमा प्राज्ञिक लेखनको तात्पर्य (उद्देश्य) तर्क गर्ने कलामाथि सिद्धि प्राप्त गर्नु हो भन्ने मानिन्छ (थापा २) ।
तर्क (बहस) को कुरा गर्दा यो सामान्य र नकारात्मक पनि लाग्न सक्छ तर प्राज्ञिक लेखनका सन्दर्भमा र ज्ञानार्जनको प्रक्रियाका सन्दर्भमा यसको विशिष्ट महत्व रहेको छ । यो ज्ञानार्जनको महत्वपूर्ण र आधारभूत माध्यम तथा उपकरण पनि हो । ग्रीन र लिडिन्स्कीका शब्दमा हाम्रो (प्राज्ञिक व्यक्तिको) काम (उद्देश्य) एउटा प्राज्ञिक भएर सोच्ने, प्राज्ञिक भएर पढ्ने, प्राज्ञिक भएर अनुसन्धान गर्ने र प्राज्ञिक भएर लेख्ने कुरा सिक्ने हो (१) । यसो भए प्राज्ञिक हुनु भनेकै के हो त ? ग्रीन र लिडिन्स्कीकै भनाइमा प्राज्ञिकहरू तत्कालीनताबाट प्राप्त÷ज्ञात स्पष्ट (ज्ञान)बाट र सामान्यबाट माथि जान्छन् तथा कुनै विषयबारे विविध कोणबाट गरिएको पठनपछि प्रश्न गर्छन् अनि तिनका विविध पक्षबिच आश्चर्यजनक ढङ्गले सम्बन्ध स्थापित गर्छन् (२) । यसरी आधारभूत रूपले प्राज्ञिक लेखनले तर्क÷प्रश्न (आर्गुमेन्ट) को अपरिहार्य अपेक्षा गर्दछ जसमा आधारित व्यवस्थित लेखनले पाठकको मस्तिष्क परिवर्तन गर्ने (या पाठकलाई सहमत गराउने) काम गर्दछ वा गर्न सक्दछ ।
अब जिज्ञासा राख्न सकिन्छ तर्क (आर्गुमेन्ट) को विशिष्ट तात्पर्य के हो ?
यो एउटा दाबी (क्लेम) प्रस्थापित गर्ने प्रक्रिया हो जसलाई उपयुक्त तार्किक कारण, उदाहरण तथा अनुसन्धानद्वारा प्रमाणित/सिद्ध गरिन्छ ।
प्राज्ञिक लेखन आफ्नो दाबी र त्यसका निष्कर्षप्रति पाठकलाई सहमत गराउने वा तिनको मानसिकतामा परिवर्तन ल्याउने प्रयास हो तर सँगसँगै तिनको असहमतिको स्थितिलाई स्वीकार पनि गर्नु हो । प्राज्ञिक लेखनमा गरिने तर्क (आर्गुमेन्ट) को तात्पर्य असहमत हुनेलाई तर्कको चिच्याहटले दबाउने होइन, यो एउटा यस्तो स्थिति र अवस्थाको निर्माण हो जसप्रति र जसका विरुद्ध अरुले तर्क गर्न र असहमति जाहेर गर्न पनि सक्दछन् (ग्रीन र लिडिन्स्की २) । यो त्यस्तो विशिष्ट समस्याको समाधानलाई सम्बोधन गर्ने प्रयत्न हो जसको उत्तर वा समाधान सजिलै स्वीकारयोग्य हुँदैन (थापा २) प्राज्ञिक लेखन तथ्य र तथ्याङ्कमा आधारित हुने भए पनि त्यसभित्र गरिने तर्क (आर्गुमेन्ट) आफैमा तथ्य र तथ्याङ्कले मात्र निर्मित हुँदैन । उदाहरणका लागि पछिल्लो समयमा कविताभन्दा उपन्यास धेरै लेखिएका छन् भन्नु