७ माघ २०८१, सोमबार

धर्मेन्द्र बास्तोला समुहको भद्धा प्रहसन !

0

‘क्रान्ति त सिर्जना हो, नक्कल होइन ।’ भारतीय माओवादी नेता चारु मजुमदारका छोराले व्यक्त गरेको धारणा हो यो ।
चीनमा कमरेड माओले दीर्घकालिन जनयुद्ध र छापामार युद्धको रणनीति कुन बेला र कस्तो परिस्थितिमा अख्तियार गर्नुभयो भन्ने कुराको हेक्का नराख्दा माओको नेतृत्वमा भएको क्रान्तिपछि (सन् १९५९ को क्युबाली क्रान्ति बाहेक) संसारमा जति पनि कम्युनिस्ट क्रान्तिहरु भए तर ती सफल भएनन् । किन ?
आजको विश्व कम्युनिस्ट आन्दोलन र नेपालको कम्युनिस्ट आन्दोलनमा पनि सबैंभन्दा पेचिलो प्रश्न हो यो ।
गत शुक्रवार धर्मेन्द्र बास्तोला समुहको काठमाडौंस्थित नाचघरमा महाधिवेशन नामको भद्धा प्रहर्सन भयो । जहाँ तीनवर्षदेखि महाधिवेशन गर्ने भनेर लगन हेर्दा–हेर्दा यत्रो वर्षपछि एउटा बन्द हलमा बिजोगको कार्यक्रम थियो त्यो । न मंचमा बस्नेको चमक छ, न हलमा बस्नेको उत्साह र उमंग । निकैं उराठलाग्दो थियो महाधिवेशनको माहोल नैं । कम्युनिस्टहरुको महाधिवेशन त महाउत्सव हो, जहाँ छुट्टैं उर्जा र रौनकता ल्याउन सक्नुपर्छ, त्यस्तो वैरागलाग्दो कार्यक्रम नैं के को महाधिवेशन ?
बास्तोलाहरुको महाधिवेशन कार्यक्रमको महोल हेरेपछि मलाई चारु मजुमदारको छोराको भनाईको स्मरण भयो । नेपाल कम्युनिस्ट पार्टीबाट चोइटिएर गएको त्यो समुहले यत्रो तीनदेखि चार वर्षमा एउटा कुनैं सिर्जनशील काम गर्न सकेको छैन ।
मोहन वैद्यको पार्टीबाट कमरेड विप्लवको नेतृत्वमा नयाँ पार्टी बनेपछि नेपालको माओवादी आन्दोलनमा जुन निराशा र आक्रोश थियो, त्यसलाई कसरी चिरेर वा नेतृत्व गरेर जाने भन्ने सवालमा कमरेड विप्लवले जुन बाटो लिए, त्यो समयको माग थियो तर बास्तोला समुहको अहिलको बाटो भनेको कथित क्रान्तिको नाममा ठ्याक्कैं त्यही अन्धनक्कल वा भद्धाप्रहसनको बाटो हो ।
धर्मेन्द्र बास्तोलाहरुको सबैं क्रियाकलाप नेकपाले १० वर्षमा जे जे संघर्षका कार्यक्रमहरु गरेको थियो, त्यो पनि आफ्नो अस्तित्व रक्षाका लागि अन्धनक्कल छ । पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी । नामपछि कथित बहुमत थपेका छन् । कार्यक्रम वैज्ञानिक समाजवाद, त्यो पनि उही छ । कार्यदिशा नेकपाले एकीकृत जनक्रान्ति भनेको छ, उनीहरुको एकीकृत जनयुद्ध । संघर्षको स्वरुप १० वर्ष पहिले नेकपाले जुन बाटो अपनायो, ठ्याक्कैं त्यही गर्न खोजे पनि चन्दाका लागि कालोमोसो दल्ने कामबाहेक सबैं अन्धनक्कल छ ।
स्मरणरहोस् नेकपाले जुन मुद्धा उठाएर संघर्षका कार्यक्रम तय गर्यो, अब परिस्थितिले नयाँ स्वरुपमा संघर्षका कार्यक्रम विकास गर्नुपर्ने देखियो । आज नेकपाको संघर्षको कार्यक्रम उत्पादन क्रान्तिसँगैं राजनीतिक संघर्ष पनि संगै अघि बढाइरहेको छ । तर बास्तोला समुह उही पूरानो कालोमोसो दल्ने केही कामबाहेक अरु कुनैं नयाँ र मौलिक छैन ।
फेरि पनि भनौं कि क्रान्ति भनेको त सिर्जना हो, मौलिकता हो ।
जसरी माक्र्सवादको विकास भयो, त्यो माक्र्सले हेगेलको द्धन्द्धवाद र फायरवाखको भौतिकवादमा टेकेर उनीहरुका ती सिद्धान्तभित्र रहेका नराम्रो पक्षलाई फ्याँकेर अघि बढ्दा सिद्धान्तमा विकास भयो । अझ यसरी बुझौं कि माक्र्स र एंगेल्सले हेगेल र फायरवाखका विरुद्ध संघर्ष गरेर विचारमा नयाँ विकास गर्नुभयो र माक्र्सवादको विकास भयो ।
