काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले बजारमा प्रयोग हुने शिक्षा आजकाे आवश्यकता भएकाे बताएका छन् । शनिबार मधेस विश्वविद्यालयले आयाेजना गरेकाे अन्तरक्रियामा बाेल्दै विप्लवले यस्ताे बताएका हुन् ।
बजारमा प्रयोग हुने शिक्षालाई नै आफ्नाे पार्टीले वैज्ञानिक शिक्षा भनेकाे बताउँदै यसकाे प्रयाेग मधेस विश्वविद्यालयबाट हुने विश्वास व्यक्त गरे । मधेस विश्वविद्यालयले परम्परागत शिक्षालाई ब्रेक गर्दै जीवन उपयाेगी शिक्षा दिन लागेकाे सुन्दा खुशी लागेकाे बताउँदै बजारकाे माग अनुसारकाे जनशक्ति उत्पादनमा जाेड दिन सल्लाहसमेत दिए ।
विप्लवले मानविकी संकायलाई ऐच्छिक बनाएर प्राविधिक विषय अनिवार्य बनाउँदा विश्वविद्यालयकाे उद्देश्य पुरा हुने बताए । मधेस विश्वविद्यालयले गरेकाे काम सर्हानीय गर्दै विश्वविद्यालयकाे भौतिक पूर्वाधारमा राज्यले सहयाेग गर्नुपर्नेमा जाेड दिए ।
विश्वविद्यालयले अहिले तीन वटा फ्याकल्टी संचालन गरेकाे छ । जसमध्ये कानून र जनप्रशासनमा विद्यार्थीकाे आकर्षण बढेकाे विश्वविद्यालयका उपकुलपति डा. दीपक शाक्यले बताएका थिए । महासचिव विप्लवलाई स्वागत गर्दै शाक्यले विश्वविद्यालयकाे प्रगति विवरण, समस्या र आगामी याेजनासहितकाे ब्रिफिङ गर्दै प्रतिवेदनसमेत हस्तान्तरण गरेका थिए ।
महासचिव विप्लवले विश्वविद्यालयकाे निरिक्षण गर्दै विश्वविद्यालयका समस्याबारे पार्टीका तर्फबाट जाेड्दारका साथ उठाउने प्रतिवद्धता जनाएका थिए ।
प्रतिक्रिया दिनुहोस्