बबिता सी
२०८० कार्तिक १७ गते राति ११ः४७ बजे, त्यो दिन पढाईको सिलसिलामा काठमाडौँमा बसिरहेकी म आफ्नो परिवारसंगको मिठो भेटको लागि आफ्नो गाउँघर अनि आफ्नो परिवारको साथमा जाजरकोट जिल्लाको नलगाड, चावलेचौरमा थिए । त्यो दिन हाम्रो परिवार र विशेषगरी मेरी आमाले आफ्नो पसिना बेचेर बनाएको हाम्रो घर, जाजरकोट बासीहरु र छिमेकी जिल्ला रुकुमको लागि कालो दिन बनेर आयो ।
दिनभरीको कामको थकानपछि मिठो निद्रामा परेर निदाइ रहेका मानिहरु त्यो मध्य राति हुँदा गहिरो निन्द्रामा थिए र म पनि धेरै दिनपछि घरमा पुग्दा आमाको काखमा निदाइ रहेकी थिए । आमाको काखमा निदाउन पाउदा मैले सारा संसार भुले जस्तो लागिरहेको थियो । त्यसदिन राति ११ः४७ बजेपछि मैले एक्कासी मेरी आमाको मुखबाट बाबु, बाबु उठ भनिरहेको आवाज र केहि वरपरका मान्छेहरूको आवाज, रुवाबासी गरिरहेको र पुरै गाउँभरि नै कोलाहल गरिरहेको थियो । तर मलाई भने सपना केही चिजले हल्लाइ रहेको जस्तो महसुस भइरहेको थियो ।
म अझै पनि सपनामा हल्लाइ रहेछ भनेर नबिउँझिरहँदा आमा एक्कासी रुदै बाबु उठ भन्दै हुनुहुन्थ्यो । आमा रोएको आवाज सुन्दा म जुरुक्क उठे र म उठ्दा मैले ओढेको कपडामाथि माटो भरिएको थियो । त्यो देख्दा म आत्तिएर सुतेको ठाउँबाट उठेर हजुरआमा सुतेको कोठा तिर गए । त्यहाँ आमा हजुरआमा, भाईहरुलाई उठाउदै हुनुहुनुन्थ्यो । तत्काल हामी सबै बाहिर निस्किन थाल्यौँ । बाहिर निस्किदैँ गर्दा मलाई लागिरहेको थियोे के भयो ? किन यस्तो ? हामी बाच्दैनौँ जस्तो छ । म नरहे पनि मेरो भाईहरु, आमा, हजुरआमालाई केहि हुन दिदिन भनेर मैले उहाँहरुलाई अघिअघि र म पछाडि भएर बाहिर निस्किन सफल भयौँ । बाहिर निस्केर घरतिर हेर्दा घर चिराचिरा भएको थियो । त्यो दृश्य देख्दा म निकै भावुक भए आमाको मुखतिर हेर्दा उहाँ पनि निकै भावुक हुनुहुन्थ्यो । किनकी त्यो घर हामीले निकै मिहनेत गरेर पसिना बगाएर बनाएका थियौँ । भाईहरु टुलुटुलु हामीतिर हेरिरहेका थिए ।
त्यसपछि तलमाथी, यताउताबाट आवाज आयो । के छ ठिक छ सबैलाई ? त्यो दिन, त्यो रात सम्पूर्ण जाजरकोट र रुकुमबासीहरुको लागि एकदमै निर्दही र दुःखदायी भएर आएको रहेछ । जाजरकोट राजधानीदेखि दूरीका हिसाबले टाढा र धेरै कुरामा पछाडि भएकाे जिल्ला नै पर्छ । त्यो दिन प्राकृतिक प्रकोपले पनि जाजरकोटलाई नै रोज्यो । धेरै वर्ष पहिलेको झाडापखाला र गाडी दुर्घटनामा परेर जाजरकोटका बासिन्दाहरुले प्रिय आफन्तहरु गुमाएको घाउ अझै आलो नै थियो । यो पटक भुकम्पले पनि त्यसैमा थप पिडा थपिदियो ।
जुनसुकै क्षेत्रमा पनि चरम र विकृत राजनीति हुने हाम्रो देशको एउटा जालो भनौँ या पुरानो प्रवृति नै हो । यो पटक विनासकारी भुकुम्पपछि पनि जाजरकोटमा विभिन्न किसिमको राजनीति चलिरहेको थियो । भुकम्प पीडितहरु खुल्ला आकाशमा त्रिपालमुनि रहिरहँदा राहतका सामानहरु वा भुकुम्प पीडितको लागि भनेर विभिन्न ठाउँबाट पठाइएका सामाग्रीहरु नगरपालिका र गाउँपालिका कार्यालयहरुमा थन्किरहेको थियो । विभिन्न ठाँउबाट राहतको सामान वितरण गर्ने भनेर आएका मानिस र संस्थाहरु जहाँसम्म सडक छ, गाडी मोटर चल्छ त्यहाँसम्म मात्र पुगेका थिए । तर मध्य जाजरकोट जहाँ अहिलेसम्म मोटर बाटो पुगेको छैन त्यहाँका बासिन्दाको अवस्था अहिले पनि नाजुक नै छ । विभिन्न राजनीतिक दलहरूले आफ्ना कार्यकर्ताहरुलाई छानेर राहत सामग्रीहरु बाड्ने प्रवृत्ति बढ्दो क्रममा थियो र छ । सोझासाझा स्थानिय जनताहरु बिचल्लीमा थिए । यसमा कसैको ध्यान पुगेको थिएन । आजसम्म पनि भुकम्प गएको १०/११ महिना पुग्दा अझैसम्म अस्थायी टहरा निर्माणको लागि भनेर सरकारले तोकेको रकम स्थानीय निकायहरुले भुकम्प पीडित जनतालाई वितरण गर्न सकेका छैनन् ।
हाम्रो देशमा पटक-पटक सरकार फेरिन्छ विभिन्न राजनीतिक दलका नेताहरू पटकपटक फेरि-फेरि प्रधानमन्त्री, मन्त्री बन्छन् तर जाजरकोट, हुम्ला, मुगु, जुम्ला, अछाम, कालिकोट जस्ता ठाँउका जनताको अवस्था कहिले फेरिदैन । सरकारमा भएका मान्छेको ध्यान जनताको जीवनस्तर उकास्नतिर जाँदैन । ५/५ वर्षमा आउने चुनावमा जितेर सत्तामा पुगेपछि आफ्नो काम कर्तव्य बिर्सिने प्रवृत्ति अझै बढ्दो क्रममा छ ।
भुकुम्पले चिराचिरा परेको जमिनमा बर्षायामको समयमा बाढी, पहिरो जाने र थप जनधनको क्षति भैरहेको छ । अझैसम्म पनि सत्ताधारीहरुको ध्यान त्यो विकट गाउँबस्ती र जनतामा भन्दा पनि कुर्सीको घृणित खेलमा नै छ । जुन दुखद र पिडादायक छ । यस्तो राज्य व्यवस्था र यसका संचालकहरुका खराब प्रवृति विरुद्ध सबैले संघर्ष गर्नुको विकल्प छैन ।
लेखक: अखिल (समाजवादी) की केन्द्रीय सदस्य तथा पद्यमकन्या वहुमुखी क्याम्पसकी स्ववियु सदस्य हुन् ।