
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले वर्तमान राजनीतिकाे संकटको निकास पुरानोतिर फर्किएर नभई समाजवादतिर फर्किनुको विकल्प नभएको बताएका छन् ।
सहिद बेपत्ता स्मृति प्रतिष्ठानद्वारा बिहीबार बुटवलमा आयोजित ‘वर्तमान राजनीतिक संकट र निकास’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
महासचिव विप्लव सीले समाजवादी यात्रा कम्युनिष्ट एकता विना असम्भव भएको ठोकुवा गरे ।
महासचिव विप्लव सीले नेपालमा एउटै कम्युनिष्ट पार्टी बनाउने आफ्नो सपना भएको बताउदै त्यो त्यति सजिलै होला जस्तो नलागेको बताए । उनले भने- ‘अब बुटवलबाट त्यो अभियानको सुरुवात भएको छ, समाजवादी यात्रामा कम्युनिष्ट पार्टीहरुको एकता विना सम्भव छैन ।’
उनले नेपाली जनताले विश्वास, एकता र जनताको आकाङ्क्षाको प्रतिनिधित्व गर्ने शक्तिको आवश्यकता भएको भन्दै आफूहरूले थालेको बहस व्यक्ति विशेषको नभएको दाबी गरे ।
महासचिव विप्लव सीले नेपालमा असल कम्युनिष्ट पार्टी बनाउने चाहना रहेको समेत बताए ।
महासचिव विप्लवले भने,‘ हाम्रो सपना असल कम्युनिष्ट पार्टी बनाउने छ, विगतमा कम्युनिष्ट नेता र पार्टीहरुले गरेका कमजोरीहरु सच्चाएर अगाडि बढनु पर्छ, नेपालको राजनीति र कम्युनिस्ट आन्दोलन अहिले दिग्भ्रमित छ । रनभुल्ल जस्तो भएको छ । दिग्भ्रमबाट दिग्दर्शन चाहिएको छ । त्यो नेपाली विशेषताको समाजवाद हो । नेपाली जनताले विश्वास, एकता र जनताको आकाङ्क्षाको प्रतिनिधित्व गर्छ ।’
महासचिव विप्लवले कानुनहरू पुराना रहेको, नेपालको अर्थतन्त्र सिमित व्यक्तिको कब्जामा परेको, भ्रष्टाचार बढेको भन्दै यो समग्र सङ्कट आउनुमा गणतन्त्रको ढाँचाको आर्थिक व्यवस्था नभएर भएको बताए ।
उनले कम्युनिष्ट आन्दोलनका पुनर्गठन गरी वास्तविक समाजवादको अभ्यास गर्न चाहेको बताए ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले कम्युनिष्ट पार्टीहरूको पुनर्गठन आवश्यक रहेको बताउदै अहिलेका कम्युनिष्ट पार्टीहरूले जनताको मुद्दा नउठाएकाले अब वाम पार्टीहरूबीच पुनर्गठन हुनुपर्ने आवश्यकता औंल्याए ।
उनले पार्टीभित्र आन्तरिक लोकतन्त्र स्थापना गर्न नसक्दा समस्या देखा परेको बताउदै भने- ‘कम्युनिस्ट धु्रविकरण आजको आवश्यकता छ। सानो समूह होइन, एउटा बृहत् स्वार्थ समूहभन्दा बाहिर रहेर। हामीले नेकपा बनाएर पनि प्रयास गर्यौँ। सिद्धान्त मिलेको थियो थिएन एउटा पाटो होला। मिलाउन सक्ने ठाउँ पनि थियो। जनताको साथले दुई तिहाइ नजिक बहुमत प्राप्त भयो। तर सत्ता स्वार्थको कारणले चिसो पानी खन्याइयो। म व्यक्तिबिशेृषलाई कुनै दोष दिन चाहन्नँ।’
