२४ भाद्र २०८२, मंगलवार

राजनीतिक क्रान्तिसँगै आर्थिक क्रान्ति नहुँदा समस्या आयो : विप्लव सी

0

बाँके । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले राजनीतिक क्रान्ति सँगसँगै आर्थिक क्रान्ति नहुँदा नेपालमा समस्या आएको बताएका छन् ।
उद्योग वाणिज्य संघ नेपालगंजले आइतबार नेपालगंजमा आयोजना गरेको ‘विप्लवसंग उत्पादनमुलक व्यवसाय’ विषयक छलफल कार्यक्रमलाई महासचिव विप्लव सीले सम्वोधन गर्दै राजनीति क्रान्ति सँगसँगै आर्थिक क्रान्ति नहुँदा नेपालमा समस्या आएको बताएका हुन् ।
महासचिव विप्लवले राजनीतिक क्रान्तिसँगै आर्थिक क्रान्ति नहुँदा नेपालको राजनीति अलमलिएको टिप्पणी गरे ।
उनले भने ‘राजनीति क्रान्तिसंग सुस्पष्ट आर्थिक क्रान्ति नहुँदा नेपालको राजनीति अलमलियो, आर्थिक क्षेत्रमा परिवर्तन आएन, व्यवसायीहरु, युवाहरु र समग्र नेपाली श्रमशक्ति नेपालको अर्थराजनीतिबाट सन्तुष्टि हुन सकेन ।’
महासचिव विप्लवले २००७ सालदेखिको राजनीति क्रान्ति आंशिक रुपमा सफल भएपनि आर्थिक क्रान्ति भने सुस्पष्ट आर्थिक दृष्टिकोण नहुँदा सफल हुन नसकेको बताए ।
उनले सबै राजनीति पार्टी, सरकार र जनताको साँझा आर्थिक दृष्टिकोण हुनुपर्ने भन्दै त्यो हुन नसक्दा नेपाल एकपछि अर्को आर्थिक संकटमा धकेलिएको बताए ।
नेकपाले राजनीति क्रान्ति भित्रको अधुरो पक्ष आर्थिक क्रान्तिलाई राजनीति क्रान्तिसंग जोड्न उत्पादन कार्यमा पार्टीलाई लगाएको उनले जिकिर गरे ।
‘प्रतिबन्धको बेला नेकपालाई आर्थिक दृष्टिकोणबारे ठुलो अध्ययन गर्ने अवसर मिल्यो, नेपालका पार्टीहरु सत्तामा हुनेहरुले कमिशन र भ्रष्टाचार गरेर टिक्ने र बाहिर हुनेहरुले चन्दा उठाएर टिक्ने प्रवृति देखियो’ महासचिव विप्लवले भने, ‘यसलाई तोड्न सकिएन भने नेपाल आत्मनिर्भर हुन सक्दैन भन्ने लाग्यो । त्यसपछि हामीले उत्पादनको क्रान्तिलाई अगाडि बढायौँ । यो देखावटी होइन । भित्रैबाट नयाँ आर्थिक मार्गको संश्लेषण गर्यौँ। एकीकृत स्वामित्वबाट विश्व कम्युनिष्ट आन्दोलनमा देखिएको आर्थिक दृष्टिकाेणको समस्या समाधान गर्ने विचार लियौँ । अहिले हाम्रो पार्टी त्यही दृष्टिकोणबाट उत्पादनमा छ । ३ बर्ष भनेपनि २ बर्षमै खान र बस्नका लागि हामीले कसैबाट चन्दा माग्नु पर्ने ठाँउमा छैनौँ । हामीले पार्टीलाई ३ बर्षमा चन्दा मुक्त गर्ने भनेका छौँ । चन्दा मागेर अबको राजनीति चल्न सक्दैन ।’
उनले देश र जनतालाई आत्मनिर्भर बनाउन श्रम गर्नुपर्छ भन्ने संस्कार सिकाउन नसकिएको औल्याउदै श्रम र समयलाई सबैले प्रयोग गरे देश समृद्धि हुने विचार राखे ।
विप्लवले भने ‘आर्थिक उत्पादनमा नलाग्ने पार्टीहरु दलालमा परिणत हुन्छन्, भ्रष्टाचार गर्न बाध्य हुन्छन्, एयरपोर्ट काण्ड बुझनु भएको छ । ५० लाख दैनिक व्यक्तिको कोषमा जाने कुरा आउँछ । हामीले सुविधा भोग पनि गर्ने तर उत्पादन र श्रममा नलाग्ने कुरा सहि होइन । यसलाई बदल्नु पर्छ । राज्यसंग सुस्पष्ट आर्थिक सोच चाहिन्छ । पार्टीहरुका आफ्नै राजनीतिक विचार भएपनि देशको समृद्धिका लागि सबैको साझा आर्थिक दृष्टिकोण चाहिन्छ, अनि मात्र देश आत्मनिर्भर हुन्छ ।’
महासचिव विप्लवले नेपालमा भ्रष्टाचार महारोगको रुपमा व्यक्त भइरहेको बताए ।
उनले श्रम र उत्पादन नगर्ने पार्टी कि त दलाल र भ्रष्टाचारी हुने कि त सकिने ठाउँमा पुग्ने ठोकुवा गरे ।
उनले खान र बस्नका लागि हरेक नागरिकले श्रम गर्नु पर्ने अनिवार्य भएको बताए ।
महासचिव विप्लवले आफ्नो पार्टीले गर्ने कृषि उत्पादनले विस्तारै पार्टी आत्मनिर्भर हुँदै गएको भन्दै यो बर्ष मात्र कृषि उत्पादनमा ५० प्रतिशतले वृद्धि हुने विश्वास व्यक्त गरे ।
उनले देशभर नेकपाले झण्डै ८० देखि १ करोड सम्मको धान उत्पादन गर्ने पनि खुलासा गर्दै आउने बर्षबाट उद्योगतिर पनि नेकपा जाने बताए ।
व्यवसायीहरुलाई ढुक्क भएर लागानी गर्न अपिल गर्दै उनले नेकपाको उत्पादन कार्यमा सहकार्य गर्न आग्रह गरे ।
महासचिव विप्लवले भने ‘नेकपाले नेपाली जनतालाई पैसा कमाउने ज्ञान दिन तयार छ, व्यवसायीहरुले पनि ढुक्क भएर लगानी गर्नुहोस् । आफ्नै देशमा श्रम गर्ने बानी बसालौं । विदेशीको गुलामी भएर हुँदैन । बरु श्रमको मुल्य पनि कम लियौँ र वस्तुपनि सस्तो हुने गरी जनतामा दियौँ । यसले आत्मनिर्भरतिर लिन्छ ।’
उनले पसिना बगाएर पैसा कमाउनु शोषण नभएको भन्दै मिटर व्याजमा पैसा लगाएर जनतालाई दु:ख दिनु र बैङ्कहरुले चर्को व्याजमा व्यवसायीको उठीबास गर्नु शोषण भएको जिकिर गरे ।
महासचिव विप्लवले एक पटक देशलाई नयाँ बनाउने नेकपाको चाहना भएको भन्दै सबैलाई साथ दिन अपिल गरे । उनले नेपालका कम्युनिष्ट समाजवादी शक्तिसंग नेकपा समाजवादी अर्थतन्त्र र समाजवादका लागि सहकार्य र एकता गर्न तयार भएको पनि बताए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।