तथ्य हो तर यो आर्गुमेन्ट होइन किनभने यसमा केवल ज्ञात तथ्य छ दाबी छैन र प्रमाणित गरिरहनु पर्ने कुरा पनि छैन । यसका ठाउँमा यसो भनौ : कविताभन्दा उपन्यासले जीवनका जटिलतालाई बृहत फलकमा प्रभावकारी ढङ्गले प्रस्तुत गरिरहेको छ । यो आर्गुमेन्ट हो किनभने यसमा दाबी छ र त्यसलाई पुष्टि गर्नका लागि ठाउँ र सम्भावना दुवै छ । यसरी हेर्दा तर्क (आर्गुर्गेन्ट) को निर्माणमा निम्न कुराहरू आवश्यक हुने देखिन्छ :
क) दाबी (क्लेम) स्थापित गर्नु त्यस्तो कथन, धारणा, विचारको स्थापना जो छलफलयोग्य, बहसयोग्य छ र त्यसप्रति अन्य व्यक्ति सजिलै सहमत नहुन पनि सक्छन् ।
ख) उक्त दाबीलाई प्रमाणित गर्न पर्याप्त र उपयुक्त प्रमाण र कारणको प्रस्तुति ।
ग) दाबी र प्रमाण/कारणका बिच सद्गति र सम्बद्धता ती आपसमा जोडिएको हुनुपर्छ ।
घ) विशिष्टता र सीमाबद्धता उपर्युक्त किसिमले गरिने प्राज्ञिक दाबी सामान्य खालको हुँदैन र असीमित प्रकारको पनि हुँदैन । कतिसम्म र के के गर्ने हो भन्ने कुरा स्पष्ट हुनुपर्छ ।
तर्क (आर्गुमेन्ट) का माध्यमबाट कुनै प्राज्ञिक दाबीलाई स्थापित, सत्यापित र प्रमाणित गर्दै निष्कर्षणसम्म पुगेर गरिने लेखन नै प्राज्ञिक लेखन हो र यो अन्ततः ज्ञानार्जनको वैज्ञानिक र व्यवस्थित माध्यम हो ।
३. प्राज्ञिक लेखनको संरचनाः संरचक तत्वहरू
प्राज्ञिक लेखन हो भन्नेबारे आधारभूत कुरा गरिसकेपछि अब यसका संरचक तत्वहरूका बारेमा छलफल गरौं । यसलाई अन्तर्वस्तु र प्रविधिका दुई तहमा बाँडेर हेर्न सकिन्छ । आज प्राज्ञिक आलेखको अन्तर्वस्तुका बारेमा बेग्लै पत्रमा छलफल हुने भएकाले यहाँ प्रविधिसम्बद्ध संरचनात्मक पक्षका बारेमा छलफल गरिंदै छ ।
क) शीर्षक
शीर्षक प्राज्ञिक लेखको पहिलो अङ्ग त हुँदै हो तर लेखलाई प्राज्ञिक बनाउने तत्व पनि हो । लेखलाई प्राज्ञिक बनाउनका लागि शीर्षक चयन गर्दा नै ध्यान दिनुपर्ने केही महत्वपूर्ण कुराहरू हुन्छन् । ध्यान दिनुपर्ने ती कुराहरू यसप्रकार छन् ः
 शीर्षक समस्यामुखी (प्रश्नको सङ्केत गर्ने) हुनुपर्छ ।
 शीर्षक तर्क (आर्गुमेन्ट) र दाबी (क्लेम)लाई सङ्केत गर्ने खालको वा त्यससँग सम्बन्ध राख्ने खालको हुनुपर्छ ।
 अमूर्त, अस्पष्ट, धेरै स्थूल/सामान्य र आयामका दृष्टिले अति सङ्क्षिप्त वा अति विस्तृत पनि हुनुहुँदैन । (सामान्यतया) १५शब्दसम्मको आकार उपयुक्त मानिन्छ ।