उपमहासचिव शर्माले आज निराशाको जगमा नयाँ नयाँ शक्तिहरू पैदा हुनुको जिम्मेवारी नेकपाको नेतृत्वले लिनुपर्ने बताउदै भने- ‘समाजवादको कुरा गर्ने अनि, व्यक्तिगत स्वार्थमा केन्द्रित भएर त्यो प्रयास असफल बनाइयो। कम्युनिस्ट आन्दोलनलाई धराशायी बनाइयो। कम्युनिस्टभित्र रहेको महारोगको कारणले आज समस्या सिर्जना भएको छ। चुनावपछि सरकारको नेतृत्व गर्ने अवसर पाएको पनि थियो। केही कामको थालनी पनि भएको थियो। तर आफ्नै बुद्धिले, के गर्छस् मङ्गले आफ्नै ढङ्गले भन्या जस्तो गठबन्धन फेर्ने अभियानमा लाग्नुको कारणले आज यस्तो ठाउँमा पुग्यो आज जनताको एजेन्डाहरू सम्बोधन गर्ने सम्भावना छैन। अहिले विभिन्न काण्डै काण्ड हेरिराख्नुपरेको छ। त्यसको जिम्मेवार पनि हामी हौँ।’
यसैगरी, उपमहासचिव शर्माले कम्युनिस्ट आन्दोलनको पुनर्गठन नयाँ पुस्ताले अघि बढाउन आवश्यक रहेको बताउदै भने -‘अब नयाँ पुस्ताले इगोको टकराब नगर्नेगरी, इगोकै कारणले नेकपा टुट्यो। अब नेताहरुलाई गाली गर्ने होइन। उहाँहरुलाई धारे हात लगाउने होइन। उहाँहरुको भूमिकालाई स्थापित र सम्मान गर्ने तर उहाँहरुले गरेका गल्तीबाट सिक्ने, ती गल्तीहरुबाट सिकेर पार्टीलाई लोकतान्त्रिकरण गर्ने, वैचारिक बहस गरेर विचार कार्यदिशा, कार्यनीति योजना संगठन, विधि जनता अनुकुल बनाउने प्रतिबद्धताका साथ अघि बढ्नुपर्छ।’
उपमहासचिव शर्माले अहिले कम्युनिष्ट पार्टीहरू जनताको लागि नभइ आफ्नो स्वार्थका लागि बनेको जस्तो भएको बताउदै भने- ‘दलहरू जनताका मुद्दामा स्पष्ट भएनन्, नीतिहरू प्रष्ट भएनन्, बरु अप्रष्ट, अलमल भए,’ उनले भने, ‘दलहरूमा लोकतन्त्र पनि छैन, गरिबी बेरोजगारी अन्त्य गर्ने बहस पनि छैन ।’
उनले पार्टी नेतृत्वले पार्टीमा आफ्नो जयजयकार गर्ने जमात मात्र तयार गरेको तर लोकतन्त्रको अभ्यासमार्फत विज्ञहरूको टिम बनाउन नसकेको बताए । उनले दलहरूमा सुशासन र पारदर्शिता पनि नभएको, चुनौती सामना गर्ने क्षमता पनि नभएको उल्लेख गर्दै कम्युनिष्ट पार्टीको पुनर्गठनसँगै आर्थिक प्रणालि पनि पुन:संरचना गर्न अपरिहार्य भएको बताए । उनले भने- ‘लोकतन्त्र जनताको भएन, दलाल पूँजीवादको र भ्रष्टहरूको भयो । ०४७ लाखदेखि ५० लाख युवा देशमा रोजगारी नपाएर खाडी राष्ट्रमा छन्, खेतहरू बांझो छन्, वनजंगल, प्राकृतिक स्रोत साधनको सही सदुपयोग भएको छैन, यी साधनमाथि दलाल पूँजीवादीको कब्जा छ ।’
उपमहासचिव शर्माले मुलुकका आर्थिक नीति पञ्चायतकालीन शैली नक्कल गरेर दलाल पूँजीवादले कब्जा गरेको बताउदै माओवादी केन्द्र र एमालेबीच एकता भएर नेकपा भएपछि उत्साह जागेपनि विघटनपछि निराशाको श्रृंखला शुरु भएको टिप्पणी गरे ।
उनले कम्युनिष्ट नेताहरूले लोकतन्त्र र समाजवादको भाषण गरेपनि व्यवहार ठीक उल्टो भएको बताउदै भने- ‘किसानले मल, बीउ, सिंचाइ, उचित मूल्य र बजार पाएका छैनन्, शिक्षा, स्वास्थ्य, रोजगारी राज्यको दायित्वमा छैन,’ शर्माले भने, ‘दलाल पुंजीवादले सबैतिर कब्जा गरेको छ, मुलुक भ्रष्टाचारमुक्त छैन, संविधान पनि पूर्ण कार्यान्वयन भएन ।’
उपमहासचिव शर्माले जनताको नियन्त्रणमा रहने पार्टी र सरकार बनाउन आवश्यक रहेको बताउदै यो बहसलाई निरन्तरता दिने बताउदै भने- ‘समाजवादको नाममा जनतालाई भ्रम दिन हुन्नँ, नयाँ समाजवादी केन्द्र आवश्यक छ, छलफल वहसलाई निरन्तरता दिन आवश्यक छ। ’