यता रुसमा लेनिनवादको विकास पनि नयाँ शिराबाट भयो । लेनिनले ठ्याक्कैं माक्र्सको विचारमा अडिएर बसिरहेको भए रुसमा अक्टोबर समाजवादी क्रान्ति पनि हुने थिएन र लेनिनवादको विकास पनि हुने थिएन । माक्र्सको प्रस्थापना थियो– यूरोपलगायत विश्वभर जहाँ जहाँ पुँजीवादको विकास र मजदुर वर्गको जन्म भएको छ, खासगरी विकसित पुँजीवादी देशमा मात्र सर्वहारा क्रान्ति हुन्छ भन्ने थियो ।
माक्र्सको भविष्यवाणी त सबैभन्दा पहिले बेलायतमा सर्वहारा क्रान्ति हुन्छ र त्यसपछि फ्रान्स, जर्मन, हल्याण्ड (आजको नेदरल्याण्ड)हुँदैं विकसित पुँजीवादी देशमा क्रान्ति हुन्छ भन्ने थियो । उसो भए के माक्र्स गलत थिए त ? थिएनन् । माक्र्सले जसरी पुँजीवादको निर्मम आलोचना, समीक्षा र पतनको भविष्यवाणी गरिरहेका थिए, उता पुँजीवादी थिंक ट्यांकहरुले पुँजीवादको रक्षा र टिकाउ कसरी गर्ने भनेर थप अध्ययन र अनुसन्धान गर्न थाले । त्यसपछि पुँजीवाद नयाँ शिराबाट आफुलाई पुर्नजीवित गर्दै बाँच्न थाल्यो ।
भन्न खोजिएको कुरा के हो भने लेनिनले माक्र्सकोजस्तैं अन्धनक्कल गर्न खोजेर क्रान्ति गरेको भए रुसमा अक्टोबर क्रान्ति हुने नैं थिएन । किनकि तत्कालिन रुस वास्तवमा बेलायत, फ्रान्स र जर्मनको तुलनामा निकैं पिछडिएको मुलुक थियो । रुस त एक ढंगले कृषिप्रधानजस्तैं देश थियो । ‘टेन डेज द्याट शक द वल्र्ड’ नामक उपन्यासका लेखक जोन रीडकाअनुसार त्यो बेला रुसको ६० देखि ६५ प्रतिशत जनसंख्या कृषिमा आधारित थियो ।
तत्कालिन मस्को, सेन्ट पिटर्सवर्गलगायत केही शहरहरुमा घनिभूत मजदुरको बाहुल्यता थियो । लेनिनले मुख्य आधार तिनैं मजदुर रहेको शहरलाई बनाएर शहर र गाउँलाई जोडेर क्रान्तिको बाटो तय गर्नुभयो ।
लेनिनले माक्र्सले भनेजस्तो विकसित देशमा क्रान्ति होला भनेर पर्खेर बस्ने बाटो अवलम्बन गर्नुभएन । उहाँले बेलायत, फ्रान्स र जर्मनभन्दा अविकसित पुँजीवादी देशमा मजदुर र किसानलाई जोडेर एकढंगले एकीकृत क्रान्तिको मोडल तयार पार्नुभयो । वास्तवमा माक्र्सले सोचेको क्रान्तिको परिकल्पनाभन्दा लेनिनको विचार र क्रान्तिको बाटो विपरित तर माक्र्सवादमा टेकेर गरिएको थियो । त्यसैले त लेनिन सफल हुनुभयो ।
यता चीनमा माओद्धारा गरिएको क्रान्ति पनि कुनैं अन्धनक्कल थिएन, त्यो त सिर्जनशील र मौलिक थियो । माक्र्सको भन्दा लेनिनको फरक, अनि लेनिनको भन्दा माओको अझ बेग्लै र मौलिक थियो । जस्तो कि लेनिनले शहर र गाउँलाई जोडेर क्रान्ति गर्ने बाटो तय गर्नु भयो । अर्थात् मजदुर र किसानलाई जोडेर क्रान्ति गर्नु भयो । माओले चीनमा गाउँ र शहरलाई जोड्नुभयो । मुख्य ध्यान गाउँ र किसानलाई जोड दिनु भयो र ध्यान चाँहि शहर र मजदुरलाई ।
तत्कालिन चीन गाउँ नैं गाउँले भरिएको वा किसानैं किसानले भरिएको मुुलुक थियो । त्योसँगैं ब्रिटीश साम्राज्यवाद, जापानी साम्राज्यवादहुँदैं अमेरिकी साम्राज्यवादको दबदबामा रहेको देशमा क्रान्तिको बाटो लामो (दीर्घकालिन) बाटो अनि छापापार युद्धको मोडल अवलम्बन गर्नुपर्ने थियो । लेनिनकोजस्तैं चीनमा माओले मजदुर र शहरी विद्रोहको बाटो अपनाएको भए चीनका तत्कालिन कम्युनिस्ट नेता भनेर स्थापित लिलिशान, वाङमिङ र छुछुपाईकोजस्तो अवैज्ञानिक वा असफल विद्रोह हनु पुग्थ्यो । उनीहरुले चीनमा पनि लेनिनकोजस्तैं शहरी विद्रोह अवलम्बन गर्नुपर्छ भनेर त्यस्तो विद्रोहको बाटो लिँदा लाखौं मान्छेको ज्यान गएको थियो । माओले तिनीहरुका गलत प्रवृतिका विरुद्ध संघर्ष गरेर मौलिक र सिर्जनशील क्रान्ति गर्नुभयो ।