 एक अध्ययन, एक विवेचना, विश्लेषण जस्ता पदावलीको प्रयोग गर्नुहुँदैन ।
ख) अध्ययनसार (एब्स्ट्रयाक्ट)
आलेखमा शीर्षकपछि र मूल पाठको आरम्भ हुनुअघि अध्ययन सार (एब्स्ट्रयाक्ट) को उल्लेख आवश्यक हुन्छ । यसमा लेखमा स्थापना गरिएको मुख्य तर्क (आर्गुमेन्ट), त्यससँग सम्बद्ध जिज्ञासा, अध्ययनविधि र निष्कर्ष वा प्राप्तिको सङ्क्षिप्त उल्लेख गर्नुपर्छ । यसको आकार १५०–२५० शब्दसम्मको हुनु उपयुक्त मानिन्छ । यसमा सिद्धान्तको व्याख्या आवश्यक हुँदैन । विवेच्य विषयको लामो व्याख्या पनि चाहिंदैन । यसलाई यसरी पनि बुझ्न सकिन्छः
के (अध्ययन) गरिएको हो ? किन गरिएको हो ? कसरी गरिएको हो ? के निष्कर्ष प्राप्त भएको छ ?
यी प्रश्नको जवाफ आउने गरी लेखिने सङ्क्षिप्त संसक्तियुक्त लेखन नै अध्ययनसार हो । अध्ययनसारको टङ्कन गर्दा इटालिक आकृतिमा गर्ने गरिन्छ अथवा मूल पाठको अन्तरालभन्दा कम अन्तरालमा टङ्कन गर्न पनि सकिन्छ ।
ग) मुख्य पद (कि वर्ड्स)
आलेखमा प्रयुक्त मुख्यपदहरू (कि बर्ड्स) को उल्लेख पनि अनिवार्य हुन्छ । यसले पाठकलाई पठनका लागि धारणा बनाउन सघाउँछ । मुख्यपदहरू भनेका सामान्य बढी प्रचलित, राम्ररी परिभाषित शब्द होइनन्, बरु कम प्रचलित, प्राविधिक, राम्ररी परिभाषित भइनसकेका र त्यस रूपमा सर्वत्र स्वीकृत वा ग्राह्य भइनसकेका विशिष्ट शब्दहरू हुन् र तिनलाई मात्र सूचीकृत गर्नुपर्छ । यस अन्तर्गत पदावलीसम्मको संरचना आउन सक्छ ।
घ) विषय परिचय/विषय प्रवेश
प्राज्ञिक आलेख तयार पार्दा अध्ययनसारपछि विषयप्रवेशको प्रस्तुति आवश्यक हुन्छ । विषयप्रवेशमा आलेखको शीर्षकले सङ्केत गर्ने शोध्यसन्दर्भ/विवेच्यसन्दर्भ (context) को परिचय दिनुका साथै मुख्य दाबी र तार्किक स्थापना तथा त्यसलाई आधार बनाएर गरिएको सामग्री विश्लेषणको प्रक्रियाको परिचय दिनुपर्दछ । एक प्रकारले समग्र आलेखको अध्ययनको उद्देश्य अनि अध्ययनको प्रक्रियाको परिचय यसमा दिइन्छ । चारसयदेखि छसय शब्दसम्म अथवा सम्पूर्ण लेखको आकारको १० प्रतिशतसम्ममा यो परिचयखण्ड प्रस्तुत गर्नुपर्छ । यसभित्र प्रस्तुत गरिने कुरालाई बुँदागत रुपमा यसरी प्रस्तुत गर्न सकिन्छ :
१) यसमा आलेखको शिर्षकमा रहेका चर (भेरिएबल) को परिचय दिइन्छ ।
२) सम्बद्ध विषयको अध्ययनीयतालाई स्पष्ट पारिन्छ ।
