३० आश्विन २०८१, बुधबार

सामना परिवारको समाजवादी सांङ्गितिक अभियान बुटवलमा सम्पन्न

0

जनवादी कलाकारहरुको सामना परिवारले बुटवलमा सांस्कृतिक प्रस्तुति गरेको छ । दलाल पुँजीवादविरुद्ध तथा समाजवादको पक्षमा सामना परिवारले विभिन्न सांस्कृतिक प्रस्तुति गरेको हो । 

बुधबार बुटवलस्थित उद्योग वाणिज्य महासंघको सभाहलमा आयोजित कार्यक्रममा पूर्व मन्त्री तथा वरिष्ठ गीतकार मणि थापा, वरिष्ठ गीतकार तथा संगीतकार माइला सी, कलाकारहरु आरोह नेपाली, रमण थामी, सुशीलसिंह ठकुरीलगायत एकदर्जन भन्दा बढी कलाकारहरुले समाजवादको पक्षमा सांस्कृतिक प्रस्तुति देखाएका थिए । 

उक्त सांस्कृतिक कार्यक्रममा दुई वटा महत्वपूर्ण ‘आउँछन् यादहरु’ शीर्षकको ओपेरा र ‘करेसाबारीमा साग’ शीर्षकको लघु नाटक प्रस्तुत गरिएको थियो । यी दुई प्रस्तुतिले दर्शकको ध्यानाकर्षण गरेको थियो ।

ओपेराले जनयुद्धको इतिहासलाई जीवन्त ढंगले प्रस्तुत गरेको छ भने लघुकथाले वर्तमान समाजको यथार्थलाई प्रस्तुत गर्दै उत्पादनलाई क्रान्तिको अभिन्न अंश बनाउनुपर्ने कुरामा जोड दिएको छ । ओपेरा प्रस्तुत गर्दा दर्शकको आँखामा आँसु बगेका थिए । 

नेकपाका नेता एवं वरिष्ठ गीतकार माइला लामाको उद्घोषण र वरिष्ठ गीतकार मणि थापाको ‘अरुण तरेर नाना..’ शीर्षकले दर्शकलाई आकर्षण गरेको थियो । 

कार्यक्रमको अर्को प्रस्तुति कवि एवं गीतकार मणि थापाद्वारा लिखित ‘बकबास बन्द गर’ शीर्षकको कवितालाई अभिनय कलाद्वारा सशक्त रुपमा प्रस्तुत गरिएको थियो । उक्त प्रस्तुतिले माओवादी जनयुद्धमाथि गरिएको आक्रमण विरुद्ध र जनयुद्धको सौन्दर्यमूल्यलाई उजागार गरिएको छ । 

सांस्कृतिक कार्यक्रमको व्यवस्थापन नेकपा रुपन्देहीले गरेको थियो । कार्यक्रममा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगर, बुटवल उपमहानगरपालिका प्रमुख खिलराज पाण्डे, वरिष्ठ साहित्यकार दिल साहनी, वरिष्ठ कवि रामचन्द्र भट्टराई, नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चालगायत पार्टीका नेता कार्यकर्ता, विभिन्न उद्योगी व्यवसायी, कानुन व्यवसायी, पत्रकारलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा शुरुवातमा नेकपा पिबिएम बसन्त सीले मन्तव्यमार्फत स्वागत गरेका थिए । 

कार्यक्रममा नेकपाका पिबिएम विनोद सी, सिसिएमहरु शरद सी, विश्वास सी, जिल्ला सेक्रेटरी विरेन्द्र सीलगायतले कलाकारहरुलाई खादा अविर लगाएर स्वागत गरेका थिए ।  


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।