३० आश्विन २०८१, बुधबार

८० हजार घुससहित झापा बुद्धशान्तिका वडा अध्यक्ष रङ्गेहात पक्राउ

0

झापा । झापाका एक वडा अध्यक्ष सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ परेका छन् । झापाको बुद्धशान्ति गाउँपालिका २ नम्बर वडा अध्यक्ष डिल्लीप्रसाद ओली घुस लिएको आरोपमा पक्राउ परेका हुन् ।

सेवाग्राहीसँग ८० हजार रुपैयाँ घुस लिँदालिँदै वडा अध्यक्ष ओलीलाई विप्लव नेतृत्वको नेकपाका पार्टीका कार्यकर्ताले पक्राउ गरी प्रहरीलाई जिम्मा लगाएको छ । स्ट्रिङ अपरेशन चलाएर वडा अध्यक्ष ओलीलाई बिर्तामोडस्थित हनुमान कम्प्लेक्स बाहिरबाट मंगलबार दिउँसो करिब १ बजे घुस रकमसहित पक्राउ गरेको विप्लव नेकपाका नेता सञ्जय राईले जानकारी दिए । पक्राउ परेका ओलीलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको र थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान इटहरीको टोली आउन लागेको उनले बताए ।

यता स्थानीयले पनि जनप्रतिनिधि भएर जनताको सेवा गर्नुका साटो उल्टै जनताबाट मोटो रकम घुस लिएर ढाड सेक्ने कार्य निन्दनीय रहेको बताउँछन् । यस कार्यमा संलग्नलाई कानुनी कार्वाही गरिनुपर्ने उनीहरूको भनाइ छ ।

घटना विवरण अनुसार भारतीय नागरिक अमरनाथ चौहानले बुद्धशान्ति गाउँपालिकामा आफ्नो व्यवसाय सञ्चालनका लागि स्थानीय चतुर्भुज घिमिरेसँग सहकार्य गरेका थिए ।

चौहानले बुद्धशान्तिमा जग्गा खरिदका लागि घिमिरेलाई भारतीय रुपैयाँ १४ लाख ५० हजार अर्थात् नेपाली रुपैयाँ २३ लाख २० हजार दिएका थिए । सोही रकम बमोजिम घिमिरेले बुद्धशान्ति ५ मा जग्गा खरिद गरेका थिए । पछि घिमिरेले भारतीय नागरिक भएकोले चौहानलाई धोका दिएर जग्गामा आफ्नो नाममा हडपी हाले । चौहान पीडित भएपछि न्यायका लागि बुद्धशान्ति २ नम्बर वडा कार्यालय पुगे ।

वडा कार्यालयको मेलमिलाप समितिले दुवै पक्षलाई बोलाएर रकम फिर्ता वा जग्गा नामसारी गरिदिने सर्तमा लिखित कागज गराएका थिए । सो कागज वडा अध्यक्ष डिल्लीप्रसाद घिमिरेकै रोहबरमा २०८० साल चैत १ गते गराइएको थियो । कागजमा भनिएको छ, चौहानले घिमिरेलाई दिएको २३ लाख २० हजार रकममध्ये घिमिरेले २ लाख २७ हजार ३ सय रुपैयाँ खर्च भएको बताएकोले बाँकी रकम २० लाख ९२ हजार ७ सय रुपैयाँ २०८१ भदौ मसान्तभित्र वडा कार्यालयको रोहबरमा चौहानलाई उपलब्ध गराउने वा खरिद गरिएको जग्गा चौहानको विश्वासिलो व्यक्तिको नाममा नामसारी गरिदिने निर्णय भएको पत्रमा उल्लेख गरिएको छ ।

सोही निर्णय बमोजिम घिमिरेले चौहानलाई रकम फिर्ता गर्ने हुँदाहुँदै पछि वडा अध्यक्ष ओलीले पीडित चौहानसँग रकमको बार्गेनिङ गर्न थालेका थिए । रकम उपलब्ध गराइदिने सर्तमा वडा अध्यक्ष ओलीले चौहानसँग एक लाख भारु मागेका थिए । चौहानले त्यत्रो रकम दिन नसक्ने भनेपछि वडा अध्यक्ष ओलीले उल्टै उनलाई धाकधम्की दिँदै आइरहेका थिए । आफू पीडित भएकोले ५० हजार भारु मात्र दिन सक्ने भनेपछि अन्तत वडा अध्यक्ष ओली उनका कुरामा सहमत भए ।

तर, चौहान आफू पीडित भएको कुरा विप्लव नेकपाका कार्यकर्तालाई भेटेर सुनाइसकेका थिए । विप्लव नेकपाका कार्यकर्ताहरूले नै चौहानलाई बोलाएर रकम दिन लगाएर वडा अध्यक्ष ओलीलाई घुससहित पक्राउ गरिएको विप्लव नेकपाका झापा जिल्ला सचिव सञ्जय राईले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।