३) उक्त विषयक्षेत्रमा के कस्ता काम भएका छन् अथवा त्यसमा पूर्ववर्ती अध्ययनको स्थिति कस्तो छ र के अभाव (ग्याप) छ भन्ने कुराको सङ्क्षिप्त उल्लेख गरिन्छ ।
४) प्रस्तुत आलेखमा गर्न खोजिएको/गरिएको थप÷नयाँ कुरा (अर्थात् आफ्नो दाबी) के हो भन्नेवारे स्पष्ट पारिन्छ ।
५) उक्त कार्य सम्पन्न गर्न (तार्किक पुस्ट्याइँसहित विश्लेषण) उपयोग गरिएको सैद्धान्तिक पर्याधारको प्रासङ्गिक उल्लेख (व्याख्या होइन) पनि गरिन्छ ।
६) यदि अध्ययनविधि लामो छ र पृथक शीर्षकमा प्रस्तुत गर्नु उपयुक्त देखिन्छ भने त्यसलाई बैग्लै शीर्षकमा राख्न सकिन्छ । अन्यथा विषयप्रवेशमै प्रस्तुत गर्न पनि सकिन्छ ।
७) अध्ययनको प्राज्ञिक समस्या एउटा मात्रै छ भने आलेखका हकमा समस्यालाई विषयप्रवेशमै राख्न पनि सकिन्छ ।
ङ) समस्थाकथन/अध्ययनको उद्देश्य
प्रत्येक शोध र शोधमूलक (प्राज्ञिक) लेखनमा समस्याकथन अनिवार्य तत्व हो । समस्याकथनमा शोधप्रश्न रहने भए पनि प्रश्न प्रस्तुत गर्नुअघि समस्यालाई सङ्केत गर्ने कथन पनि अनिवार्य हुन्छ । यसले समष्टिमा के कस्तो दाबीका आधारमा शोध गर्न लागिएको छ, कुन प्राज्ञिक समस्याको समाधान गर्न खोजिएको हो र त्यसको औचित्य के हो भन्नेबारे यसमा उल्लेख गर्नुपर्छ । त्यसपछि प्राज्ञिक प्रश्नहरू राख्न सकिन्छ । प्रश्न निर्माण गर्दा यी कुरामा ध्यान दिनुपर्दछ :
 प्रश्न शीर्षक अनुरूप हुनुपर्छ ।
 शीर्षकले अपेक्षा नगर्ने कुरालाई प्रश्न बनाउनु हुँदैन ।
 पूर्ण शोधमा शोधप्रश्नको संख्या पनि ३ देखि ५ सम्म उपयुक्त हुन्छ । लेखमा एउटै प्रश्न हुन पनि सक्छ ।
 प्रश्न समाधेय÷उत्तर आउने खालको अनि सम्भावित उत्तरचाहिँ मापनीय खालको हुनुपर्छ ।
 लेखकका व्यक्तिगत समस्यासँग सम्बन्धित (विश्लेषण कसरी गर्ने भन्ने जस्ता) र विश्लेषणको आधार या उकरणका रूपमा प्रयोग गरिएको सिद्धान्तसँग सम्बन्धित प्रश्न बनाउनु आवश्यक हुँदैन ।
पूर्ण शोधमा समस्याकथन र उद्देश्य बेग्लाबेग्लै शीर्षकमा राखिने भए पनि लेखमा त्यसो गर्नु आवश्यक छैन । समस्याकथन नभनेर अध्ययनको उद्देश्य (Purpose of Study) एउटै शीर्षक राख्न पनि सकिन्छ । यसलाई पनि बुँदामा नराखी अनुच्छेदीय कथनढाँचामा राख्न सकिन्छ । एउटै मात्र जिज्ञासा छ भने (लेखका हकमा) विषयपरिचयमै त्यसको उल्लेख गर्न पनि सकिन्छ । पियर रिभ्यु जर्नलका लागि लेखिदै छ भने जर्नलले प्रदान गरेको फर्म्याट अनुरूप गर्नुपर्छ ।
