९ फाल्गुन २०८१, शुक्रबार

परिवर्तनको जग जनयुद्ध

0

बुटवल । दश वर्षे जनयुद्ध नै परिवर्तनको जग भएको भएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । तत्कालिन नेकपा (माओवादी)को नेतृत्वमा संचालित दश वर्षे जनयुद्धको ३०औं वर्षगाँठको अवसरमा बिहीबार नेपाल कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र रुपन्देहीले बुटवलमा आयोजना गरेको अन्तरक्रियामा बोल्ने वक्ताहरुले गणतन्त्र लगायतका उपलब्धिको जग जनयुद्ध भएको बताएका हुन् ।

‘जनयुद्धको उपलब्धि र सिमा’ विषयक अन्तरक्रियामा बोल्दै वक्ताहरुले जनयुद्धको गर्भबाट नै गणतन्त्र, संघीयता र धर्म निरपेक्षता जस्ता उपलब्धि प्राप्त भएको बताए । हजारौं सहिदको सहादतबाट प्राप्त उपलब्धिको रक्षा गर्दै समाजवादको बाटोमा अगाडि बढ्नु पर्नेमा वक्ताहरुले जोड दिएका थिए ।

अन्तरक्रियामा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका पोलिट ब्युरो सदस्य वसन्त सीले दश वर्षे जनयुद्ध इतिहाँसले सुम्पेको महत्वपूर्ण अभिभारा भएको र माओवादी आन्दोलनले पूरा गरेको बताए । “जनयुद्धको गर्विलो इतिहासलाई तोडमोड गर्न केही प्रतिगामी तत्व लागिरहेका छन् ।” नेता वसन्तले भने, “जनताले लडेर ल्याएको व्यवस्थामा बसेर महान जनयुद्धको अवमुल्यन गर्ने अधिकार उनीहरुलाई छैन ।”
प्राप्त उपलब्धिलाई रक्षा गर्दै नयाँ उपलब्धि हासिल गर्ने दायित्व सच्चा कम्युनिष्टको काँधमा आएको उनको भनाइ छ ।

यस्तै नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य वामदेव घिमिरेले राजतन्त्रसहित सामन्तवादको समूल अन्त्य गरेको माओवादी आन्दोलन अहिले शान्ति र समृद्धिको नेतृत्व गरिरहेको बताए । “राज्य सत्ता वर्गीय हुन्छ, हिजो हामीमाथि निरङ्कुश राज्यसत्ताले दमन गर्यो र त्यसको विरुद्धमा हामी बन्दुक बोकेर युद्धमा होमिएका हौँ ।” नेता घिमिरेले भने, “आजको जति पनि राजनीतिक, सामाजिक परिवर्तन भएका छन्, त्यसको आधार जनयुद्ध हो ।”

कार्यक्रममा वामपन्थी बुद्धिजिवी तथा बरिष्ठ साहित्यकार दिल साहनी, बुद्धीजिवी घनश्याम पाठक, वरिष्ठ पत्रकार बालकृष्ण चापागाईं, नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्ष हरि अर्याल, नेकपा एमालेका जिल्ला सहसचिव बाबुराम पन्थी, एकीकृत समाजवादीका जिल्ला इन्चार्ज नन्दराम बन्जाडे लगायतले बोल्दै जनयुद्ध नेपाली इतिहासको महत्वपूर्ण अंग रहेकोले यसका उपलब्धिको रक्षा र विकास गर्नु सबैको दायित्व हुने बताए । टुक्रिएको माओवादी आन्दोलनलाई एकीकृत र समग्र वामपन्थी दलहरुको विचमा ध्रुवीकरण गर्दै संविधानले परिकल्पना गरेको समाजवादी आन्दोलनको बाटोमा अगाडि बढ्नु अहिले दायित्व रहेको वक्ताहरुको भनाइ छ ।

नेपाल कम्युनिष्ट पार्टी रुपन्देही सेक्रेटेरी बिरेन्द्र सीको संचालन र नेकपा माओवादी केन्द्र रुपन्देही जिल्ला संयोजक नारायण जिसी ‘निर्मल’ को अध्यक्षतामा सम्पन्न कार्यक्रममा सामनाका जनवादी कलाकारहरुले सांस्कृतिक प्रस्तुति समेत गरेका थिए ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।