
कालिकोट । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भरत सीले सहिदको सपना पूरा नभएकाले माओवादीको विशेष तत्व पूनर्जागृत हुनुपर्ने बताएका छन् ।
नेकपा कालिकोटले रास्कोटको आरसीपी बजारमा आयोजना गरेको जनसभालाई बुधबार सम्बाेधन गर्दै स्थायी समिति सदस्य भरत सीले जनयुद्ध र एकीकृत जनक्रान्तिको सहिदको सपना पूरा नभएकाले माओवादीको विशेष तत्व पुनर्जागृत हुनुपर्ने बताएका हुन् ।
उनले रास्कोट सहिदको रगतले सिंचित भूमि भएको भन्दै कार्यक्रम स्थलमै चारजना सहिदहरुका शव गाडिएको स्मरण गरे ।
नेता भरत सीले भने ‘यहि भूमिमा चार जना सहिदहरुको शव गाडिएका छन्, त्यसमा मेरो आफ्नै भाई पनि सहिद भएको छ, आज उनीहरु लगायत सबै सहिदहरुको सपना पूरा भएको छैन, उनीहरुको सपना पूरा गर्न माओवादीहरुभित्र रहेको विशेष तत्व पुनर्जागृत हुनुपर्छ ।’
सुदूरपश्चिम प्रदेशका इन्चार्ज समेत रहेका नेता भरत सीले कान्छो जिल्ला र लडाकु तथा नेताहरुको जिल्लाको पहिचान कालिकोटले दिएको बताए ।
उनेले यो जिल्लाले फेरिपनि एकीकृत जनक्रान्तिको कार्यभार पूरा गरेर नयाँ पहिचान दिन आवश्यक भएको बताए ।
उनले नेपालको दलाल पुँजीवादी व्यवस्थाको संकटको अग्रगामी निकास नेपाली विशेषताको समाजवाद भएको जिकिर गर्दै समाजवाद ल्याउने अभियानमा सबै रास्कोटी जनताले एकपटक नेकपालाई साथ दिन अपिल गरे ।