च) अध्ययन विधि र अवधारणात्मक प्रारूप/ढाँचा
प्रत्येक शोधलेखमा (शोध प्रतिवेदनमा समेत) सम्बद्ध समस्या/शोधप्रश्नको समाधानका लागि अँगालिएको अध्ययनविधि र सामग्री विश्लेषणका लागि उपयोग गरिएको सैद्धान्तिक अवधारणाको ढाँचा/प्रारूपको सङ्क्षिप्त उल्लेख पनि आवश्यक हुन्छ । कतिपय संस्थाले पियर रिभ्यु जर्नलका लागि बेग्लै बुँदामा अध्ययनविधि राख्नुपर्ने नियम नै बनाएको पनि पाइन्छ । अध्ययनविधि अन्तर्गत तीनवटा कुराको व्याख्या आवश्यक हुन्छ :
१) सामग्री सङ्कलन र विवेच्य सामग्रीको चयन/निर्धारण
२) अर्थापन (इन्टरप्रिटेसन) को विधि, र
३) सैद्धान्तिक पर्याधार/अवधारणात्मक ढाँचा
यी तिनवटै पक्षलाई बेग्लाबेग्लै उपशीर्षकमा स्पष्ट पार्न पनि सकिन्छ अथवा एक र दुईलाई एक ठाउँमा र सैद्धान्तिक पर्याधारलाई बेग्लै उपशीर्षकमा राख्न सकिन्छ ।
छ) परिभाषीकरण
प्राज्ञिक लेखन विशिष्ट र उच्च बौद्धिक लेखन भएकाले यसमा स्वभावतः विशिष्ट अर्थ दिने पारिभाषिक पद पदावलीको प्रयोग हुन्छ । तिनको अनुशासनसापेक्ष विशिष्ट र सन्दर्भपरक अर्थ हुने हुँदा तिनको व्याख्या/परिभाषा आवश्यक पर्छ । त्यस्तो व्याख्या पाठभित्र सम्बद्ध स्थानमै गर्न पनि सकिन्छ (साहित्यिक आलेखमा प्रायः त्यसै गरिन्छ) तर प्राविधिक क्षेत्रका कार्यमा (टेक्निकल पेपरमा) भने बेग्लै उपशीर्षकमा परिभाषा प्रस्तुत गरिएको पनि पाइन्छ ।
ज) परिसीमा (डिलिमिटेसन)
पूर्ण शोधमा बेग्लै उपशीर्षकमा परिसीमाको उल्लेख आवश्यक हुन्छ । लेखका हकमा यसलाई विषयपरिचयमै प्रस्तुत गर्न पनि सकिन्छ र आवश्यकताबोध भए बेग्लै उपशीर्षकमा प्रस्तुत गर्न पनि सकिन्छ । लेखको मूल शीर्षकले सङ्केत गर्ने वा त्यसभित्र अटाउने सबै पक्षको अध्ययन एउटै लेखमा सम्भव नहुन सक्छ । त्यसै गरी अध्ययनविधिका पनि सीमा हुन सक्छन् । त्यसैले कुन पक्षको अध्ययनमा सीमित हुने र अर्थापनका सम्भावित विभिन्न विधिमध्ये कुन कुनको उपयोग गरिने हो भन्ने कुरालाई परिसीमामा स्पष्ट पार्नु पर्दछ ।
झ) सामग्रीको अर्थापनः वर्णन, व्याख्या, विवेचना
शोधमा हुने मूल खण्डजस्तै आलेखमा पनि सामग्रीको अर्थापन मुख्य खण्ड नै हो । यसको सङ्गठन कसरी मिलाउने भन्ने कुरामा भने प्रायः अलमल देखिन्छ । यसको छरितो र व्यवस्थित सङ्गठनका लागि यी कुरामा ध्यान दिनुपर्दछ :
 लेखको मूल शीर्षक नै दोहोरिने गरी मित्र शीर्षकीकरण गर्नुहुँदैन