त्यसपछि के भयो ? सबैं क्रान्तिहरु असफल भए । अपवादमा क्युबाको सन् १९५९ मा भएको क्रान्तिबाहेक ।
चीनमा सन् १९४९ मा नौलो जनवादी क्रान्तिपछि संसारमा खासगरी सन् १९७६ पछि कुनैं पनि मुलुकमा सर्वहारा वा कम्युनिस्ट क्रान्ति भएनन् । क्रान्तिको अन्धनक्कल मात्रैं गर्न खोज्दा असफल भए । बर्मा, मलाया, फिलिपिन्सदेखि पेरुहुँदैं भारतसम्म आउँदा माओको उही क्रान्तिको मोडल हुबहु अन्धनक्कल गर्दा क्रान्तिकारीहरुको नियत खराब नभएपनि माक्र्सवादी सुझबुझको कमी वा सिर्जनशील विचारको अभावमा सशस्त्र क्रान्ति भए पनि ती क्रान्तिहरु सफलतामा पुग्न सकेनन् ।
नेपालको माओवादी क्रान्ति (०५२–०६२) अन्य देशमा चलाइएको क्रािन्तभन्दा धेरैहदम्म मौलिक र सिर्जनशील थियो तर पछि नेतृत्वले विश्वमा आएको परिवर्तन, विज्ञान वा सूचना प्रविधामा आएको बदलावसँगैं क्रान्तिको कार्यदिशा (विचार) विकासमा ध्यान नदिँदा माओवादी आन्दोलन ०६३ पछि उही पूरानो एमालेको बाटोमा भद्धा ढंगले विसर्जित हुन पुग्यो ।
कुरो प्रष्ट छ कि माओवादी जनयुद्धका सुप्रिमो प्रचण्डले ०५२ देखि ०६२ सम्म आउँदा माओले चीनमा विकास गरेको गाउँबाट शहर घेर्ने जनयुद्धको बाटो अपनाए, त्यहाँसम्म ठीकैं थियो । तर पछि शहरीकरणको विकास हुनथाल्यो । विज्ञान प्रविधी वा सूचनाको विकास रफ्तारमा हुनपुग्यो । भुमण्डलीकरणको विकासले सिंगो विश्व एउटा गाउँमा रुपान्तरित हुनथाल्यो । वर्गसंरचनामा ठूलो बदलाव आउनथाल्यो । यी सबैं पाटापक्षतिर अध्ययन गरेर नयाँ विचारको विकास गर्नुपर्छ भन्नेमा प्रचण्डको ध्यान पुगेन । बरु उनले सजिलो बाटो संसदीय मोडलबाट समाजवाद प्राप्त गर्ने भनेर एमालेको उही पूरानो बाटोमा अघि बढे ।
नेपालमा दुई गलत प्रवृति छ, खासगरी नेपाली कम्युनिस्ट आन्दोलनमा प्रचण्डको नयाँ बन्ने नाममा संसदवादको बाटो अपनाउने संसदवादी मार्ग र धर्मेन्द्र बास्तोलादेखि मोहन वैद्य किरणहुँदैं मोहन विक्रम सिंहको बाटो भनेको नयाँ, मौलिकता र सिर्जनशिलताबाट भागेर उही पूरानो क्रान्तिको भद्धा नक्कल गर्नु । संसदवाद र जडसूत्रवाद दुबैं गलत छ । प्रचण्डको संसदवाद अनि बास्तोला, वैद्य र सिंहको जडसूत्रवाद नेपालको कम्युनिस्ट आन्दोलनको गलत मार्ग हुन् ।
कमरेड विप्लवको नेतृत्वमा नेकपा १९ औं र २० औं शताव्दीमा भएका क्रान्तिको अन्धनक्कल गरेर होइन कि आजको विश्वमा साम्राज्यवादले खडा गरेका चौतर्फी चुनौतीलाई सामना गर्न सर्वहारा क्रान्तिको चौतर्फी मोर्चा खोलेर क्रान्तिका लागि अघि बढिरहेको छ ।
सशस्त्र बलको मोर्चा होस् या जनतामा जोडिने जुनसुकैं मोर्चा होस् । क्रान्तिका चौतर्फी मोर्चा खोलेर नेकपाले आजको साम्राज्यवाद र दलाल पुँजीवादकाविरुद्ध लड्ने क्रान्तिको बाटो तय गरेको छ । यही नैं आजको नेपालको वैज्ञानिक र वस्तुवादी क्रान्तिको बाटो हो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।