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेपालमा कम्यूनिष्ट पार्टीहरु दलाल पूजीवादको कब्जामा रहेको ठोकुवा गरे । उनले जनतामा देखिएको निराशा र छटपटी चिर्न सुशासनको ग्यारेन्टी दिने क्रान्तिकारी कम्युनिष्ट पार्टी चाहिएको बताउदै भने- ‘जनतामा विकल्प छैन, सत्ता, सरकार, प्रधानमन्त्री, नेताहरुको गुटले जनतालाई धेरै अपमानित गरेको छ, झुटबाट मान्छे तरंगित छ’ भुसालले भने –‘म त भन्छु समाज बौलाएको छ, यसबाट निकास दिन अब ध्रुवीकरण जरुरी छ ।’
उनले नेपालमा व्यवस्था र संविधान बदलिएपनि दलहरुको ढाँचा, संरचना र तरिका उस्तै रहेको बताउदै यी कुराहरु नबदलिदा राजाकै पालादेखिको दलाल पूजीँवाद प्रभावमा दलहरु फसेको ठोकुवा गरे ।
उनले राजनीतिक रुपमा नेपाली जनतामाथि भयंकर अत्याचार भएको उल्लेख गर्दै मुलुक वर्तमान छटपटीबाट नयाँ इतिहास बनाउने प्रसव पीडामा रहेको बताए। उनले वामपन्थी आन्दोलनलाई धु्रवीकरण गर्नुपर्ने बेला आएकाले आफूहरु वर्तमान राजनीतिको संकट र निकासबारे बहसमा आएको र परिस्थिती धेरै पाकिसकेको बताउँदै उनले अब केन्द्रदेखि वडासम्मै वामपन्थी धुव्रिकरण आवश्यक रहेको बताए ।
यसैगरी, महासचिव भुसालले पुरानोले काम नगरेको तर नयाँ नबसिकेकोले सर्पले काँचुली फेर्ने अवस्थामा जस्तै छटपटी भएकाले नयाँ इतिहास बनाउन बहस जरुरी रहेको बताउडी भने- ‘पुराना मान्यता भत्केका छन्, तिनका नालयी भत्केका छन्’ उनले भने ‘स्वार्थ र भ्रमहरु भत्काएर नयाँ मानक बनाउनुपर्छ ।’
उनले क्रान्तिको लागि कसम खाएको व्यक्तिको हिसाबले सपनाले थिचिएर ऐठन हुने अस्थामा आएको बताउदै माओवादीभित्र जनयुद्ध र एमालेभित्र बहुदलीय जनवादको संकल्प दलाल पूजीवादको भित्तामा ठोक्किएर घाईते भएकाले मुलुकको भाग्य र भविष्यका लागि एकजुट भएको बताए। उनले भने – ‘मूलभूत रुपमा युद्ध र शान्तिपूर्ण हुकाई र अनुभवको विभाजन छन्, त्यो वाहेक अरु कृत्रिम नक्कली लक्ष्मण रेखाहरु भत्काउनुपर्छ।’
यसैगरी, महासचिव भुसालले पछिल्लो समय नेकपाका महासचिव विप्लव, नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले बहस र छलफल गरेको प्रसंगमा आफूहरु कुनै नयाँ पार्टी बनाउनका लागि बहसमा नआएको बताउदै भने- ‘तीन जना मिलेर अलग पार्टी बनाउने होईन, अर्को पार्टी बन्दैन। हामीले सहि सिद्धान्त बुझाउने र विभाजन नभई जुटाउने अभिायनमा छौं ।’
उनले उनले समाजमा उकुसमुकुस तिव्र रुपमा रहेकाले विमर्श जरुरी रहेको बताए ।
महासचिव भुसालले देउवा, ओली, प्रचण्ड, माधव नेपालदेखि रविसम्मा असन्तुष्टि रहेकाले अब नयाँ निकास आवश्यक रहेको बताउदै वर्तमान राजनीतिमा देखिएको समस्याबारे साउन ६ गतेदेखि बहस सुरु भएको बताउँदै बुटवलमा आएपछि यसले गती लिने विश्वास व्यक्त गरे।
उनले भने- ‘हामी तीन जनाले मात्रै गर्नुपर्छ भन्ने रहेन, कम्यूनिष्ट आन्दोलनमा चिन्तितहरुले माथिदेखि वार्डसम्म बहस गरौं ।’