 लेखको मूल शीर्षकमा एकभन्दा बढी चर (विश्लेष्य सन्दर्भ) छन् भने तिनलाई आधार बनाएर अलग अलग उपशीर्षकमा अर्थापन गर्न सकिन्छ,
 एउटा मात्रै चरको विवेचना गर्नु छ भने सामाजिक शास्त्रका शोधलेखमा जस्तो (Discussion and Findings) उपशीर्षक बनाउन सकिन्छ, जस्तै सामग्रीको अर्थापनः व्याख्या तथा पुस्ट्याइँ ।
अर्थापन कसरी गरिन्छ ? प्राज्ञिक लेखनमा यो निकै महत्वपूर्ण कुरा हो । अर्थापनको तरिका कस्तो छ भन्ने कुराले प्राज्ञिक लेखनको स्तर निर्धारित हुन्छ । यसका केही अन्तर्वस्तुगत् कुरा छन् र केही प्राविधिक कुरा छन् । यहाँ केही प्राविधिक कुराका बारेमा उल्लेख गरिएको छ ।
१) कार्य–कारण सम्बन्ध
२) तुलना
३) खण्डन र मण्डन
४) उनीहरू भन्छन्, म भन्छु (They say,  I say) विधिको उपयोग
५) सङ्गति र संसक्ति
ञ) अनुच्छेद रचना
अनुच्छेद रचना प्राज्ञिक लेखनमा निकै महत्वपूर्ण कुरा हो । अनुच्छेदलाई परस्पर सम्बद्ध कथन/वाक्यहरूको तार्किक संयोजन मानिन्छ (बन्धु ७१) अनुच्छेदमा प्रायः एउटा उद्देश्यवाक्य या शीर्षवाक्य हुन्छ र अनुच्छेदक अन्य वाक्यमा त्यस मूल/शीर्ष/सार वाक्यले सङ्केत गर्ने विषय या विषयसन्दर्भको विकास देखाइन्छ (बन्धु ७१) । एउटा अनुच्छेदमा त्यस्ता वाक्यहरूको मात्र संयोजन आवश्यक र उपयुक्त हुन्छ जसले आपसमा अन्विति राख्दछन् । एउटा अनुच्छेदमा एउटा प्रसङ्ग आउनु पर्छ । अनुच्छेदमा–
 शीर्षवाक्य प्रायः वाक्यका सुरुमा वा अन्त्यमा आउँछ ।
 वाक्यहरू परस्पर एउटा तार्किक श्रृङ्खलामा अन्वित हुनुपर्छ, असम्बद्ध वाक्य राख्नु हुँदैन ।
 एउटै अनुच्छेदका वाक्यहरूमा कालिक एकरूपता र सङ्गति पनि आवश्यक हुन्छ ।
 अनुच्छेदभित्रका वाक्यहरू परस्पर संसक्त हुनुपर्दछ । त्यसका लागि यस क्रममा, यसकारण, यसो भए पनि, यसले, यसबाट, यसका लागि, तथापि, तापनि, यसरी जस्ता कारणबोधक, विकल्पबोधक परिणामबोधक, सर्तबोधक विभिन्न योजक पदपदावलीहरूको प्रयोग गर्न सकिन्छ ।
 अनुच्छेदको आरम्भ अङ्कबाट अनि क्रियायोगी (यसरी, यसबाट, यसकारण, त्यसपछि आदि) सर्वनाम, सार्वनामिक विशेषण (यो भनाइ, यस्तो कुराले)बाट गर्नुहुँदैन ।
संसक्तियुक्त तार्किक अनुच्छेदको नमुना
