१७ जेष्ठ २०८२, शनिबार

बुटवलमा गणतन्त्र र जनपक्षीय पत्रकारिताबारे अन्तरक्रिया, समाजवादबारे खुला बहस गरौं : विप्लव

0

बुटवल । गणतन्त्र र जनपक्षीय पत्रकारिताबारे अन्तरक्रिया बुटवलमा सम्पन्न भएको छ । जनगर्जन मिडिया प्रा. लि. र जनपत्रकार सङ्गठन नेपाल रुपन्देहीको संयुक्त आयोजनामा बुटवलमा आयोजित अन्तरक्रियामा बोल्ने वक्ताहरुले गणतन्त्रको उपलब्धी रक्षा गर्नुपर्ने बताएका छन् । कार्यक्रममा प्रमुख अतिथि नेकपाका महासचिव विप्लव सीले समाजवादका लागि नयाँ छलफल चलाउनु पर्ने बताएका छन् । देशमा कस्तो खालको समाजवाद स्थापना गर्ने, कम्युनिष्टले भने जस्तो वा विपीको समाजवाद जस्तो वा जनताले चाहेजस्तो समाजवादी व्यवस्था कायम गर्ने भन्ने विषयमा नयाँ बहस चलाउनुपर्ने तर्क गरे ।
उनले गणतन्त्रप्रति गौरव रहेको बताउँदै गणतन्त्र आएपछि धेरै राम्रा कामहरु प्राप्त गरेका छौँ, राजनीतिक क्षेत्रमा गणतन्त्र नयाँ उपलब्धी हो भने हजारौ हजारले रगत बगाएपछि गणतन्त्र आएको उल्लेख गर्दै उनले भने –जनयुद्व र जनआन्दोलन नभएको भए गणतन्त्र आउने थिएन । निकै ठूलो त्यागले गणतन्त्र आएको हो । उनले गणतन्त्रको रक्षा गरी अघि बढ्नुपर्ने बताउँदै गणतन्त्र ल्याउनमा सहिद कृष्णसेन इच्छुकको ठूलो योगदान रहेको चर्चा गर्दै कृष्णसेनका अधूरा सपना पूरा गर्नुपर्ने बताए । क्रान्ति र परिवर्तनका लागि दिलो ज्यान दिनुभएका कृष्णसेन इच्छुक एक निष्ठावान, विश्वासिलो व्यक्ति भएको बताउँदै श्रद्धाञ्जली अपर्ण गरे ।

अहिलेको राज्य प्रणालीबाट कोही नेपाली खुशी नरहेको बताउँदै यो व्यवस्था जनताको अपेक्षा अनुसार नचलेपछि जनतामा निरासा छाएको बताए । गणतन्त्रको विकल्प राजतन्त्र नभएको बताउँदै गणतन्त्रमा सही ढंगले काम नभएको र भ्रष्टाचार, बेथिति बढेकाले जनताले विकल्प खोजेपनि गणतन्त्रको विकल्प राजतन्त्र हुनै नसक्ने बताए ।
उनले पुरानो राजनीतिक र आर्थिक संरचना भत्किएको र जनतालाई नयाँ आधार दिन नसकिएकाले जनता यो राज्य व्यवस्थाप्रति असन्तुष्ट रहेको दावी गरे ।
‘अहिलेको दलाल पूंजीवादले जनतालाई सन्तुष्ट बनाउन नसकेको उल्लेख गर्दै सामन्तवादको समुल नष्ट गर्न नसक्नु अहिलेको व्यवस्थाको खराव पक्ष हो’ उनले भने । महासचिव विप्लवले गणतन्त्रमा भ्रष्टाचार बढेको र जनताले चाहेजस्तो राज्यले सेवा दिन नसकेको बताउँदै स्वास्थ्य, शिक्षा, रोजगारलगायत सबै क्षेत्रमा समस्या देखिएको बताउँदै उनले भने, –’राज्य सञ्चालकहरुले भने जस्तो केही भएको छैन ।’
युद्व छाडेर माओवादी काठमाडौँ गएपछि बिग्रेको बताउँदै पुराना पार्टीहरुको पश्चगामी सोंचले मुलुक बन्न नसक्ने बताए ।
समय अनुसार कम्युनिष्ट पार्टी चल्नुपर्ने र पुरानै पाराले अब पार्टी चल्न नसक्ने बताउँदै भने –’पुराना पार्टीहरु अब रुपान्तरण हुन जरुरी छ ।’
समाजवादी मोर्चाका अध्यक्षसमेत रहेका नेकपाका महासचिव विप्लव सीले एक पटक जनातको सेवा गर्ने चाहना रहेको बताए ।
नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले देशलाई संकट पर्दा पत्रकार चाहिने गरेको बताउँदै गणतन्त्र नेपाल पत्रकार महासंघको पूंजी भएकाले गणतन्त्रलाई दीगो बनाउनु पर्नेमा जोड दिए । कृष्णसेन इच्छुकले देखाएको बाटोलाई आत्मसाथ गर्नुपर्ने बताए ।
क्रान्तिकारी कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य प्रेम सुवेदीले पुराना र पश्चगामी सोंच चिन्तनले गणतन्त्रलाई अगाडि बढाउन नसक्ने बताए ।
नेकपा माओवादी केन्द्रका नेता बामदेव क्षेत्रीले देशलाई अगाडि बढाउन दलाल पुजीवाद बाधक रहेको बताउँदै नेपालको लागि कस्तो खालको समाजवाद चाहिने भन्नेबारे कसैले खाका तयार गर्न नसकेकाले छलफल चलाउनु पर्नेमा जोड दिए । कृष्णसेन इच्छुकलाई नेपाली सेनाले अमानवीय ढंगले हत्या गरेको स्मरण गर्दै कृष्णसेन निष्ठावान भएको बताए ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले गणतन्त्रवादी शक्ति एकजुट हुनुपर्ने बताउँदै जनतालाई सीप र उत्पादनसंग जोड्ने गरी बुटवल उपमहानगरपालिकाले काम गरिरहेको दाबी गरे ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।