माधवमा कपिलाप्रति अतिशय प्रेम छ र यो प्रेमपरक अतिवादिता उनका निम्ति घातक भएको छ तर यिनी यसलाई दोष मान्दैनन् । यिनी आफूलाई कपिलाका विश्वासघातको सिकार मान्छन् । त्यसैले यिनले पहिले कपिलालाई विश्वासघातका निम्ति दण्डनीय ठानेको देखिन्छ तर पछि भने प्रेम गरेकाले नै आफूले सजायँ पाएको हुँ भन्ने लाग्छ । माधवकी आमा पनि माधवलाई व्यथित र पीडित पार्ने कपिला नै हुन् भन्ने मान्दछिन् ।… माधव र उनका स्वजनले कपिलालाई दोष दिनु स्वाभाविक छ तर वास्तवमा कपिलाको माधवप्रति मैत्रीभाव र शनकप्रति रतिरागात्मक प्रेमभाव भएकाले माधव आफ्नै एकोहोरो प्रेमले ध्वस्त भएका छन् । त्यसैले आफूलाई कपिलाका रुपको दास भन्ने माधवका सन्दर्भमा कपिलाप्रतिको एकतर्फे अतिशय प्रेम नै दुःखान्तको कारक हो ।
 (स्रोतः समको दुःखान्त नाट्य चेतना)
ट) उद्धरणको प्रयोग
 वाक्यहरूको गठन सम्बद्ध भाषाको मानक रूपमै गर्नुपर्दछ ।
 आलङ्कारिक भाषा र पदक्रमको प्रयोग गर्नुहुँदैन ।
 वाक्य वाक्यहरू निश्चयार्थक हुनुपर्दछ, अस्पष्ट र द्वयर्थक खालको हुनुहुँदैन ।
 वाक्यहरू विशेष प्रयोजनमा बाहेक प्रश्नात्मक र इच्छार्थक खालको हुनुहुँदैन ।
 अन्त्यमा क्रियापद (समापिका) नभएका तथा भावुकतालाई व्यक्त गर्ने उद्गारचिन्हको प्रयोग भएका वाक्यको प्रयोग गर्नुहुँदैन ।
 एउटै अनुच्छेदभित्र वाच्य, काल र पक्षको प्रयोग गर्दा तिनमा एकरुपता, युक्तिमयता र सङ्गति स्थापित गर्नुपर्दछ ।
 प्रथम पुरुषीय आत्मपरक भाषाको प्रयोग गर्नुहुँदैन ।
 भाषालाई तटस्थ बनाउन अत्यावश्यक ठाउँमा कर्तृवाच्यको प्रयोग गर्नु परे पनि सकेसम्म वाक्यहरूको गठन कर्म र भाववाच्यमै गर्नुपर्दछ ।
 लैङ्गिक निरपेक्षता या तटस्थताको निर्वाहका लागि लिड्गसापेक्ष भाषाको बढी प्रयोगबाट पनि बच्नु पर्दछ र त्यसको विकल्प कर्म तथा भाववाच्यीय भाषा (लिङ्गनिरपेक्ष) नै हुन्छ ।
 उच्च, अत्युच्च आदरार्थीको प्रयोग नगरी सामान्य आदरार्थीको मात्र प्रयोग गर्नुपर्दछ ।
 अनुसन्धानमूलक आलेख तयार पार्नु भनेको आफैमा उच्च प्राज्ञिक कार्य भएकाले त्यसमा भाषाको गहनता हुन्छ तापनि त्यसलाई क्लिष्टता/दुरुहताका स्थितिमा पु¥याउनु हुँदैन र यथासम्भव कम संश्लिष्ट र कम समावेशन भएका जटिल वाक्यहरूको प्रयोग गरी सन्तुलित र सम्प्रेषणीय खालको अनुच्छेद–रचना गर्नुपर्दछ ।
 सामान्य प्रयुक्तिका सट्टा उच्च र विशिष्ट प्रयुक्तिको प्रयोग गरेर लेखनलाई स्तरीय रुप दिनुपर्दछ ।

स्राेत: जनपत्रिका मासिक ११ अङ्क


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।